चुडामणि उप्रेती ‘गोरे’ गौरीघाटबाट पक्राउ,गोरे पक्राउ पर्नु सरकारको ठूलो सफलता : गृहमन्त्री

काठमाडौं । साढे ३३ किलो सुन र सनम हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरी सार्वजनिक गरिएको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले गोरेलाई मंगलबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी दिएको छ ।

समितिले गृह मन्त्रालयमा गरेको पत्रकार सम्मेलनमा गोरेलाई सार्वजनिक गरिएको थियो । उनलाई फरार करार गर्दै अदालतमा मुद्दासमेत दायर गरिएको छ । उनी काठमाडौं उपत्यकाभित्र आएको सूचना पाएपछि समितिले खोजी कार्य तीव्र पारेको थियो ।
उनलाई गौरीघाट क्षेत्रमा पक्राउ गरी प्रारम्भिक सोधपुछ गरिएको समितिले जनाएको छ ।

“यसै मुद्दाका विभिन्न अभियुक्तहरु जम्मा ६५ जना हुनुहुन्छ, निजहरुका विषयमासमेत थप प्रमाण र तथ्य फेला परेका छन्,” समितिका संयोजक पौडेलले भने ।  त्यसबाहेक पनि अन्य सूचना र प्रमाण पनि फेला परेको समितिले पत्रकार सम्मेलनमा जनाएको छ ।
सनम शाक्य हत्या र साढे ३३ किलो सुन प्रकरणमा गोरे नै मुख्य दोषी भएको छानबिन समिति र प्रहरीको दाबी छ ।

तर अनुसन्धानकै क्रममा रहेकाले थप विषय भन्न नमिल्ने समितिका संयोजक पौडेलले बताए । समितिले यो विषय जेरीजस्तै जेलिएको अवस्थामा रहेको जनाएको छ । मुख्य अभियुक्त गोरे पक्राउ परी सार्वजनिक गर्दै समितिका संयोजक पौडेलले अहिले यो विषय अनुसन्धानकै क्रममा रहेकाले अन्य धेरै बोल्न नमिल्ने जानकारी गराए ।

“हामी गम्भीर विषयमा अनुसन्धान गरिरहेका छौं,” समितिका संयोजक पौडेलले पत्रकारहरुसँग भने, “ हामी गम्भीर विषयमा अनुसन्धान गरी जसरी भित्र प्रवेश गरेका छौं । हामीले  मोवाइल अफ गरेर अनुसन्धान गरेका छौं । त्यसैले पनि अहिले यो विषयमा धेरै बोल्न मिल्दैन ।”
उनले मोरङ उर्लाबारीका गोरे काठमाडौंको गौरीघाट क्षेत्रमा बस्दै आएको बताए ।

“फरार रहेकै अवस्थामा सुक्ष्म संयन्त्र परिचालन गर्दै नेपाल र भारतमा खोजी जारी राखेका थियौं,” समितिका संयोजक पौडेलले भने, “उनी काठमाडौंभित्र आएको विशेष सूचनाका आधारमा आधारमा हामीले तीनदिनदेखि खोजी जारी राखेका थियौं  । उनी गौरीघाट क्षेत्रमा बस्दै आएको गोप्य स्रोतबाट जानकारी पाएपछि आज बिहान ५ बजेर ३४ मिनेट जाँदा उनलाई गौरीघाट क्षेत्रबाटै पक्राउ गरिएको छ ।”

समितिले गोरेसँग बयान पनि लिइसकेको छ ।

“यो विषय जटिल र गम्भीर प्रकृतिको छ,” समितिका संयोजक पौडेलले भने,“संगठित अपराध भएकाले गम्भीर देखिएको हो । यो जेरी जस्तै जेलिएको छ । हरेक जेरीलाई सेलरोटीजस्तै फुलाउँदै छुट्याउनुपर्ने अवस्था छ ।”

