चरिकोट सातदोबाटो सडक ५ वर्षपछि कालोपत्रे सुरु

दोलखा,
चरिकोट सातदोबाटो सडक ५ वर्षपछि कालोपत्रे सुरु भएको छ । समयमा काम गर्न नसकेर ६० लाख हर्जना तिर्नु पर्ने भएको निर्माण कम्पनीले ५ वर्षको अन्तमा दुई साता यता दिउँसो कालोपत्रे गरिरहेको छ ।
चरिकोट सातदोबाटो सडकको सहरी सडक योजना अन्र्तगत ९ सय मिटर सडक विस्तारमा पटक पटक म्याद थप गर्दा समेत काम नसकेपछि डेढ वर्ष अघि नै हर्जनामा परेको छ । चरिकोट सडकको पेट्रोल पम्प क्षेत्रको अधिकाँश सडक कालोपत्र भइसकेको छ । एक दिनमा त्यहाँको काम पुरा हुने निर्माण कम्पनी स्काइ विल्डर्सका प्राविधिकहरु बताउँछन् ।
अब केही दिनमै सडक डिभिजन कार्यालयदेखि बसपार्कको सडक कालोपत्रे हुनेछ । लामोसमयसम्म हिलो र धुलोको सामना गर्न बाध्य भएपछि स्थानीय र जनप्रतिनिधिहरु पनि कालोपत्रेको गुणस्तरीयताको बारेमा चासो राखेका छैनन् । कालोपत्रे नभएर बजार नै कुरुप भएकाले त्यसको गुणस्तरीयता सडक विभागले हेर्ने काम भएको जनप्रतिनिधिहरु बताउँछन् ।
सडक विभागले काम नगरेकाले ठेकेदारको धरौटी समेत जफत गरिसकेको छ । उनको ठेक्का म्याद थप नभए ६० लाख हर्जना तिर्नुपर्छ । दोलखाको मुटु चरिकोट सातदोबाटो सडक विस्तारको जिम्मा लिएका निर्माण व्यवसायी पनि जिल्लाबासी नै हुन् । तर जिल्लाकै सडक अलपत्र पारेपछि जिल्लाको सदरमुकाम नै कुरुप बनेको छ । सडक विस्तार ०७१ असार मसान्तमा काम सक्ने गरी २०७० बैशाख ९ गते सम्झौता भएको थियो ।
सडक समयमा नबनेपछि नागरिकले सास्ती भोग्नु परेको छ । सडक अलपत्र बनेपछि हिउँदमा धुलोको सास्ती र वर्षा लागेपछि हिलोको दुःख भोग्न बाध्य स्थानीयहरु छन् । सडक अलपत्र भएकाले बजारको मुख्य चोकको ट्राफिक व्यवस्थापनमा समेत ट्राफिक प्रहरीलाई टाउको दुःखाइ बन्दै आएको थियो ।

