चरिकोटमा निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न

ईश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक ३०
दोलखाको सदरमुकाम चरिकोटमा बुधबार संसदीय निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत बनाउनका लागि निर्वाचन कार्यालयले सो बैठकको आयोजना गरेको हो ।
बैठकमा मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरक्षित र मर्यादित रुपमा सम्पन्न गर्नका लागि सबैले आआफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राजनीतिक दलका प्रमुख एवं उम्मेदवारहरुले आचारसंहितालाई पूर्ण रुपमा परिपालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईले प्रजातन्त्र र संविधान सबल बनाउन निर्वाचन अपरिहार्य रहेकोले यसको सम्पन्नताको लागि सबै निकायले सहयोग र समन्वय गर्ने निर्णय बैठकमा भएको बताउनु भयो । बैठकमा उहाँले निर्वाचनको तयारी, कर्मचारी खटनपटन र सामाग्री व्यवस्थापन लगायतको विषयमा जानकारी दिनु भएको थियो ।
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जिल्लामा शान्तिसुव्यवस्था मजबुत पारिएकोले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुने अवस्था निर्माण भएको बताउनु भयो । जिल्लाको विभिन्न स्थानमा मतदान केन्द्र नै कब्जा गरी मतदाताको अधिकार खोस्ने र निर्वाचनै बिथोल्ने लगायतका गतिविधि हुन सक्ने भएकोले त्यस्तो अवस्था आउनै नदिने तर्फ सुरक्षा प्रशासन चनाखो रहेको उहाँले उल्लेख गर्नु भयो । अवाञ्छित व्यक्तिको आवागमनलाई निषेध गरिएको र त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिई कारबाही गरिने प्रजिअ खतिवडाले सुनाउनु भयो ।
बैठकमा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचन आफैँमा संवेदशील र चुनौतीपूर्ण रहेको बताउँदै चुनौतीको कामलाई सबैको सहयोग र सहजीकरणले सफलता पूर्वक सम्पन्न गराउन आवश्यक रहेको बताउनु भयो । उहाँले विगतका निर्वाचनबाट पाठ सिक्दै जिल्लामा निर्वाचन सफल बनाउने तर्फ सबै केन्द्रित हुनुपर्ने बताउनु भयो । मतदाताको मताधिकार रक्षाका लागि कर्मचारीले सुरक्षा प्रशासनको सहयोगमा अहोरात्र अहिले काम गरिरहेको उहाँले उल्लेख गर्नु भयो ।
उहाँले निर्वाचनमा परिचालित कर्मचारी र सुरक्षाकर्मी प्रति कसैले पनि शंकाआशंका गर्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै कर्मचारीलाई राजनीतिक आस्था त्यागेर निष्पक्ष र समान तवरले निर्वाचन सम्पन्न गराउन निर्देशन दिइएकोले सोही अनुरुप हुनेमा विश्वस्त हुन अनुरोध गर्नु भयो ।
निर्वाचन आचारसंहिता जिल्ला अनुगमन समितिका संयोजक मुरारी निरौलाले जिल्लामा आचारसंहिता उल्लंघनको गतिविधि भएको भनी उजुरी आउने क्रम नरोकिएकोले त्यस्ता गतिविधिमा संलग्नलाई सचेत पार्ने, स्पष्टिकरण सोध्ने र आचारसंहिता पालनामा प्रोत्साहन गर्ने कार्य भईरहेको सुनाउनु भयो । निर्वाचनमा विश्वसनीयता, निष्पक्षता र भयभुक्त वातावरण कायम राख्न आचारसंहिताको पालना अपरिहार्य रहेको रहेको बताउँदै उहाँले भन्नुभयो “आचारसंहिता कानुन हो । कानूनको पालना गर्नुपर्छ । यदि यसको विपरीत कसैले गर्छ भने त्यो सजायको भागीदार हुन्छ ।” बैठकमा राजनीतिक दलका प्रमुख, प्रतिनिधि, स्वतन्त्र उम्मेदवार, जनप्रतिनिधि र सञ्चारकर्मीले निर्वाचन सफल बनाउन उपाय सहितको सुझाव पेश गरेका थिए । सो अनुसार परिस्कृत, परिमार्जित र सुदृढ तवरले निर्वाचन सम्पन्न हुने विश्वास गरिएको छ ।

Shares

Be the first to comment on "चरिकोटमा निर्वाचन केन्द्रित सर्वदलीय बैठक सम्पन्न"

Leave a comment

Your email address will not be published.


*