गुम्यो पहिलो महिला मुख्यमन्त्री

अष्टलक्ष्मी शाक्य प्रदेश नं. ३ को पहिलो मुख्य मन्त्री हुने करिब पक्का जस्तै थियो । ७ वटा प्रदेश मध्ये महिलाले मुख्य मन्त्रीको दाबी गरेको ३ नं. प्रदेशमा मात्रै थियो । यो आधारमा पनि यसमा अरु आकांक्षी भए तापनि पार्टी नेतृत्वले हस्तक्षप गरेर भएपनि उनलाई मुख्यमन्त्री बनाउला भन्ने धेरैको अनुमान थियो । तर भयो ठीक विपरित सहमति हुन सकेन भन्ने निहँुमा एमाले भित्र निर्वाचन गराएर मुख्य मन्त्री हुने अवसर पार्टी नेतृत्वले नै गुमायो ।
३ नं. प्रदेशमा प्रदेश प्रमुख महिला नै छन् । नेकपा एमालेको एकल बहुमत भएको ३ नं. प्रदेशमा एमालेले जसलाई बनाउँन चाह्यो उही मुख्य मन्त्री हुने पक्का थियो । निर्वाचन अघि नै पार्टी उपाध्यक्ष समेत रहेकी शाक्यले दाबी गरेपछि स्वतः उही हुने धेरैले लख काटेका थिए । तर शनिबार भएको आन्तरिक चुनावले ५ वर्षका लागि महिला मुख्य मन्त्री हुने अवसर टरेको छ ।
३ नं. प्रदेशमा शाक्य सहित पुरुषहरुमा मुख्यमन्त्रीको दौडमा पशुपति चौलागाई, राजेन्द्र पाण्डे, अरुण नेपाल लगायतका नेताहरु थिए । यि सबै मैदानबाट बाहिरीए तापनि गुटकै कारण नयाँ मान्छे खडा गरेर उनलाई हराए ।
एमालेभित्र गुटबन्दी कति चरम रहेछ भन्ने कुरा शुक्रबार भएका निर्वाचनले पनि पुष्टि गर्छ । पार्टी एउटै भए तापनि भित्र गुटबन्दी फरक पार्टीको भन्दा भिन्न देखिएन । बाम गठबन्धन भित्र एमालेले पाएको ४ वटा प्रदेशको मुख्य मन्त्री मध्ये सबैमा संस्थापन पक्षले नै जित हाँसिल गरे । मुख्यमन्त्री र सभामुखमा फरक गुटका कोही पनि हुन सकेनन् ।
समावेशिता, महिला सशक्तिकरण, त्याग जस्ता नारा नेकपा एमालेले नै सबैभन्दा बढी लगाएकोे हो । नारामा जेजे लगाए तापनि अवसरमा त्यस्तो हुँदैन भन्ने कुरा प्रदेश नं. ३ को मुख्यमन्त्रीको अवसरले पनि पुष्टि गरेको छ ।
एमालेभित्र २ गुट स्पष्ट रुपमा देखिए तापनि महिला पनि एक तिहाइ मतदाता (प्रदेश सांसद) थिए । तर महिला सांसदहरुले पनि महिलाभन्दा बढी गुट नै प्यारो भएको देखियो । विषय अष्टलक्ष्मी मुख्य मन्त्री भइनन् भन्ने होइन । हुन लागेका मुख्य मन्त्री पनि योग्य, इमान्दार हुन् । तर हरेक पार्टीले बाहिर लगाउने नारा र व्यवहारमा फरक देखिनु भएन ।

Shares

Be the first to comment on "गुम्यो पहिलो महिला मुख्यमन्त्री"

Leave a comment

Your email address will not be published.


*