चैते दशैँमा मन्दिरमा भक्तजनको घुँइचो

भीमेश्रवर ः फाइल फाेटाे

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २६
हिन्दुधर्मावलम्बीहरुले चैते दशैँ शनिबार मनाएका छन् । शनिबार परेको चैते दशैँ दुर्गा भगवतीको पूजा र उपसना गर्दै मनाइएको हो । असोजमा पर्ने बडा दशैँलाई जस्तो धुमधामपूर्वक मनाउने परम्परा चैते दशैँमा नरहे पनि हर्षोल्लास साथ मनाउने गरेका छन् । यो दशैँमा पनि बडा दशैँको झैँ देवीका मन्दिरमा भीड लाग्ने गरेको छ । यो वर्ष पनि दोलखाका दुर्गा पूजिने मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको थियो । चैते दशैँमा दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा दर्शनार्थीको बिहानदेखि बेलुकासम्म घुँइचो लाग्यो । अरु दिनको तुलनामा चैते दशैँको दिन मन्दिरमा भीड लागेको भीमेश्वर भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिले जनाएको छ । समितिका अध्यक्ष भरत श्रेष्ठले मन्दिर दर्शनको लागि स्थानीय मात्र नभई विभिन्न जिल्लाबाट भक्तजनको आवागमन बताउनुभयो । मन्दिरमा बोका, राँगा, कुखुरा र भेडाको बली समेत भक्तजनद्धारा चढाइएको सुनाउनुभयो । मन्दिरमा अन्य बेला दैनिक दुई सय जना बढीले दर्शन गर्ने गरेका छन् । तर चाडपर्व तथा विषेश दिनमा भने भक्जन तथा दर्शनार्थीको बाक्लो उपस्थिति रहने गरेको छ । चैते दशैँको दिनभर बिहान देखि बेलुकी सम्म गरी करिब १५ सय जनाले मन्दिर पुगेर दर्शन गरेको उहाँले बताउनुभयो ।
मन्दिरमा रहेको एक शिला तीन अवतारको रुपमा पुजिने भीमशेनको शिलामा पसिना आए शुभ वा अशुभ हुने विश्वास गरिन्छ । यहाँ अहिलेसम्म १९ औँ पटक पसिना आएको छ । मन्दिरमा अन्य धर्मका पनि प्रतीकहरु रहेका कारण हिन्दुधर्मका मात्र नभई अन्य धर्म मान्नेहरु समेत दर्शनका लागि आउने गरेको उहाँले बताउनुभयो । मन्दिरमा आफुले मागेको कुरा पुरा हुने र पापबाट मोक्ष पाइने जनविश्वास रहिआएको छ । स्थानीय कलम बहादुर श्रेष्ठले भीमेश्वर मन्दिरमा आफू बिहानै गएको भएपनि ११ बजेतिर पूजा गर्ने पालो आएको सुनाउनुभयो । ” पूजाको लागि लाइनमा बिहानै देखि बसेँ । तर निकै ढिला गरी पालो आयो र पुजा गरेँ ।‘ उहाँले भन्नुभयो ”शनिबार बिदाको दिन यतिकै पनि मन्दिरमा भीड लाग्थ्यो । त्यसमाथी चैतेदशैँ भीड नलाग्ने त कुरै भएन ।“ असुर शक्ति माथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको विजयमका रुपमा दशैँ मनाउने गरिएको छ । दशैँको दिन दोलखा विभिन्न देवी मन्दिरमा भक्तजनको घुँइचो लागेको थियो । गत वर्ष कोरोनाका कारण चाडपर्व प्रभावित भएको थियो । तर यो वर्ष कोरोना हटेर चाडपर्व मनाउन सहज भएको छ ।

Shares

Be the first to comment on "चैते दशैँमा मन्दिरमा भक्तजनको घुँइचो"

Leave a comment

Your email address will not be published.


*