घरेलु मैदानमा नेपालले जित्यो पहिलो त्रिकोणात्मक टी-२० सिरिज

काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ । नेपालले पहिलो पटक घरेलु मैदानमा आयोजित टी-२० अन्तर्राष्ट्रिय सिरिज जितेको हो । नेपालले आफ्नो टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमै अहिलेसम्मकै फराकिलो १४२ रनको जित हासिल गरेको छ । यस अघि नेपालले भुटानविरुद्ध २०१९ को डिसेम्बरमा १४१ रनको जित हासिल गरेको थियो । नेपालले दिएको २३९ रनको विशाल लक्ष्य पछाएको नेदरल्यान्ड्सले १७.२ ओभरमा अल आउट हुदै केबल ९६ रन मात्र बनाएपछि नेपाल १४२ रनले विजयी भएको हो । नेदरल्यान्ड्सका लागि सेबास्टेन ब्राटले सर्बाधिक २६ रन बनाए भने म्याक ओ डुडले २० रन बनाए । त्यस्तै कप्तान पिटर सीलारले १३ रन बनाए । नेदरल्याण्डसका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसकेपछि नेपालले फराकिलो जित हासिल गरेको हो । नेपालका लागि बलर कारण केसीले ३ विकेट लिएका थिए । करणले ३ ओभरमा ११ रन दिएर ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने र कमल सिंह ऐरीले २-२ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिए । सन्दीपले सिरिजमका ५ खेलमा १३ विकेट लिदै प्रतियोगितामा सर्बाधिक विकेट लिने खेलाडी बनेका छन् । त्यस्तै आफ्नो डेभ्यु सिरिज खेलिरहेका कमलले यस खेलमा ४ ओभरमा २२ रन दिएर २ विकेट लिएका छन् । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाउदै २३८ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ७७ रन बनाएका थिए । सिरिजमा आफ्नो चौथो अर्धशतक बनाएका भुर्तेलले ५३ बल खेल्दै ८ चौका र ३ छक्का प्रहार गर्दै ७७ रन बनाएर आउट भएका थिए । भुर्तेलले सिरिजका ५ खेलमा ६९.५० को औसतले सर्बाधिक २७८ रन बनाएका छन् । त्यस्तै नेपालका लागि कुशल मल्लले पनि अर्धशतक प्रहार गरेका थिए । मल्लले २४ बलमा अर्धशतक पुरा गरेका थिए । यो नेपालका कुनै खेलाडीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको दोस्रो तिब्र अर्धशतक हो । उनले अविजित रहदै ५० रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ३३, आसिफ सेखले १६ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १८ बलमा अविजित ४८ रन बनाए । नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उच्च रन बनाएको थियो । यस अघि २०१९ डिसेम्बरमा नेपालले भुटानविरुद्ध २३६ रन बनाएको थियो । नेदरल्यान्ड्सका बलर फिलिप बोइसीभैनले २ विकेट लिए भने सेबास्टेन ब्राटले एक विकेट लिए ।

Shares

Be the first to comment on "घरेलु मैदानमा नेपालले जित्यो पहिलो त्रिकोणात्मक टी-२० सिरिज"

Leave a comment

Your email address will not be published.


*