चरिकोटमा पोषण सम्बन्धि गोष्ठी सुरु

रामशरण बिक÷युनिका तामाङ
चरिकोट, फागुन २
दोलखाको सदरमुकाम चरिकोटमा स्थानीय तहमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रम दीगोपना सुनिश्चितताबारे २ दिवसिय गोष्ठी शुक्रबार सुरु भएको छ ।
स्थानीय तहमा पोषण प्रर्वद्धन गरि स्वस्थ जनशक्ति निर्माण गर्दै समाजको विकासमा दीगोपना ल्याउने उद्धेश्यका साथ गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीको उद्धघाटन समारोहमा भीमेश्वर नगरपालिकाका प्रमुख भरत बहादुर केसीले नगरका आमा र बच्चाका लागि विभिन्न कार्यक्रम गरिएको बताए । उनले गर्भवती महिला, आमा र नवजात शिशुको नियमित स्वास्थ्य परीक्षण, स्वस्थ्य सुधार र पोषणमा सहयोग नगरले गरेको बताए ।
गोष्ठीमा सुआहारा दोलखाका कार्यक्रम संयोजक नारायण सत्यालले नेपालमा पोषणको अवस्था, आवश्यकता र महत्व, कुपोषणको अवस्था र असर, पोषण सुधारका लागि नविनतम् प्रयासहरु, हजार दिनको जानकारी सहित कार्यपत्र प्रस्तुत गरे । उनले स्थानीय तहले पोषण क्षेत्रका लागि विषेश योजना बनाएपनि लक्ष्य अनुरुप कार्य नभएको बताए ।
गोष्ठीमा भीमेश्वर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा शिक्षा, स्वास्थ्य र पशुको क्षेत्रमा गरेको गतिबिधी प्रस्तुत गरिएको थियो ।
स्वास्थ्य अन्तर्गत सुत्केरी पोषण भत्ता वितरण, जेष्ठ नागरिक स्वास्थ्य शिविर लगायतका गतिविधी गरेको नगरका स्वास्थ्य शाखा संयोजक श्याम खड्काले बताए । भीमेश्वर नगरपालिकाले स्वास्थ्य तथा पोषण लक्षित शिक्षा अन्र्र्तगत दिवा खाजा कार्यक्रम, किशोरीहरुलाई सेनेटरी प्याड तयारी, विद्यालयमा जंग फुड नियन्त्रण कार्यक्रम सञ्चालन भएको, विद्यालय नर्स कार्यक्रम सुरु, भिटामिन ए र जुकाको औषधी र आइरन चक्की वितरण, सबै विद्यालयमा पिउने पानीको व्यवस्था भएको शिक्षा शाखा प्रमुख अर्जुन बहादुर कार्कीले बताए ।
गोष्ठीमा पशु सेवा शाखाकी पशु सेवा प्राविधिक रमला घिसिङले पशुसँग सम्बन्धित गरिएको गतिविधीको जानकारी दिइन् । गोष्ठी भीमेश्वर नगरपालिका र सुआहारा दोलखा, ग्रामिण विकास टुकी संघ र युएसएआइटीले आयोजना गरेको हो । गोष्ठीमा स्थानीय तहका जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्य कर्मचारीहरुको सहभागिता रहेको थियो । गोष्ठी शनिबारसम्म जारी रहने छ ।

Shares

Be the first to comment on "चरिकोटमा पोषण सम्बन्धि गोष्ठी सुरु"

Leave a comment

Your email address will not be published.


*