गौरीशंकर गाउँपालिकाका पशुमा खोरेत रोगको लक्षण देखा प¥यो

दीक्षण समाचार चरिकोट, –दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. २ जुँगु र वडा नं. ३ झ्याँकुमा पशुहरु बिरामी भई मर्न थालेका छन्। यी दुई वडामा केही दिन अघि देखि पशुहरु बिरामी पर्न थालेको र सो पशुहरुमा खोरेत रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख पूर्णबहादुर पुर्बछाने मगरले बताउनुभयो । उहाँले भन्नुभयो “केही दिन अघि हाम्रो टोली जुँगु र झ्याँकुमा निरिक्षणका लागि गएको थियो । निरीक्षणको क्रममा प्रत्येक किसानको गोठमा रहेका पशुहरु बिरामी परेको र खोरेतसँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । केही पशुहरु त मरिसकेको भन्ने किसानको गुनासो छ । तर यकिन विवरण छैन ।” पशुहरुलाई ज्वरो आउने जिब्रो र खुट्टा तथा खुरमा घाउ हुने, ¥याल चुहाउने जस्ता लक्षण देखिएको प्रमुख मगरले सुनाउनुभयो । चरिकोटबाट भिटिएम पुगिसकेको र भोली बिरामी पशुको नमुना संकलन गरी खोरेत तथा सीमाविहीन पशुरोग अन्वेषण प्रयोगशाला काठमाडौँ पठाइने छ । परीक्षणपछि खोरेत रोग पुष्टि भएमा पुशलाई खोप लगाउने र उपचार गरी निदान गरिने उहाँले बताउनुभयो । पशुहरु बिरामी पर्न थालेपछि जुँगु र झ्याँकुबाट र बाहिरबाट पशुपन्छी आवातजावत र ओसारपसार कार्य गर्न प्रतिबन्ध लगाइएको छ । पालिकाले ६ गते एक सूचना जारी गर्दै अर्काे सूचना जारी नभइन्जेलसम्मको लागि उक्त कार्यमा प्रतिबन्ध लगाइएको जानकारी दिएको हो । साथै बिरामी पशुलाई अन्य पशुबाट टाढै राख्न र आवश्यक सावधानी अपनाउन किसानलाई अनुरोध गरिएको छ ।

Shares