जिरीमा महिला भलिबल प्रतियोगिता सुरु

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २४
दोलखाको जिरी नगरपालिकामा अन्तरपालिका स्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । नगरस्तरीय युवा तथा खेलकुद समितिको आयोजनामा १२२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भएको प्रतियोगिताको मंगलबार उद्घाटन गरिएको छ । प्रतियोगिता उद्घाटन नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकीले गर्नुभएको थियो । अवसर पाए महिलाले जुनसुकै काममा पनि पुरुष सरह प्रभावकारी सम्पादन गरी सफलता प्राप्त गर्न सक्ने उदाहरणका लागि प्रतियोगिताको महत्व रहेको सुनाउनुभयो । उहाँले सबै क्षेत्रमा महिला सहभागिता बढाएमा महिला हिंसा अन्त्य भई समानता र समतामूलक समाजको निर्माण हुने सुनाउनुभयो । खेलको माध्यमबाट स्वास्थ्य सन्तुलन राख्न सकिने र स्वस्थ व्यक्तिले नै राष्ट्रलाई योगदान दिन सक्ने उहाँको भनाइ थियो। जिरी प्राविधिक शिक्षालयको खेलमैदानमा सुरु भएको प्रतियोगितामा जिल्लाको ४ समुहको सहभागिता रहेको नगरस्तरीय युवा तथा खेलकुद समितिका अध्यक्ष नोर्बु शेर्पाले बताउनुभयो । उद्घाटन खेल जिरी नगरपालिका र कालिञ्चोक गाउँपालिका बिच भएको थियो । बुधबार सम्म खेल जारी रहने प्रतियोगितामा विजयी टिमलाई ५० हजार नगद, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुने समूहलाई २० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र र सान्त्वना हुने समूहलाई ५ हजार रुपैयाँ पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । साथै वेष्ट प्लेयर, बेष्ट स्पाइकर, बेष्ट सेटर, वेष्ट सर्भर र वेष्ट डिफेण्डरलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिने समितिका अध्यक्ष नर्बू शेर्पाले बताउनुभयो । उहाँले महिलाको खेल प्रतिभा र क्षमता प्रस्फुटन गराउने र राष्ट्रिय स्तरको खेलाडी बन्न उत्प्रेरित गर्न प्रतियोगिता आयोजना गरिएको सुनाउनुभयो । नगरपालिका अन्तर्गतको समितिले विभिन्न समयमा खेलकुद प्रतियोगिता आयोजना गरी खेलाडी उत्पादन गर्ने तर्फ लगानी गरेको उहाँले बताउनुभयो।

Shares

Be the first to comment on "जिरीमा महिला भलिबल प्रतियोगिता सुरु"

Leave a comment

Your email address will not be published.


*