चरीकोटमा ब्याडमिन्टन प्रतियोगिता हुँदै

इश्वर बिश्वकर्मा
चरीकोट, फागुन २२
दोलखाको सदरमुकाम चरीकोटमा प्रथम भीमेश्वर कप खुल्ला मेन्स डबल तथा जिल्ला स्तरीय ब्याडमिन्टन मेन्स डबल प्रतियोगिता हुने भएको छ ।
लालीगुराँस युवा क्लब चरीकोटको आयोजना तथा दोलखा जिल्ला ब्याडमिन्टन संघको सहआयोजनामा फागुन २३ (मंगलबार) देखि प्रतियोगिता हुन लागेको हो । ब्याडमिन्टन खेलाडीहरुको क्षमता प्रद्धर्शन तथा यस खेलको विकास र विस्तारको लागि चरीकोट स्थित भीमेश्वर ब्याडमिन्टन हलमा प्रतियोगिता सञ्चालन गरिने क्लबका अध्यक्ष प्रबिन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा इच्छुक खेलाडीले सोमबार सम्ममा टिम दर्ता गरी सहभागिता हुन सक्ने छन् । खुल्ला तर्फको प्रतियोगितामा सहभागी हुन तीन हजार रुपैयाँ र जिल्लातर्फ दुई हजार रुपैयाँ नाम दर्ता शुल्क बुझाउनुपर्ने छ ।
राष्ट्रिय स्तरका खेलाडीहरु समेत सहभागी हुने प्रतियोगिताले युवालाई खेल क्षेत्रमा सक्रिय हुन प्रेरित गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । नेपालका शीर्ष २० बरीयताका खेलाडीलाई भने सहभागी नगराइने बताइएको छ । प्रतियोगितामा खुल्ला तर्फका विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था रहेको छ । त्यसैगरी जिल्ला स्तरीय तर्फ विजेताले १५ हजार, उपविजेताले ८ हजार र तृतिय हुनेलाई ४ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । प्रदेश स्तरीय प्रतियोगिताको छनौट समेत यसै जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट गरिने आयोजकले जनाएको छ ।

Shares

Be the first to comment on "चरीकोटमा ब्याडमिन्टन प्रतियोगिता हुँदै"

Leave a comment

Your email address will not be published.


*