१३ महिनाको ठेक्कामा ५ वर्ष बित्यो
सडक विस्तार ०७१ असार मसान्तमा काम सक्ने गरी २०७० बैशाख ९ गते ६ करोड २ लाख २९ हजार ४ सय ३३ मा काम सक्ने गरी ठेक्का सम्झौता भयो । उक्त समयमा खासै प्रगति नभएपछि डिभिजन सडक कार्यालय चरिकोटबाट ६ महिना म्याद थप भयो ।
सम्झौता गर्ने निकायले अधिकार पाए अनुसार एक पटक म्याद थप भए तापनि दोस्रो पटकदेखि सडक विभागबाट ६÷६ महिना गरी म्याद थप हुँदै आएको छ । सडक अत्यन्तै खाल्डाखुल्डी र हिलाम्मे भएपछि नागरिक समाज, राजनैतिक पार्टीका भातृ संगठनहरुले पटक पटक आन्दोलन समेत गरे । सडक डिभिजनकै गेटमै सडक कुरुप बनेपछि गत वर्ष जिरीमा ठेक्का लगाएको काम सातदोबाटोमा ढलान गराएको थियो । अब ढलान बाहेकका ठाउँमा मात्र कालोपत्रे हुने डिभिजन सडक कार्यालयका अधिकारीहरु बताउँछन् । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले ढिलै भए पनि कालोपत्रे हुनु नै राम्रो मान्नु पर्ने बताए । सडक कालोपत्रे भएपछि धुलो कम हुने उनले बताए ।
सडकबाट नागरिकहरुले सास्ती भोगेपछि नागरिक समाजले सडक डिभिजन कार्यालयमा गत साउनमा तालाबन्दी समेत भयो । तालाबन्दीपछि स्थानीय राजनैतिक दलका प्रनिधिहरुको आग्रहमा सडक विभागले अन्तिम पटक २०७३ असोज मसान्तभित्र कालोपत्रे पूरा गर्ने पुस मसान्त भित्र सडक डिभिजनलाई हस्तान्तरण गर्ने निर्माण व्यवसायीको प्रतिबद्धतापछि विभागले अन्तिम पटकका लागि म्याद थप गरेको हो । तर त्यसको एक वर्ष समय वितेपछि कालोपत्रे सुरु भएको हो ।
ठेकेदारको प्रतिबद्धता कागजमै सिमित भयो सडकको प्रगति जस्ताको तस्तै छ । म्याद सकिएपछि ठेकेदार काम गर्नुभन्दा शक्ति केन्द्र हार गुहार गरिरहेका छन् । म्याद थप नभए ठेक्का सम्झौता अनुसार दैनिक ०.०५ प्रतिशत हर्जना तिर्नुपर्ने व्यवस्था रहेको डिभिजन सडक कार्यालयका सुचना अधिकारी कृष्णकुमार महतोले जानकारी दिए । ठेक्का लागतको अधिकतम १० प्रतिशतसम्म तिर्नुपर्ने व्यवस्था भएकाले उनले अधिकतम ६० लाख २ हजार तिर्नु पर्ने हुन्छ ।

ठेकेदार नेताले पारे अलपत्र
सातदोबाटो सडक विस्तारका ठेकेदार स्काइ विल्डर्स÷लोहनी ब्रदर्स कम्पनी हो । स्काई विल्डर्सका मालिक दोलखाका खारेका स्थानीय यज्ञध्वज कार्की हुन् । उनकै अगुवाइमा सातदोबाटोको सडक विस्तारको काम भइरहेको छ । निर्माण व्यवसाययी राष्ट्रिय महासंघका अध्यक्ष समेत भएका कार्की नेकपा एमाले विकास निर्माण विभागका सदस्य समेत हुन् ।
सडक अलपत्र पार्ने ठेकेदार पार्टीको केन्द्रीय विभागको सदस्य भएपछि जिल्ला पार्टी भित्र समेत खुबै आलोचना भयो । एमाले दोलखाका एक नेताले यस्ता व्यक्तिलाई पार्टीको संरक्षण होइन् जेल हाल्नु पर्ने तर्क गरे ।
०२६ सालबाट स्विस सरकारले निर्माण सुरु गरेको एक सय १० किलोमिटर लामोसाँघु–जिरी सडक ०४३ मा निर्माण सम्पन्न भएको थियो । लामोसाँघु–जिरीअन्तर्गत पर्ने चरिकोट सातदोबाटो नौ सय मिटर सडकखण्ड मर्मतका लागि झन्डै चार वर्षअघि ठेक्का लगाइएको थियो । कालोपत्रे, फुटपाथ र नाला निर्माण गर्नु पर्छ ।
अलपत्र सडक चाँडै पूरा गराउन सर्वदलीय बैठक र विभिन्न निकायले पटक पटक डिभिजन सडक कार्यालयलाई ताकेता समेत हुँदै आएको छ । तर ठेकेदारकै लापारबाहीकै कारण सडक डिभिजनको टाउको दुखाई भइरहेको छ । डिभिजन सडक कार्यालय चरिकोटका सूचना अधिकारी महतोले ठेक्काको म्याद थप्ने वा तोड्ने विभागकै काम भएको बताए ।

Shares

Be the first to comment on "चरिकोट सातदोबाटो सडक ५ वर्षपछि कालोपत्रे सुरु"

Leave a comment

Your email address will not be published.


*