गोठमै पुगेर ९ हजार बाख्रामा लगाइयो पिपिआर खोप

ईश्वर बिश्वकर्मा
चरिकोट, असार ५
दोलखाको मेलुङ गाउँपालिकाका किसानहरुले पालेका ९ हजार बाख्रालाई निशुल्क पिपिआर रोग बिरुद्धको खोप लगाइएको छ ।
नेपाल सरकारको पिपिआर उन्मुलन अभियानलाई समर्थन गर्दै रोगको जोखिम बढी भएका ७ वटै वडाको पशुपालक किसानहरुको गोठमै गई बाख्रामा पीपीआर रोग बिरुद्धको खोप लगाइएको हो ।
पीपीआर रोगका कारण बाख्रामा महामारीको रुप लिने र धेरै क्षती हुने भएकाले उक्त रोगबाट बचाउन पीपीआर खोप अभियान सञ्चालन गरिएको पालिकाका कृषि तथा पशुपन्छी शाखा प्रमुख राष्ट्रकुमार श्रेष्ठले बताए ।
पीपीआर रोगको बढी जोखिम भएका ठाउँमा पशुपालक किसानहरुको गोठमै गई करिब १२ जना पशुप्राविधिकहरुले पीपीआर खोप लगाउने कार्य गरेका थिए । पालिकाको पवटी, डाडाँ खर्क, घ्याङ लगायत विभिन्न स्थानमा बाख्रामा पीपीआर विरुद्धको खोप लगाइएको उनले बताए । व्यावसायिक रुपमा बाख्रा पालन गरिरहेका किसानलाई लक्षित गरेर खोप कार्यक्रम गरिएकोले किसानलाई बाख्रामा पिपिआर लाग्छ भन्ने डर कम भएको छ । चरिकोटमा अवस्थित भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले पालिकालाई पिपिआर विरुद्धको खोप उपलब्ध गराएको थियो । पारिश्रमिक तथा आवश्यक औजारको लागि पालिकाले १ लाख २५ हजार रुपैँया विनियोजन गरेको थियो । गत वर्ष पालिकाका १० हजार बाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाइएको पालिकाले जनाएको छ ।

Shares

Be the first to comment on "गोठमै पुगेर ९ हजार बाख्रामा लगाइयो पिपिआर खोप"

Leave a comment

Your email address will not be published.


*