जिरी अस्पतालमा छैन ब्लड बैँक, जोखिममा बिरामी

ईश्वर विश्वकर्मा
चरिकोट, असार ७
दोलखाको जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र नहुँदा शल्यक्रियाको लागि आउने बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । चोटपटक लागेका व्यक्ति, सुत्केरी र रक्तअल्पता बिरामीसहित जटिल समस्याग्रस्त व्यक्तिहरू शल्यक्रियाको लागि अन्यत्र नगई जिरी अस्पताल आएपनि रगत अभाव हुँदा ज्यानै जोखिममा पर्ने गरेको हो ।
रगत समयमै प्राप्त भएमा जटिल बिरामीको शल्यक्रिया तत्काल गरी बिरामीलाई मृत्युबाट बचाउन सकिन्छ ।  तर जिरी अस्पतालमा रगत समयमै प्राप्त नहुँदा शल्यक्रिया नै प्रभावित हुने गरेको छ । रगत पाउनै समस्या भएपछि अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई रक्तदानको लागि गुहार माग्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख डाक्टर देवेन्द्र गौतमले बताउनुभयो । “गत वर्षको फागुन देखि अस्पतालमा शल्यक्रिया गरिन थालिएको  भएपनि  रक्त सञ्चार केन्द्र नहुँदा बिरामीको लागि रक्तदाता खोज्न भौतरिनु पर्ने बाध्यता छ ।” डाक्टर गौतमले भन्नुभयो “कोही रक्तदाता नभेटेमा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारी नै रक्तदान गर्न तयार हुनुपर्छ । त्यहाँ पनि रगतको ग्रुप नमिल्ने भएमा सेना प्रहरी र अन्य अस्पतालमा समेत फोन गरेर रगत उपलब्ध गराइदिन अनुरोध गर्नुपर्छ ।”
शल्यक्रिया हुने अस्पतालमा रक्त सञ्चार केन्द्र स्थापना हुनुपर्छ । तर जिरी अस्पतालमा रक्तसञ्चार केन्द्र बिनै शल्यक्रिया सेवा तीन महिना अघिदेखि सुचारु भएको र रगत अभावमा सेवा सञ्चालनमै कठिनाइ भएको उहाँले बताउनुभयो । जिरी अस्पतालमा हालसम्म ६० जना भन्दा बढी सुत्केरी र जटिल बिरामीको शल्यक्रिया गरिएको छ । उनीहरु सबैलाई बिरामीको आफन्त र अन्यले अस्पतालमै आएर रक्तदान गरेपछि शल्यक्रिया सम्भव भएको हो ।  “स्वास्थ्य क्षेत्रमा शल्यक्रिया भनेको जोखिम र चुनौती पूर्ण काम हो । तर जिरी अस्पतालमा ब्लड बैँक नहुँदा थप जोखिमपूर्ण बनेको छ ।” डाक्टर गौतमले भन्नुभयो  “ब्लड बैँक छैन, भनेर शल्यक्रिया रोक्नु त भएन । चुनौती र जोखिमका बाजदुत पनि शल्यक्रिया गर्नुपर्ने बिरामीको शल्यक्रिया गरिएको छ । यहाँ आएका प्रायः सबैको यहीँ शल्यक्रिया गरिएको छ ।”
जिरी अस्पतालमा शल्यक्रिया सेवा सुचारु भएसँगै रगतको सहज आपूर्तिका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको समन्वयमा र नगरपालिकाको सहयोगमा दुई महिनाभित्र रक्त सञ्चार केन्द्र स्थापना गर्ने योजना थियो । तर तीन महिना बढी समय बितिसक्दा पनि केन्द्र स्थापनाको लागि कुनै पनि काम हुन नसकेपछि योजना अलपत्र परेको छ ।
 रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले अस्पतालमा केन्द्र सञ्चालनको प्रक्रिया अघि बढाइएको भएपनि पछि रोकिएको बताउनुभयो । ब्लड बैँकमा एक जना प्राविधिक अस्पतालले नै खटाउने सहमतिपछि तालिमको लागि एक जनाको नाम छनौट गरी रेडक्रसको केन्द्रीय कार्यालयमा पठाइएको थियो । तर छनौटमा परेका व्यक्ति अन्यत्र जाँदा रक्तसञ्चार केन्द्रको काम रोकिएको हो । अब ढिलाई गरेर बस्दा समस्या झन् बढ्ने भएकोले अस्पतालले एक जना प्राविधिकको व्यवस्था गरी उहाँलाई रेडक्रसले प्रशिक्षण दिएर चाँडै केन्द्र सञ्चालनमा ल्याउनुपर्ने सभापति पोखरेलले बताउनुभयो । अस्पतालले प्राविधिक छनौट गरी पठाएमा तालिमको लागि केन्द्रीय कार्यालयमा सिफारिस गरि पठाइने उहाँले बताउनुभयो ।
जिरी नगरपालिकाका नगर प्रमुख मित्र जिरेलले अघिल्लो कार्यकालमा रक्तसञ्चार केन्द्र सञ्चालनमा नभएपनि आफ्नो कार्यकालमा सञ्चालनमा ल्याउन पहल सुरु गर्ने बताउनुभयो । उहाँले जिरी अस्पतालमा केन्द्र अभावले शल्यक्रिया गर्नुपर्ने बिरामी र आफन्तलाई समस्या भएकोमा दुख व्यक्त गर्दै चाँडै केन्द्र सञ्चालन ल्याइने बताउनुभयो ।

Shares

Be the first to comment on "जिरी अस्पतालमा छैन ब्लड बैँक, जोखिममा बिरामी"

Leave a comment

Your email address will not be published.


*