मेलुङ गाउँपालिकाकाे उदाहरणीय कार्य :जन्म र मृत्यु दर्ता गरे प्रोत्साहन रकम

इश्वर बिश्वकर्मा
चरिकोट, माघ २९
दोलखाको मेलुङ गाउँपालिकाले जन्म र मृत्यु दर्ता गरे बापत प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । पालिकाले चालु आर्थिक वर्षदेखि व्यक्तिगत घटना दर्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ  जन्म र मृत्यु दर्ता गरेमा प्रमाणपत्र सहित रकम उपलब्ध गर्ने गरेको हो । बच्चा जन्मेको ३५ दिनको समयावधिमा स्थानीय पञ्जिकाधिकारी कहाँ गई जन्मदर्ता गरे जन्मदर्ताको प्रमाणपत्र सहित शिशु र आमालाई पोषण भत्ता स्वरुप नगद ५ हजार दिने गरिएको गाउँपालिकाले जनाएको छ । जसका कारण समयमै जन्म दर्ता गर्नेको संख्यामा बृद्धि भएको गाउँपालिकाका पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखा प्रमुख नविन्द्र रिमालले बताए ।
उनका अनुसार चालु आवको साउन देखि माघ २६ गते सम्ममा १ सय ४० जना शिशुको जन्म दर्ता भएको छ । जन्मदर्ता गराएपछि प्रोत्साहन र पोषणका लागि रकम वितरण गरिको छ । वडा नं. १ का २९, वडा नं. २ का ३०, वडा नं. ३ का १६, वडा नं. ४ का १९, वडा नं. ५ का १७, वडा नं.६ का १९ र वडा नं. ७ का २० जना शिशुको जन्मदर्ता भएको छ । शिशु जन्मन्छ, तर पोषणको अभावमा आमा र शिशुको स्वास्थ्य अबस्था नाजुक हुन सक्छ । त्यसैले आमा र शिशु दुबैलाई पोषण पुगोस् भन्ने उद्देश्यले जन्मदर्ता गरेपछि जन्मदर्ताको प्रमाणपत्र सहित रकम उपलब्ध गरिएको गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठले बताए । स्वास्थ संस्थामा नियमित परिक्षण गरि सुत्केरी भएको खण्डमा ३ हजार ८ सय संघिय सरकारको तर्फबाट उपलब्ध गराइन्छ । भने बच्चा जन्मेपछि जन्मदर्ता गराएमा ५ हजार पालिकाले थपिदिन्छ । आमा र शिशुको स्वास्थ्यलाई मध्ये नजर गर्दै पोषण खर्च दिनको लागी १० लाख विनियोजन गरिएको उनले बताए ।
मृतकका परिवालाई ५ हजार
जन्म दर्ताको प्रमाणपत्र त विभिन्न कामका लागि आवश्यकता पर्ने भएकोले परिवारले बच्चाको जन्मदर्ता गरिदिन्छन् । तर कोही कसैको मृत्यु भए मृतकका परिवारले स्थानीय पञ्जिकाधिकारी कहाँ गएर मृत्यु दर्ता गर्न चासो देखाउँदैनन् । जसले गर्दा तथ्याङ्क आद्यवधिक नहुँदा सामाजिक सुरक्षा भत्तामा अनियमितता हुने गरेको छ । त्यसैले यस्तो प्रवृत्तिलाई हटाउने उद्देश्यका साथ ३५ दिन भित्र मृत्यु दर्ता गरेमा किरिया खर्च बापत ५ हजार रुपैयाँ उपलब्ध गराउने गरिएको पालिकाले जनाएको छ । शोकको बेला पनि सरकार साथमा छ भन्ने प्रत्याभुति दिलाउन र शोकलाई शक्तिमा बदल्नका लागि सहयोग गर्ने उदेश्यका साथ मृत्यु दर्ता गरेपछि मृतकका परिवारलाई मृत्यु दर्ताको प्रमाणपत्रसगैँ रकम उपलब्ध गराइने गरिएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए । चालु आवमा ८७ वटा मृत्यु दर्ता गरिएको छ । पालिकाको अनुसार वडा नं १ का २७, वडा नं. २ का ६, वडा नं. ३ का १२, वडा नं. ४ मा १४, वडा नं. ५ का ८, वडा नं. ६ का १४ जना र वडा नं. ७ का ६ जनाको मृत्यु दर्ता भएको छ ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाकाे उदाहरणीय कार्य :जन्म र मृत्यु दर्ता गरे प्रोत्साहन रकम"

Leave a comment

Your email address will not be published.


*