गुमु खोला पुल निर्माणले गति लियो

नवराज शिबाकोटी
करिब ५ वर्ष अघि देखि तामाकोशी नदीमा निर्माणाधिन गुमु खोला पुलको निर्माणले गति लिएको छ । भुकम्प, नयाँ खालको डिजाइन तथा अन्य विभिन्न कारणले ढिला गरी निर्माण शुरु भएको यो पुलको कंकृट आर्क ( पुलको विम) राख्ने काम सम्पन्न भएपछि पुल निर्माण कार्यले गतिलिएको हो ।
दुई तर्फको जिप निर्माण पछि पुल निर्माणमा कठिन मानिने कंकृट आर्कहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ । साथै पिल्लरको काम भइरहेको छ । रनिङ विलको भुक्तानी भएमा आव २०७६–७७ भित्रै पुलको सम्पुर्ण निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिने मुख्य निर्माण कम्पनी कन्काई इन्टर नेशनल विलडर्स प्रालि अन्तर्गत काम गरिरहेको रिमाल निर्माण सेवाका हेमराज रिमालले बताए ।
करिब ५ वर्ष अघि ८ करोडको लागतमा पुल निर्माण गर्न कन्काई इन्टर नेशनल विलडर्स प्रालि ले ठेक्का लिएको थियो । पुल निर्माण स्थलको दुवै तर्फ सडकको पहुँच समेत नभएको कारणले पुल निर्माण गर्न कठिन भएको थियो । । दोलखा सिँगटी सडक देखि पुल निर्माण स्थल सम्म करिब १२ सय मिटर सडक ट्याक खोले लगत्तै भुकम्प गएपछि सडक चिरा–चिरा परेको तथा नेपालको सन्दर्भमा आर्क बृज नयाँ प्रविधिमा आधारित भएकोले प्राविधिकहरु पनि अलमलमा परेको कारण निर्माणमा ढिलाई हुन गएको निर्माण कम्पनीको भनाई छ ।
रनिङ विलको समयमै भुक्तानी भएमा अर्थिक वर्ष २०७६–७७ भित्र निर्माण सम्पन्न गरी पुल हस्तान्तरण गरिने निर्माण कम्पनीको दावी छ ।
दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका र गौरिशंकर गाउँपालिकालाई जोड्ने यो पुलको निर्माण पछि दोलखाको गौरिशंकर गाउँपालिकाका जुँगु, झ्याँकु लगायतका उत्तरी भेगका लागि सदरमुकामसँगको दुरी छोट्टीने छ ।
नेपालकै नमूना पुल मध्येको एक गुमु खोला आर्क बृजको लम्बाई ६० मिटर रहेको छ । तुलनात्मक रुपमा आर्क बृज निर्माण गर्न कठिन भएपनि निक्कै बलियो र लामो समयसम्म टिकाउ हुने मानिन्छ । साथै यस्ता पुलको भारबहन क्षमता पनि बढी हुने प्राविधिकहरुको भनाई छ । यो प्रविधिमा पुलको विच भागमा नदीमा पिल्लर नराखिने हुनाले पुललाई बाढीको जोखिम पनि कम हुने बताइन्छ । नेपाली निर्माण ब्यावसायीले निर्माण गरेको यही प्रविधिको पहिलो पुल मुग्लीनमा निर्माण भएको छ ।

Shares

Be the first to comment on "गुमु खोला पुल निर्माणले गति लियो"

Leave a comment

Your email address will not be published.


*