चरिकोट–देउराली सडक निर्माण द्रुत

चरिकोट(दीस)ः चरिकोट–देउराली सडकको काम द्रुत गतिमा भइरहेको छ । आउँदो वैशाखसम्म कालोपत्रे पूरा गर्ने उद्देश्यका साथ सो सडकको काम द्रुत गतिमा भइरहेको हो ।
हाल सो सडकको वाल, नाली, कल्भर्टलगायतका पूर्वाधारका सम्पूर्ण संरचना पूरा गरी अहिले कालोपत्रेको काम सुरु भएको छ । सडकको समग्रमा ८० प्रतिशत बढी प्रगति भएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका इन्जिनीयर प्रतीक पौडेलले जानकारी दिनुभयो । अहिले सडक ग्रेडिङ गरी सबबेसको काम पूरा भएको छ भने बेस बिच्छ्याउने काम करिब एक किलोमिटरमात्रै बाँकी रहेको कार्यालयको भनाई रहेको छ । यो सडक कालोपत्रे भएपछि चरिकोट हुँदै कालिञ्चोक जाने यात्रुलाई यात्रा गर्न सहज हुने छ । सडक ट्रयाक खुलेको ३० वर्षपछि सडक विस्तार गरी कालोपत्रे गर्न लागिएको हो । पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोक मार्फत विस्तार भइरहेको सडकको ट्रयाक खुलेको ३० वर्षपछि सडक विस्तार गरी कालोपत्रे हुँदैछ ।
यो सडकको कालोपत्रे को काम गतवर्ष जेठमै एक किलोमिटर पूरा भइसकेको छ । सबै काम पूरा भएकाले यो वर्ष कालोपत्रेको काम सुचारु गर्न सबै तयारी पूरा भएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कालो पत्रे गर्ने काम केही समय अघिनै सुरु गर्ने योजना रहेकोमा पानीका कारण केही ढिलाई भएको इञ्जिनीयर पौडेलको भनाई रहेको छ  । यो सडकको चौडाइ साढे ६ मिटर रहेको छ ।
सडक कालोपत्रे गर्नेकाम सकिएपछि रङोगन, ट्राफिक चिन्ह राख्ने काम हुने बताइएको छ । मौसमले साथ दिए एक महिनाभित्र कालोपत्रे पूरा गरी वैशाखभित्रै सडकको सम्पूर्ण काम सकिने निर्माण कम्पनीको भनाई छ । १८ महिनामा काम सम्पन्न गर्ने गरी २०७९ भदौ २ गते जय धनन्जय÷गणेश कुण्ड÷भुजेल जेभी ले ठेक्का लिएको थियो । ठेक्का २०८० फागुनमा पूरा गर्नु पर्ने थियो ।समयमा साइड किलियर नहुँदा तथा २०८० साउनदेखि मंसिरसम्म क्रसर बन्द हुँदा निर्धारित समयमा काम पूरा गर्न नसकेको निर्माण व्यवसायीका प्रतिनिधि सुदीप सुनुवारको भनाई रहेको छ । सडक विस्तारको क्रममा सबैभन्दा जटिल मानिएको भीमेश्वर नगरपालिका वडा नम्बर छ को सिम्पानीमा रहेको नेपाली सेनाको पश्चिमतिरको घेराबार सार्न, खानेपानीका पाइप र विद्युतका पोल हटाउने काममा ढिलाइ हुँदा समग्र काम नै ढिला भएको उहाँको भनाई रहेको छ । यस्तै ढल निकासको कामले पनि सडकको सतह नै विगारेकाले सुधार्न थप लगानी गर्नुपरेको निर्माण व्यवसायीको गुनासो छ । सडकको १७ करोड ३५ लाख रुपैयाँमा ठेक्का आह्वान भएकोमा निर्माण व्यवसायले मूल्य अभिवृद्धि करसहित १२ करोड ९० लाखमा सम्झौता गरेको थियो । पूर्वनिर्धारित डिजाइन अनुसार पछि काम थपिएपछि लागत पनि बढ्ने अनुमान छ । सम्झौता अनुसारको समयमा काम पूरा नभएपछि तीन महिना म्याद थप गरिएको छ ।

Shares

Be the first to comment on "चरिकोट–देउराली सडक निर्माण द्रुत"

Leave a comment

Your email address will not be published.


*