चरिकोटमा मूल्यवृद्धिको विरोधमा चक्काजाम

राजकुमार भुजेल
चरिकोट, असार ७
दोलखाको सदरमुकाम चरिकोटमा मंगलबार मूल्यवृद्धिको विरोधमा आधाघण्टा चक्काजाम गरिएको छ । पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएपछि जनता मारमा परेको भन्दै मूल्यवृद्धि विरुद्ध नेपाल कम्युनिष्ट पार्टी ( बहुमत ) ले सातदोबाटोमा चक्काजाम गरेको हो । बिहान साँढे १० देखि ११ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएर मूल्य वृद्धि विरुद्ध आन्दोलन गरिएको बहुमत पार्टीले जनाएको छ । पार्टीका जिल्ला सेक्रेटरी सोम पाख्रिनले जनताको अभिभावक बन्नुपर्ने सरकार पटकपटक पेट्रोलियम पदार्थको मूल्य बढाएर पीडक बन्न खोजेकाले सडकमै उत्रिएर विरोध गरिएको बताउनुभयो । उहाँले उक्त विरोध पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा मात्र नभई खाद्यान्न लगायतका दैनिक उपभोग्य सामाग्रीमा बढाएको मुल्य वृद्धिका विरुद्धको रहेको बताउनुभयो । “ सरकारले पटकपटक मूल्यवृद्धि गरी जनतालाई आजित बनाएको छ । अब चुप लागेर बस्नुहुँदैन ।” उहाँले भन्नुभयो “सरकारलाई खबरदारी निरन्तर गरी मूल्य वृद्धि नियन्त्रणका लागि दबाब दिनुपर्छ ।”
नेपाल आयल निगमले पछिल्लो पटक पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बढाएर प्रतिलिटर मूल्य पेट्रोल १ सय ९९ रुपैयाँ र डिजेल तथा मट्टितेलको १ सय ९२ रुपैयाँ तिर्नुपर्ने बनाएको छ । जसका कारण सवारी साधनको यात्रा भाडा पनि वृद्धि हुँदा सर्वसाधारण मारमा परेका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिए पछि आर्थिक अवस्था कमजोर हुने परिवारको जीवन कष्टकर बनेको छ ।

Shares

Be the first to comment on "चरिकोटमा मूल्यवृद्धिको विरोधमा चक्काजाम"

Leave a comment

Your email address will not be published.


*