जिरी अस्पतालमा पोषण पुर्नस्थापना गृह सञ्चालन हुने

दीक्षण समाचार
चरिकोट, मंसिर २७
दोलखाको जिरी नगरपालिकाले जिल्लामैँ पहिलोपटक पोषण पुर्नस्थापना गृह स्थापना गर्ने तयारीमा जुटेको छ । कडा कुपोषित बालबालिकालाई निको नभईन्जेलसम्म उचित खानपान, स्याहारसुसार र उपचार सेवा सहितको आवासिय पोषण गृह सञ्चालन गर्न लागिएको हो । दोलखासहित रामेछाप र सोलुखुम्बु जिल्लाका कुपोषित बालबालिकालाई सेवा उपलब्ध गराउने लक्ष्यका साथ १० बेडको जनरल र २ बेड आइसोलेसनसहितको पोषण गृह पुस महिनादेखि सञ्चालन हुने नगरका जनस्वास्थ्य अधिकृत केशव दाहालले जानकारी दिनुभयो । कुपोषण पहिचान भएका र उपचारका लागि ल्याइएका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई गृहमा एक जना आमा वा अरु अभिभावकसगैँ राखेर निशुल्क स्वास्थ्योपचारका साथै मात्रा मिलाएर दैनिक १२ पटकसम्म पोषणयूक्त आहार खुवाई स्वस्थ बनाइने छ । कमजोर आर्थिक स्थितिका कारण भर्ना भएका बालबालिका तथा अभिभावकलाई परिवारले आवश्यक लत्ताकपडा उपलब्ध गराउन नसकेमा गृहले व्यवस्थापन गर्नेछ । कुपोषित बालबालिका निकोभएपछि डिस्चार्ज गरिन्छ । डिस्चार्ज गरेपनि ६ महिनाको अवधिमा ३ पटक बच्चाको स्वास्थ्य अवस्था र हेरचाह गर्ने अभिभावकले हासिल गरेका ज्ञान र प्रयोगका बारेमा अनुगमन गरिने व्यवस्था छ ।
गृह सञ्चालन, व्यवस्थापनका लागि एक जना प्रबन्धक, चार जना स्टाफ नर्स, तीन जना भान्छे र एक सहयोगीसहित ९ जना कर्मचारी नगरपालिकाले सबै पक्रिया मिलाएर नियुक्त गरिसकेको छ । एक जना मेडिकल अधिकृत भने अस्पतालले उपलब्ध गराउने छ । जनस्वास्थ्य अधिकृत दाहालले भन्नुभयो “गृह सञ्चालनमा भवनको कारण केही ढिला भएको थियो । तर अस्पताल नयाँ भवनमा सरेपछि अस्पतालको पूरानो भवनमा गृह सञ्चालन गर्ने तयारीमा जुटका छौँ ।” उहाँले भन्नुभयो, “भवनमा पार्टेसन गर्ने, बेड तथा सामग्री व्यवस्थापन लगायतका कार्य सकेर पुस महिनाबाट गृह सञ्चालनमा आउने छ ।” गृहमा जनरल र आइसोलेसन बेडका साथै कार्यालय, नर्सिङ कक्ष, भान्सा लगायत रहने छ । चालु आर्थिक वर्षमा संघीय सरकारबाट भवन तथा सामग्री व्यवस्थापन, तालिम, कर्माचारीको तलबभत्ता, कुपोषित बालबालिको उपचार लगायतका लागि १ करोड रुपैयाँ प्राप्त भएको जनस्वास्थ्य अधिकृत दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा करिब एक हजार ५ सय जना कुपोषित बालबालिका लुप्त अवस्थामा छन् । उनीहरुको स्थानीय तहले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वंयसेविका परिचालन गरी पहिचान गर्न र पहिचान भएका कुपोषित बालबालिकालाई पोषण गृह सञ्चालनपछि उपचारका लागि पठाउन जनस्वास्थ्य अधिकृत दाहालले अनुरोध गर्नुभयो ।

Shares

Be the first to comment on "जिरी अस्पतालमा पोषण पुर्नस्थापना गृह सञ्चालन हुने"

Leave a comment

Your email address will not be published.


*