गोरे पक्राउ पर्नु सरकारको ठूलो सफलता : गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन काण्डका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’ पक्राउ पर्नु तस्करीविरुद्धको सरकारी अभियानमा ठूलो सफलता मिलेको बताएका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठी उद्घाटन गर्न मंगलवार सुर्खेत आइपुगेका गृहमन्त्री थापाले पत्रकारहरूसँग कुरा गर्दै गोरेको पक्राउसँगै तस्करहरूको जालो तोडिने बताए। ‘सुन प्रकरणका आरोपी सुन तस्कर गोरेलाई पक्राउ गर्न सफल भएका छौँ’ गृहमन्त्री थापाले भने, ‘विस्तारै हामीले अन्य तस्करहरूलाई पनि कारवाहीको दायरामा ल्याउनेछौँ।’ मन्त्री थापाले लागूऔषधलाई कडाइका साथ निषेध गरिने बताए। विकास निर्माणको बाधकको रूपमा रहेको लागूऔषधको प्रयोग गुणात्मक रूपमा बढेको भन्दै भन्दै लागूऔषधका तस्करको जालो तोडने तयारी सरकारले गरेको बताए। ‘शान्ति सुरक्षा, विकास निर्माण, अपराध, घरेलु हिंसाको कारक लागूऔषध बनेको छ,’ गृहमन्त्री थापाले भने, ‘लागूऔषध प्रयोगकर्ता र बिक्रीकर्तालाई कडा कारवाही गर्ने र उक्त सञ्जाललाई नामेट पार्दै शान्ति सुरक्षालाई सुदृढ पारी छोडछौँ।’   उनले जस्तो सुकै हालतमा पनि लागूऔषध निषेध तथा मदिरालाई नियन्त्रण गर्ने बताए। ‘मदिरा पूर्ण रूपमा प्रतिबन्ध गर्ने होइन,’ उनले भने, ‘जनतामा चेतना फैलाउने र मदिरा सेवनको उपयुक्त समय मिलाउने योजना मन्त्रालयको छ।’ गृहमन्त्री थापाले नेपालमा राजनीतिक अतिवादी समूहहरूबाट सुरक्षा चुनौति रहेको बताए। ‘विप्लव समूह, तराईमा रहेका भूमिगत केही समूह र सीके राउत जस्ताहरूबाट सुरक्षा चुनौति छ,’ उनले भने, ‘साथै विभिन्न धार्मिक, जातीय समूह तथा बाह्य चुनौतिहरू पनि छन्। तर सरकार ती सबै चुनौतीको सामना गर्दै देशलाई विकास र समृद्धिको बाटोमा लिन सक्षम हुने छ।’ गृहमन्त्री थापाले ठेकेदारहरूलाई नियमन गर्ने निकाय भौतिक योजना तथा निर्माण मन्त्रालय भए पनि मजदूरहरूको पैसा खाएर भागेका, समयमै काम नसक्ने र गुणस्तरीय काम नगर्ने जो कोहीलाई पनि सरकारले नछाडने चेतावनी दिए। तर इमान्दार भएर काम गर्ने व्यवसायीलाई सरकारले साथ दिने उनको भनाइ छ। गृहमन्त्री थापाले सरकारले देशमा रहेको सबै खाले सिन्डिकेट हटाउने बताए। ‘सिन्डिकेटका कारण पनि देश पछि परेको हो,’ उनले भने, ‘त्यसलाई तोड्नु सरकारको मुख्य काम हो।’ पार्टी एकीकरणको बारे बोल्दै नेपालको इतिहासमा राजतन्त्र हटे पछिको अहिलेको कम्युनिस्ट एकता असाधारण कुरा भएको बताउदै अब देश विकासमा लम्कने बताए।

Shares

Be the first to comment on "चुडामणि उप्रेती ‘गोरे’ गौरीघाटबाट पक्राउ,गोरे पक्राउ पर्नु सरकारको ठूलो सफलता : गृहमन्त्री"

Leave a comment

Your email address will not be published.


*