जनसचेतन साकोसले आफ्नो स्थापना दिवस मनायो

चरिकोट, असोज २२

जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३० औँ स्थापना दिवस मनाएको छ । दोलखासँगै काभे्रपञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर गरी ५ जिल्लामा सेवा क्षेत्र रहेको जनसचेतनले शनिबार आफ्नो स्थापना विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो । सो कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले गर्नु भएको थियो । प्रमुख घतानीले समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक स्तर अभिवृद्धि गर्ने कार्यमा जनसचेतनले गरेको भूमिकाको प्रशंसा गर्दै दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न अन्य सहकारीले पनि सिक्नुपर्ने बताउनु भयो । सहकारी संस्थाले विपन्न वर्गको जीवन स्तरमा रुपान्तरणका लागि उल्लेखनीय कार्य गर्नु पर्ने बताउनु भयो । उहाँले जिल्लामा रहेका सहकारी संस्थाले विधि, सिद्धान्त र स्वनियममा रहेर रोजगार र उत्पादनमुखी कार्यमा लगानी गर्नु पर्नेमा जोड दिनु भयो

। उहाँले जिल्लाका सबै पालिकामा फरक फरक उत्पादनको योजना बनाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनु भयो । कार्यक्रममा बैतेश्वर गाउँपालिकाका उपाध्यक्ष कल्पाना उप्रेतीले महिलाको क्षमता वृद्धि र आयआर्जनमा सहकारीले जोड दिन आवश्यक रहेकोमा सुझाव दिनु भयो । उहाँले सहकारी र स्थानीय सरकारका बीचको हातेमालोले विकासमा फड्को मार्न सम्भव हुने बताउनु भयो । सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि वित्तीय परिचालनसँगै सुशासन र व्यवस्थपानमा ध्यान दिन आग्रह गर्नु भयो ।

विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण

संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न विधामा पुरस्कार वितरण गरेको छ । संस्थाले जनसचेत सहकारी अभियान्ता राष्ट्रिय पुरस्कार केवी उप्रेतीलाई वितरण गरेको छ । सहकारीको प्रवद्र्धन, विकास र व्यवस्थापनमा महत्वपूर्ण राष्ट्रिय योगदान दिएको भन्दै सहकारी अभियान्ता उप्रेतीलाई सहकारीले सम्मानित गरेको हो । उक्त पुरस्कारको राशी ३३ हजार ३ सय ३३ रुपैया रहेको छ ।

त्यसैगरी संस्थाका सल्लाहकार समेत रहनु भएका स्वर्गीय पशुपति चौलागाईँको परिवारलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ, भने जनसचेतन पत्रकारिता पुरस्कारबाट रेडियोकर्मी निर्मला शिवाकोटी (विनिता) सम्मानित हुनु भएको छ ।

संस्थाको तर्फबाट वर्ष उत्कृष्ट कर्मचारी सम्मानबाट पुरुषतर्फ सुचना तथा प्रविधि अधिकृत रमेश लामिछाने र महिला तर्फ कालिञ्चोक गाउँपालिका बाबरे सेवा केन्द्रकी लक्ष्मी थापा सम्मानित हुनु भएको छ । जनसचेतनका १६ सेवा केन्द्र मध्ये मिर्गे सेवा केन्द्र उत्कृष्ठ सेवा केन्द्रको रुपमा सम्मानित भएको छ ।यस्तै सामुदायिक विद्यालयको तर्फबाट एसइइमा उत्कृष्ट हुन सफल हनुमन्तेश्वर माविका आदेश दाहाल र छात्रा तर्फ सोही विद्यालयकी पूर्णिमा मिजारलाई सम्मान गरिएको छ । कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका महासचिव कृष्ण प्रसाद दहाल, दोलखा जिल्ला बचत संघका उपाध्यक्ष पवन प्रसाद दहाल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सहकारीको कुल पुँजी दुई अर्ब १८ करोड ६९ लाख ४ हजार १ सय ६१ रुपैयाँ रहेको छ । संस्थामा गत आवसम्म ३६ हजार २ सय ५४ जना सदस्य रहेको संस्था अध्यक्ष हेमन्त कुमार चौलागाईँले बताउनु भयो ।

जनसचेतन सहकारी राष्ट्रिय र अन्तराष्ट्रिय उत्कृष्टताका सम्मान तथा पुरस्कारहरु प्राप्त गर्दै अन्तराष्ट्रिय स्तरको एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल सहकारी हो ।

Shares

Be the first to comment on "जनसचेतन साकोसले आफ्नो स्थापना दिवस मनायो"

Leave a comment

Your email address will not be published.


*