छुवाछुत र कुसंस्कार बिरुद्धकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न

दीक्षण समाचार
चरिकोट, असार १९
दोलखाको शैलुङ गाउँपालिकाको बाघखोरमा शुक्रबार छुवाछुत तथा कुसंस्कार विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पालिकाद्धारा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत दुलालले जातीय छुवाछूत न्युनीकरणका लागि आफुहरु प्रयासरत रहेको सुनाए । विविध चुनौती र समस्याबीच समाज रुपान्तरणमा अपेक्षित प्रगति हुन नसकेपनि पहिलेको तुलनामा केही प्रगति भएको बताउँदै उनले भने “मानिस मानिसबीचको सम्बन्ध सुमधुर बनाउन सबैजना क्रियाशिल हुनुपर्छ । अनि मात्र समाज समृद्ध हुन्छ ।” गत वर्षहरुमा लक्षित समुदायका लागि विनियोजन गरिएको बजेट खर्च गर्न नसकेको बताउँदै अध्यक्ष दुलालले आगामी आर्थिक वर्ष भने त्यस्तो नहुने बताए ।
कुनै पनि जातजाति, लिङ्ग, भाषा, धर्म, संस्कृति आदिका आधारमा कसैलाई अपमान र विभेद गर्नु मानवअधिकारको हनन् हो । जबसम्म मानिसले सम्मान पुर्वक जीवन यापन गर्न पाउँदैन । तब सम्म देशको विकास र समृद्धि सपनामा मात्र सीमित हुन्छ । ती सपना पूरा गर्नका लागि जातीय छुवाछुत र कुसंस्कारलाई त्याग्नुपर्ने राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सुन्दर लामीछानेले बताए । स्थानीय तहले जातीय छुवाछुत तथा कुसंस्कार बिरुद्धमा पर्याप्त काम गर्न नसकेको आरोप लगाउदैँ उनले भने “सरकारले चाहेमा तत्कालै जातीय छुवाछुतको जरो उखेलिन सक्छ । तर सरकारले चाहना गरेको छैन् ।” दलितहरु संगठित भएको खण्डमा जातीय छुवाछुत जस्ता अपराध समाजबाट न्युनीकरण गर्न सहज हुने बताउदैँ सहभागी निर बहादुर घतानीले भने “ पाइला पाइलामा जातीय छुवाछुत भोग्नुपर्ने बाध्यता छ । पराम्परागत ढंगको नभएपनि अझै पनि छुवाछुत कायमै रहेको र शैलुङ गाउँपालिकाका दलित समुदायले सहेर बस्ने गरेको अवस्था छ । यसरी छुवाछुत सहेर हुँदैन । छुवाछुत गर्नेलाइ कारबाहीको दायरामा ल्याउन सबै अग्रसर हुनुपर्छ ।
अर्का सहभागी अभिषेक कुमार धनुकेले छुवाछुत सम्बन्धी कानुनी ज्ञान पर्याप्त नभएका कारण शैलुङ गाउँपालिकामा छुवाछुत गर्ने र सहने स्थिति रहेकोले वडा र टोल तहमा सचेतना र कानुनी परामर्श दिइनुपर्ने जोड दिए । कार्यपालिका सदस्य कुल बहादुर बिश्वकर्माको सक्रियतामा भएको कार्यक्रममा नेता घनश्याम रिजाल, कानुन व्यवसायी पुर्ण प्रताप केसी, वडा नं. ८ का वडाध्यक्ष रामेश्वर उप्रेती, राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा दोलखाका अध्यक्ष सुदिप रसाइली लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा आठ ओटै पालिकाका गरी ४० जनाभन्दा बढी सहभागी थिए ।

Shares

Be the first to comment on "छुवाछुत र कुसंस्कार बिरुद्धकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*