जिरीमा रक्त सञ्चार छिटै निर्माण हुन्छ ःदहाल

चरिकोट, (दीस) –जिरी नगरपालिकाका स्वास्थ्य संयोजक केशव दाहालले जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र चाडैँ सञ्चालनमा ल्याइने बताउनुभएको छ । अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएपनि रक्तसञ्चार केन्द्र नहुँदा समस्या भएको छ । यसअघि नै केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि विविध कारणले नसकिएको बताउँदै स्वास्थ्य संयोजक दाहालले अब पुनः केन्द्रका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । फागुन देखि अस्पतालमा शल्यक्रिया सुचारु भएपछि रक्तसञ्चार केन्द्र स्थापनाको प्रक्रिया सुरु भएको थियो । केन्द्रका लागि कोठाको व्यवस्थापन तथा एक वटा फ्रिज समेत तयारी राखिएको थियो । केन्द्र सञ्चालनका लागि एक जना स्वास्थ्यकर्मीलाई छनौट गरी तालिमको लागि रेडक्रसमा सिफारिस गरिएको थियो । तर छनौटमा परेका स्वास्थ्यकर्मी अन्यत्र गएपछि केन्द्र सञ्चालनको योजना रोकिएको हो । “तर अब अर्का एक जना स्वास्थ्यकर्मीलाई प्राविधिकको रुपमा छनौट गरी तालिमको लागि पठाइने र आवश्यक सामाग्री तथा उपकरणको व्यवस्था गरी केन्द्र सञ्चालन गर्ने प्रक्रिया सुरु हुने छ ।” उहाँले भन्नुभयो “केन्द्र स्थापनाको लागि स्वास्थ्य शाखाबाट यथाशीघ्र पहल गर्ने प्रतिबद्धता गर्दछु ।” अस्पतालमा केन्द्र स्थापना नहुँदा शल्यक्रियाका बिरामीलाई रगत आपूर्तिमा समस्या हुँदै आएको छ ।

Shares

Be the first to comment on "जिरीमा रक्त सञ्चार छिटै निर्माण हुन्छ ःदहाल"

Leave a comment

Your email address will not be published.


*