चरिकोट बजार सरसफाइ अभियान सुरु

ईश्वर विश्वकर्मा
चरिकोट, भदौ ६
दोलखाको सदरमुकाम चरिकोट बजार सोमबार सफासुग्घर देखिएको छ । बिहानै भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धर, सशस्त्र प्रहरीको टोली र स्थानीयद्धारा बजार सरसफाइ गरिएको हो । पशुपति डाँडा, बिच बजार, सातदोबाटो नयाँ बसपार्क लगायतका बजार क्षेत्र सरसफाइ गरिएपछि सफासुग्घर देखिएको छ । 

भीमेश्वर नगरपालिकाको आयोजना र सशस्त्र प्रहरी बल नेपाल, १८ गुल्म हेड क्वाटर दोलखाको विषेश सहयोगमा बजार सरसफाइ गरिएको हो । फोहोर जथाभावी फालिँदा बजारको सुन्दरता ह्रासोन्मुख भएको बेला अहिले सरसफाइपछि बजार सफा र सुन्दर देखिएको छ । हिजोसम्म फुटपाथ व्यापारी, यात्रु स्थानीयद्धारा उत्पादित फोहोर सडकमै फालिँदा बजार कुरूप देखिएको थियो । ठाउँठाउँमा राखिएका डस्टबिन समेत हराएपछि प्लाष्टिक, कागज, फलफूलका बोक्रा, बोतल, सिसा जन्य फोहोर यत्रतत्र बजारका सडक, फुटपाथमा देखिन्थे । तर आज बिहानै सफा गरिएपछि बजार सफा सुन्दर देखिँदा यहाँका स्थानीय र आगन्तुकहरु समेत उत्साहित भएका छन् ।
जनताको सेवा तल्लिन नगरप्रमुख समेत बिहानै कुचो बोकेर घर अगाडि सफा गर्न लागेपछि स्थानीयहरु अचम्मित भएका थिए ।, भने केहीले फोहोर व्यवस्थापन दिगो रुपमा गर्न समेत अनुरोध गरेका थिए । कतिपयले आआफ्नै बुझाई अनुसारको टिकाटिप्पणी गरेका छन् ।
नगरप्रमुख मानन्धरले बजार सुन्दरीकरण र नागरिकमा सचेतना अभिवृद्धिका लागि समेत बजार सरसफाइ अभियानकै रुपमा गर्न लागिएको बताउनुभयो । उहाँले समुदाय र स्थानीय सरकारको सक्रियता मात्र बजार सफा हुने भएकोले सोही अनुरूप सक्रियता बढाउन लागिएको सुनाउनुभयो । भीमेश्वर नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता तारानाथ चौलागाईँले आफ्नो बजार आफैँले सफा राखौँ भन्ने उद्देश्य सहित सोमबारदेखि सरसफाइ अभियानको रुपमा शुभारम्भ गरिएको बताउँदै प्रत्येक शनिबार सरसफाइमा सहभागी हुन अनुरोध गर्नुभएको छ । उहाँले सरसफाइमा स्वतस्फुर्त सहभागी हुन चाहनेले प्रत्येक शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म उपस्थितिका लागि अनुरोध गर्नुभएको छ ।

चरिकोट बजारलाई सफा राख्ने जिम्मेवारी यहाँका बासिन्दा, यात्रुको हो । फोहोर जथाभावी फाल्ने बानीलाई निरुत्साहित गर्न सकेमा बजार सफा रहनेमा दुइ मत छैन । तर बजार प्रति अपनत्वको भावना र फोहोर व्यवस्थापनमा चेतना नहुँदा समस्या हुने गरेको छ ।  देशैभर फोहोर व्यवस्थापनको चुनौती भइरहेको बेला भीमेश्वर नगरपालिका पनि उक्त चुनौतीको सामना गरिरहेको छ । फोहोर व्यवस्थापन र प्रशोधनको लागि वडा नं. ६ स्थित रामकोट तलको सीम पानी वनमा ल्यान्डफिल साइट निर्माण भएपनि प्रयोगमा आउन सकेको छैन । नगरप्रमुख मानन्धरका अनुसार डिभिजन वन कार्यालयले विवाद झिकेपछि ल्यान्डफिल साइट प्रयोग गर्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ । बजारको फोहोर नियमित रुपमा उठाउन सकिएको छैन ।

Shares

Be the first to comment on "चरिकोट बजार सरसफाइ अभियान सुरु"

Leave a comment

Your email address will not be published.


*