चरिकोट अस्पतालमा बिरामी र सुत्केरीलाई फलफूल वितरण

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र ११
दोलखाको भीमेश्वर नगरपालिकाले चरिकोट अस्पतालमा भर्ना भई उपचारमा रहेका बिरामी र सुत्केरी आमालाई बुधबार फलफूल वितरण गरेको छ । उपचाररत ८ जना बिरामी र ४ जना सुत्केरी आमालाई विश्व क्षयरोग दिवसको अवसरमा अस्पतालमैँ पुगी स्याउ, अङ्गुर र केरा वितरण गरिएको हो । नगरउपप्रमुख कमला बस्नेतले बिरामीहरुलाई फलफूलकाे ‘पोको’ हस्तान्तरण गरेकी थिइन् । बिरामीलाई स्वास्थ्य लाभको कामना र सुत्केरी आमालाइ बधाइ दिदैँ फलफूल वितरण गरिएको उपप्रमुख बस्नेतले बताइन् । फलफूल वितरण कार्यक्रम अघि नगरले क्षयरोगको बर्तमान अवस्था र चूनौती विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा क्षयरोगको परिचय, यसको पहिचान, क्षयरोग लाग्ने अङ्ग, लक्षण तथा औषधी उपचार, निवारणको चुनौती लगायतको विषयमा चरिकोट अस्पतालका डाक्टर विनोद दङ्गालले कार्यपत्र प्रस्तुत गर्दै कुनै व्यक्तिलाई क्षयरोगको शंका लागेमा सम्बन्धित सरकारी स्वास्थ्य संस्थामा गई रोगको पहिचान गरी निशुल्क उपचारको दायरा आउनुपर्ने बताए । त्यस्तै नगरमा क्षयरोग र उपचारको अवस्था बारे स्वास्थ्य संयोजक श्याम खड्काले जानकारी गराएका थिए । कार्यक्रममा नगर उपप्रमुख कमला बस्नेतले नगरमा क्षयरोगका बिरामी पहिचानमै समस्या र कठिनाई रहेकोले नगर स्वास्थ्य शाखा र चरिकोट अस्पतालले अग्रसरता देखाउनुपर्ने जोड दिइन् । “क्षयरोगीको बिरामी पहिचान गरी औषधी उपचारको दायरामा ल्याउनै कठिन भएको छ । तर यसमा सबै सचेत नागरिकको सहयोग भएको खण्डमा क्षयरोगको पहिचानमा सजह हुने छ ।” उनले भनिन् । नगरले गत वर्षहरुमा शिक्षालाई पहिलो प्राथमिकतामा राखेको थियो । तर कोभिडबाट पाठ सिक्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकीकरण गरिएको उनले बताइन् । नगरका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा चरिकोट अस्पतालका स्वास्थ्यकर्मी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "चरिकोट अस्पतालमा बिरामी र सुत्केरीलाई फलफूल वितरण"

Leave a comment

Your email address will not be published.


*