जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं साधारण सभा सम्पन्न

दीक्षण समाचार चरिकोट, – दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं बार्षिक साधारण सभा र सहकारी एकीकरण घोषणा सभा शनिबार सम्पन्न भएको छ । सभाको उद्घाटन भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले गर्नु भयो । सो क्रममा उहाँले रोजगार र उत्पादनमुलक क्षेत्रमा सहकारीहरुले लगानी बढाउनुपर्ने जोड दिनुभयो। सहकारीले आर्थिक रुपान्तरणको लागि गरेको योगदानको प्रशंसा गर्दै उहाँले त्यसलाई निरन्तरता दिन अनुरोध गर्नु भयो । समृद्ध भीमेश्वर निर्माणको लागि सहकारी संस्थासँगको सहकार्य र समन्वयमा जोड दिइने मेयर मानन्धरले सुनाउनुभयो । सभामा सहकारी संस्थाका अध्यक्ष राजन श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणमा भूमिका खेलिरहेको हाम्रो जनकल्याण एसियाली ऋण महासंघको एक्सेस ब्रान्ड प्राप्त गर्न सफल सहकारी संस्था रहेको बताउनु भयो।
सहकारीले आफ्ना सदस्यहरुलाई उद्यमशीलता विकासमा जोड दिदैं कर्जा प्रवाह गरेको र त्यसको सदुपयोगले सदस्यहरुको आर्थिक हैसियत बदलिएको सुनाउनु भयो ।
सभामा संस्थाका सचिव मानबहादुर केसीले संस्थाको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अर्जुन कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीको कुल पूँजी ७७ करोड ६१ लाख ७२ हजार एक सय रुपैयाँ रहेको छ । यसै बीच हाम्रो जनकल्याण र शैलुङ सञ्चार सहकारी संस्था बीच एकीकरणको घोषणा गरिएको छ । एकीकरणको निर्णय २०७७ सालमा भएको र सो अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी घोषणा गरिएको कोषाध्यक्ष सर्मिला बुढाथोकीले प्रगति प्रतिवेदन प्रस्तुतिका क्रममा सुनाउनु भयो ।
सभामा शैलुङ सञ्चार सहकारी संस्थाका अध्यक्ष शिव प्रसाद भण्डारी, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सभाको अवसरमा विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो । सहकारीका सदस्यद्वारा उत्पादित औद्योगिक सामाग्रीहरू प्रदर्शनीमा राखिएको थियो ।

Shares

Be the first to comment on "जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं साधारण सभा सम्पन्न"

Leave a comment

Your email address will not be published.


*