जनगणनाको लागि तयार हुँदै गणक

दीक्षण समाचार
चरिकोट, कार्तिक १४
‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मुल नारासहित १२ औँ राष्ट्रिय जनगणना कार्तिक २५ गतेदेखि देशभर एकसाथ सुरु हुँदै छ । जनगणनाको मिति नजिकिदैँ जाँदा यसको सफलताको लागि पूर्व तयारीलाई तीव्र पारिएको छ । नौ वटा स्थानीय तह रहेको दोलखामा गणनाका लागि तीन सय २० जना गणक तयारी हुँदैछन् ।
घरघरमा परिचालित भएर गणना गर्दा आवश्यक पर्ने सीप सिकाउन गणकहरुको लागि शनिबारदेखि चार दिने तालिम सुरु भएको छ । तालिममा गणकको काम, कर्तव्य, अधिकार तथा सैद्धान्तिक र व्यवहारिक अभ्यास गराइनेछ । भीमेश्वर नगरपालिका र कालिञ्चोक गाउँपालिकाका गणकको लागि चरिकोट स्थित गौरीशंकर क्याम्पस, विगु र गौरीशंकर गाउँपालिकाका गणकको लागि सिंगटीमा तालिम भईरहेको छ । त्यसैगरी शैलुङ र मेलुङका गणकहरुलाई लक्षित गरी मेलुङ स्थित त्रिभुवन मावि र तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाका गणकका लागि मैनापोखरी स्थित हनुमन्तेश्वर माविमा तालिम जारी छ ।

जिल्लामा जनगणनाको पहिलो चरण अन्तर्गत असोजमा घर तथा परिवार सुचिकरण गरिसकिएको छ । सुचिकरण कार्यका लागि जिल्लाभर ८६ जना सुपरिवेक्षक खटिएका थिए । घर सुचिकरणको आधारमा गणकहरुले जनगणना कार्य गर्ने जिल्ला जनगणना अधिकारी कार्कीले बताउनुभयो ।
चरिकोट स्थित जिल्ला समन्वय समितिको भवनमा जिल्ला जनगणना कार्यालय सञ्चालित छ । जनगणनालाई प्रभावकारी तथा व्यवस्थित बनाउन विगु र गौरीशंकर गाउँपालिका कार्य क्षेत्र बनाएर विगु गापा कार्यालय सिंगटीमा, कालिञ्चोक गाउँपालिका र भीमेश्वर नगरपालिकामा कार्य क्षेत्र तोकेर भीमेश्वर नगरपालिकाको कार्यालयमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । त्यसैगरी जिरी नगरपालिका, बैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाको लागि बैतेश्वरमा तथा मेलुङ र शैलुङ हेर्ने गरी मेलुङमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिएको छ । प्रत्येक १०–१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो । नेपालमा औपचारिक रुपमा विसं १९११ मा जनगणना कार्यको थालनी भएको हो ।

Shares

Be the first to comment on "जनगणनाको लागि तयार हुँदै गणक"

Leave a comment

Your email address will not be published.


*