चिसोसँगै अस्पतालमा बिरामी बढे

दीक्षण समाचार /चरिकोट, – वर्षाँ सगैँ हिमपात पछि बढेको चिसोले जिल्लाका अस्पतालहरूमा बिरामीको भीड लाग्न थालेको छ । एक साता अघि कालिञ्चोक, शैलुङ, खावा, खरिढुंगा लगायत जिल्लाको उच्च क्षेत्रमा वर्षासँगै हिमपात भएको थियो । सोही कारण बढेको अत्याधिक चिसोबाट सताइएपछि बिरामी परेकाहरुले अस्पतालमा भीड दैनिक लाग्न थालेको हो । रुघाखोकी, ज्वरो, दम र निमोनियाबाट ग्रसित बिरामीको संख्या अस्पतालमा दैनिक वृद्धि हुन थालेको छ । जिल्ला सदरमुकाम चरिकोटमा अवस्थित चरिकोट अस्पतालमा दैनिक एक सय ७० जना बिरामी आउन थालेका छन् । ती मध्ये करिब ७० जना चिसोबाट बिरामी भएकाहरू हुन् । अस्पतालका डाक्टर विनोद दङ्गालका अनुसार पुस १५ यता ११ सय जना बिरामीले अस्पतालबाट उपचारसेवा लिएकोमा आधाभन्दा बढी बिरामी रुघा, खोकी, दम र निमोनियाका बिरामी थिए । चिकित्सकको निगरानीमा उपचार आवश्यक पर्ने निमोनिया र दमका बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ । सामान्य ज्वरो र रुघाखोकीका बिरामीलाई भने आवश्यक सल्लाह सहित औषधि वितरण गर्ने गरिएको डाक्टर दङ्गालले बताउनुभयो ।  उहाँले भन्नुभयो “चिसोबाट बढीजसो वृद्धवृद्धा, बालबालिका र दीर्घ रोगी प्रभावित हुने गर्दछन् ।तर चरिकोट अस्पतालमा आएकाहरू युवायुवती पनि रहेका छन् ।”
चिसो मौसममा सबैले आफ्नो शरीरलाई बाक्लो कपडा लगाएर न्यानो राख्ने प्रयत्न गर्नुपर्छ । पोषिलो खानेकुरा खानुपर्छ तर फ्रिजमा राखेको खानेकुरा खानु यो मौसममा शरीरलाई उपयोगी हुदैँन । दीर्घ रोगीले निरन्तर औषधी सेवन गरिरहनुपर्छ । श्वासप्रश्वास छिटोछिटो भए, छाती बेस्सरी दुखे, खकारमा रगत आएमा खतराको लक्षण हो । यी यस्ता समस्या हुनेबित्तिकै तुरुन्त अस्पतालको उपचार आवश्यक हुन्छ । दम र निमोनियाका बिरामीले त राम्रो उपचार पाउन नसकेमा ज्यानै जान सक्छ । त्यसैले सचेत हुनपर्ने डाक्टर दङ्गालले सुनाउनुभयो । उहाँले भन्नुभयो “अहिले त ओमिक्रोन कोभिडको पनि जोखिम छ । चिसोमा त्यो बढ्छ । ज्वरो, रुघाखोकी र श्वासप्रश्वासका समस्या हुनेहरूलाई कोभिडको पनि जोखिम हुन्छ । त्यसैले चिसो जोगिन आवश्यक छ ।” चरिकोट अस्पतालमा आएका बिरामीलाई कोरोनाको शंका लागेमा आवश्यकता अनुसार परीक्षण गर्न सकिने उहाँले बताउनुभयो । चिसोबाट स्वास्थ्यमा समस्या हुनेहरूको संख्या बढिरहेको बेला जिरी अस्पतालमा पनि बिरामीको भीड लाग्न थालेको छ । अस्पतालमा दैनिक आएका बिरामीमध्ये ५० प्रतिशत बढी श्वासप्रश्वास, ज्वरो र रुघाखोकीको बिरामी हुने गरेको प्रमुख गौतमकुमार शाहले बताउनुभयो ।

Shares

Be the first to comment on "चिसोसँगै अस्पतालमा बिरामी बढे"

Leave a comment

Your email address will not be published.


*