जिरी अस्पतालमा पोषण पुनस्र्थापना गृह स्थापना, ६ जना कुपोषित बालबालिका भर्ना

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २२
दोलखाको जिरी नगरपालिका स्थित जिरी अस्पतालमा जिल्लामैँ पहिलोपटक १०  नर्मल बेड र १०२ बेडको आइसोलेन बेडसहितको पोषण पुनस्र्थापना गृह स्थापना भएको छ । नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकीले फागुन १५ गतेबाट स्थापना गृह सञ्चालनमा आएको जानकारी दिनुभयो । ६ महिनादेखि ५ वर्षसम्मका कडा कुपोषित बालबालिकालाई निको नभईन्जेलसम्म उचित खानपान, स्याहारसुसार र उपचार सेवा सहितको आवासीय पोषण गृह सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । जिरी अस्पतालको भवनमा सामग्री व्यवस्थापन र कर्मचारीको नियुक्तपछि गृह सञ्चालन सम्भव भएको हो । चालु आर्थिक वर्ष गृह सञ्चालनको लागि संघीय सरकारले १ करोड रुपैयाँ पठाएको छ । गृहका प्रबन्धक कामना न्यौपानेले दोलखासहित रामेछाप र सोलुखुम्बु जिल्लाका कुपोषित बालबालिकालाई एक जना अभिभावक सहति निशुल्क रुपमा सेवा उपलब्ध गराउने लक्ष्य सहित स्थापना भएको गृहमा अहिले दोलखाका ६ जना कुपोषित बालबालिकालाई आमासहित राखिएको छ । जिरी नगरपालिका तीन, तामाकोशी गाउँपालिकाका २ र मेलुङ गाउँपालिकाका १ जना बालबालिकालाई उपचारका लागि भर्ना गरिएको हो । बालबालिकाहरुलाई कुपोषण पहिचान भएपछि निशुल्क स्वास्थ्योपचारका साथै मात्रा मिलाएर दैनिक पोषणयुत्त खाना खुवाउने र निको नभइन्जेलसम्म उक्त सेवा दिइने प्रबन्धक न्यौपानेले बताउनुभयो । कुपोषित बालबालिका निकोभएपछि डिस्चार्ज गरिन्छ । डिस्चार्ज गरेपनि ६ महिनाको अवधिमा ३ पटक बच्चाको स्वास्थ्य अवस्था र हेरचाह गर्ने अभिभावकले हासिल गरेका ज्ञान र प्रयोगका बारेमा अनुगमन गरिने व्यवस्था छ । गृह सञ्चालन, व्यवस्थापनका लागि एक प्रबन्धकसहित चार जना अनमी, तीन जना भान्छे र एक सहयोगीसहित नौ जना कर्मचारी खटिनुभएको छ । गृह सञ्चालनमा आएसँगै कुपोषित बालकालिकालाई निको पार्नको लागि सहज हुने भएको छ ।

Shares

Be the first to comment on "जिरी अस्पतालमा पोषण पुनस्र्थापना गृह स्थापना, ६ जना कुपोषित बालबालिका भर्ना"

Leave a comment

Your email address will not be published.


*