गोल भेडाको गाउँ उनीयाचौर

चरिकोट(दीस)ः बैतेश्वर गाउँपालिका वडा नम्बर ४ उनीयाचौरका दलबहादुर सार्की रोजगारीका लागि भारत नगएको २० वर्ष भयो । पहिले रोजगारीकै लागि उहाँ वर्षको ६ महिना जति भारतको सिलगढी र दार्जेलिङतिर जानु हुन्थ्यो । ६ महिनामा जेनतेन भारी बोक्ने काम गरेपछि घर खर्च चलाउने पैसा जम्मा गरी घर फर्कनु हुँन्थ्यो । तर अहिले उहाँलाई २÷४ लाखको खाँचो छैन् । विगत २० बर्षदेखि उहाँ गाउँ मैं व्यवसायीक गोलभेडा खेती गर्दै आउनु भएको छ ।
उहाँले ब्यावसायिक कृषि गर्न थालेपछि उहाँ मात्र होईन उनीयाचौरका ९ घरका दलित परिवार पनि रोजगारी खोज्न भारत जान छाडेका छन् । ब्यावसायिक गोलभेडा खेतीमा लागेपछि उनीहरु पनि भारत जान छोडेका हुन् । गाउँका सबै परिवारको मुख्य आम्दानी स्रोत अहिले गोलभेडा खेती बन्न पुगेको छ । अहिले यो गाउँमा घरलौरी व्यवसायीक गोलभेडा खेती गर्ने भेटिन्छन् ।
एकपटक गोलभेडा खेती गर्ने तरिका सिकाउन तालिम दिन मानिसहरु गाउँमा आउँदा आफूले गोलभेडा खेती गर्ने सिप सिकेको तर लगानी अभाबमा खेती सुरु गर्न नसकेको दलबहादुर सार्कीले बताउनुभयो । शुरुमा जयप्रसाद दाहाल र स्वर्गीय गगने सार्कीले हरेक दिन गोलभेडा खेती गर्न उत्पे्रणा दिएको कारण आफूले गोलभेडा खेती गर्न सुरु गरेको उहाँको भनाई छ । ब्यावसायिक गोलभेडा खेती गर्न सहकारीले ऋण दिएपछि आफूले ब्यावसायिक खेती सुरु गरेको उहाँले बताउनुभयो । त्यतिवेला स्थानीय सहकारीले व्यवसायीक खेती गर्न पत्याएकै कारण सबै दलित परिवार व्यवसायीक गोलभेडा खेतीमा लागेको उहाँको भनाई छ ।
हाल आफुले बार्षिक ३÷४ लाखको गोलभेडा उत्पादन गरेर बेच्ने गरेको उहाँले बताउनुभयो । उनीयाचौरमा दलित र गैर दलित गरेर ३० घर धुरी रहेका छन् । हरेक घरको आम्दानीका मुख्य स्रोत गोलभेडा खेती नैं हो । शुरुमा गोलभेडा खेती गरेपनि बजारसम्म डोकोमा बोकेर लैजाने गरेको बताउँछिन् अर्की किसान गीता लामिछाने। तर अहिले भने बारीमा नै लिन ब्यापारीहरु आउनाले विक्रीका लागि सहज भएको उहाँको भनाई छ । पछिल्लो समयमा बाहिरबाट आउने गोलभेडाले बजार भाउमा उतारचढाव हुने गरेकोले कहिले काहीँ कृषकहरुलाई मर्का पर्ने गर्दछ । उनियाचौरबाट बार्षिक २ करोड भन्दा बढिको गोलभेडा स्थानीय बजारमा जाने गरेको स्थानीय कृषकहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "गोल भेडाको गाउँ उनीयाचौर"

Leave a comment

Your email address will not be published.


*