चरिकोट (दीस): गौरीशंकर गाउँपालिकामा मंसिर १६ गते हुने रिक्त उपप्रमुख पदका लागि हुने उपनिर्वाचनका लागि दलका उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्न थालेका छन्। दोलखाका प्रमुख दलहरू निर्वाचन आयोगको पूर्व निर्धारित तालिका अनुसार उम्मेदवारी दर्ता गर्नु अघि नै मतदाता रिझाउन घरमा पुग्न लागेका हुन्। दोलखाका प्रमुख दलहरूले आफ्नो उम्मेदवार टुंगो लगाइसकेका छन्। उहाँहरू मतदातालाई रिझाउन पालिकाका विभिन्न स्थानमा भोट माग्दै हुनुहुन्छ। नेपाली कांग्रेसले पासदिकी तामाङ (शेर्पा) लाई उम्मेदवार बनाएको छ। उहाँ गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुनुहुन्छ। श्यामसुन्दरले सुरु गरेका अधुरा काम पूरा गर्न श्रीमतीलाई उम्मेदवार बनाएको कांग्रेसका नेताहरूको भनाइ रहेको छ। सो पार्टीले भोर्लेमा सभा गरी औपचारिक रूपमा चुनावी अभियानको सुरुवात गरेको छ।
नेकपा एमालेले गौरीशंकर गाउँपालिका–७ सिक्पाश्वरकै उमा मगर शेर्पालाई उम्मेदवार बनाएको छ। उहाँ पनि अहिले मतदाता रिझाउन मतदाताको घरदैलोमा चुनावी प्रचारका लागि पुग्नु भएको छ। एमाले जिल्ला कमिटीको बैठकले उहाँको उम्मेदवारी अनुमोदन गरेपछि एमाले औपचारिक रूपमा चुनावी अभियानमा लागेको हो। एमालेबाट उम्मेदवार बनेकी उमा मगर शेर्पा निर्माण व्यवसायी हुनुहुन्छ। उहाँ काठमाडौं बसेर निर्माण व्यवसाय गर्दै आउनु भएको बताइएको छ।
त्यसैगरी नेकपा माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पा (डोल्मा) पहिलो चरणमा पार्टी कमिटीको बैठक र मतदातासँग भेटघाटका लागि ९ वटै वडामा पुग्नु भएको माओवादी केन्द्रले जनाएको छ। गाउँमै बसेर स्वास्थ्य स्वयंसेविका, सामुदायिक मेलमिलापकर्ता र सहकारी अभियानमा शेर्पा जोडिनु भएको छ। त्यसैगरी, संसदको चौथो दल राजस्वाले पनि आफ्नो उम्मेदवार तय गर्न बाँकी रहेको जनाएको छ। केही दिनमा नै उम्मेदवार घोषणा गरिने सो पार्टीले जनाएको छ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले विभिन्न चरणमा पार्टी कमिटीले आकांक्षीहरूसँग छलफल गरेर सर्वसम्मत रूपमा उम्मेदवारको टुंगो लगाएको छ। पार्टीको आइतवार बसेको बैठकले मनकुमारी श्रेष्ठलाई उम्मेदवारको छनोट गर्दै निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ।
नेकपा एकीकृत समाजवादीले गौरीशंकर गाउँपालिका–५ की रविना खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। स्नातकोत्तर अध्ययनरत खड्का विद्यार्थी आन्दोलनबाट उदाएकी र विभिन्न संघ संस्थामा काम गर्नु भएको अनुभव रहेको सो पार्टीले जनाएको छ।
गौरीशंकर गाउँपालिकामा २०७९ को स्थानीय तह निर्वाचनको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसबीच संयुक्त गठबन्धन गरी चुनावमा होमिएको थियो। सो चुनावमा नेकपा एमाले निकटतम प्रतिस्पर्धी भएको थियो। पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विश्वास कार्की र उपाध्यक्षमा नेपाली कांग्रेसका श्यामसुन्दर तामाङ विजयी हुनु भएको थियो। तामाङको डेढ वर्ष अघि हृदयघातका कारण निधन भएपछि गौरीशंकर गाउँपालिकामा उपनिर्वाचन हुन लागेको छ। निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गतेका लागि उम्मेदवारी दर्ता गर्ने मिति तोकेको छ। गत निर्वाचनमा ९ वडा रहेको सो पालिकामा माओवादी केन्द्र ५ वटा र ३ वटामा नेपाली कांग्रेस र एमालेले एउटा वडाअध्यक्ष पदमा विजयी भएको थियो।
Be the first to comment on "गौरीशंकर गाँउपालिकामा उपनिर्वाचन ,मतदाता रिझाउदै उम्मेद्वार"