गौरीशंकर गाउँपालिकाको बजेट ५६ करोड भन्दा बढी

ईश्वर बिश्वकर्मा
चरिकोट, असार १०
स्थानीय तहको दोस्रो कार्यकाल अन्तर्गत दोलखाको गौरीशंकर गाउँपालिकाले पहिलो बजेट सार्वजनिक गरेको छ । शुक्रबार दोस्रो गाउँसभामा शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्रमुख प्राथमिकतामा राख्दै पालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि अनुमानित बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाका उपाध्यक्ष श्याम सुन्दर तामाङले ५६ करोड ९८ लाख ३५ हजार रुपैयाँ बजेट सार्वजनिक गर्नुभएको हो । उहाँले नागरिकको अपेक्षा र चाहनालाई सम्बोधन गर्ने गरी निर्माण गरिएको बजेट दिगो विकास र पालिकाको समृद्धिमा कार्यान्वयन गरिने बताउनुभयो । उहाँका अनुसार पूर्वाधार विकास तर्फ पाँच करोड ८१ हजार, वडाग तर्फ पाँच करोड ५० लाख, शिक्षा र खेलकुद तर्फ दुई करोड ५० लाख, स्वास्थ्य तर्फ ८० लाख, विपद् व्यवस्थापन तर्फ ४० लाख बजेट विनियोजन गरिएको छ ।
कृषि तथा पशुपक्षी विकास तर्फ एक करोड, लक्षित वर्ग कार्यक्रममा ३० लाख, न्यायिक समितिमा १५ लाख, युवा तथा रोजगार ५० लाख, पर्यटन तथा संस्कृति क्षेत्रमा ३५ लाख, साझेदारीमा कार्यक्रम सञ्चालन गर्नका लागि ३० लाख, पूर्वधार निर्माण सम्भाव्यता अध्ययन ४० लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी सुशासन तथा सूचना प्रविधिका लागि ५० लाख र एम्बुलेन्स सञ्चालनका लागि १५ लाख र प्रशासनिक चालु खर्च नौ करोड ९८ लाख विनियोजन गरिएको उपाध्यक्ष तामाङले बताउनुभयो । गाउँपालिकाको बजेटको स्रोत ठूलो हिस्सा संघ र प्रदेशबाट प्राप्त अनुदान नै रहेको छ । पालिकाले आन्तरिक स्रोतबाट ३० लाख रुपैयाँ मात्र प्राप्त हुने अनुमान गरेको छ ।

Shares

Be the first to comment on "गौरीशंकर गाउँपालिकाको बजेट ५६ करोड भन्दा बढी"

Leave a comment

Your email address will not be published.


*