नवराज शिवाकोटी
चरिकोटः जिरीमा रहेको गाई अनुबांशिक स्रोत केन्द्र चालु आर्थिक वर्षमा केन्द्रमा रहेका गाई तथा साँढे बहरको लिलाम विक्रीबाट करिब आठ लाख बढी राजस्व संकलन गर्न सफल भएको छ । हालै गरेको गाई तथा साँढेको लिलाम विक्रीबाट केन्द्र सो आम्दानी गर्न सफल भएको हो ।
संघिय सरकार मातहतको गाई आनुबांशिक स्रोत केन्द्र जिरीले हालै गरेको गाई तथा साँढेको लिलामीबाट कुल ८ लाख ४४ हजार रुपैयाँ राजश्व सङ्कलन गर्न सफल भएको केन्द्रका प्रमुख बरिष्ठ पशुविकास अधिकृत गोपाल गिरीले जानकारी दिनुभयो । लिलामीमा कुल अठार वटा गाई तथा उन्नाईस ओटा सांढेबहर राखिएको थियो । बढा–बढ प्रकृयाको आधारमा विक्री गर्दा केन्द्र उक्त परिमाणमा राजश्व सङ्कलन गर्न सफल भएको केन्द्र प्रमुख गिरीको भनाई छ ।
लिलाम विक्री पछि केन्द्रमा माउ गाई ६० वटा कोरली २० वटा तथा दुहुना ३५ वटागरी जम्मा १०५ वटा गाई रहेका छन् । दुहुना गाईहरुबाट दैनिक करिब चारसय लिटर दुध उत्पादन हुने गरेको केन्द्र प्रमुख गिरीको भनाई रहेको छ । उत्पादित दुध चालु आर्थिक वर्षमा सदरमुकाम चरिकोट स्थित गौरिशंकर डेरीले खरिद गर्ने गरेको डेरीका प्रोप्राइटर दिनेश बस्नेतले बताउनु भयो । केन्द्रमा हाल होलिस्टिन तथा जर्शी जातका गाईका अतिरिक्त कोरियाबाट ल्याइएको चारवटा उन्नत जातका कोरली गाईहरु समेत रहेका छन् ।
गाई मात्र नभई केन्द्रले उन्नत जातका बंगुरका पाठा–पाठी समेत उत्पादन गर्ने गरेको छ । ल्यान्डरेस तथा योर्क सायर जातका बंगुरका पाठा पाठी उत्पादन गरी केन्द्रले विक्री वितरण गर्ने गरेको केन्द्र प्रमुख गिरीले जानकारी दिनुभयो ।
गाई, बाच्छा, बंगुरका पाठाहरुको विक्री लगायतबाट गत आर्थिक वर्षमा केन्द्रले ९० लाख राजश्व संकलन गर्र्न सफल भएको थियो । यो वर्ष १ करोड राजश्व संकलन गर्ने लक्ष्य रहेको केन्द्र प्रमुख गिरीको भनाई छ ।
यो आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व उठने सम्भावना रहेको गाई आनुवांशिक स्रोत केन्द्र जिरीले जनाएको छ । २०१४ सालमा स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जिरी एकीकृत कृषि फर्मको रुपमा स्थापना गरिएको यो फर्म संघीय गणतन्त्र पछि २०७५ साल देखि गाई आनुबांसिक स्रोत केन्द्रको रुपमा सञ्चालन हुँदै आएको छ । फर्मको आफ्नै नाममा जिरीमा ८४ हेक्टर तथा रामेछाप जिल्लाको गर्जाङमा १२५ हेक्टर जग्गा रहेको छ । फर्मले जिरीमा गाई तथा गर्जाङमा बाछा बाछी र साँढे पाल्दै आएको गाई आनुवांशिक स्रोत केन्द्र जिरीले बताएको छ ।
Be the first to comment on "गाई विक्रीबाट आठ लाख बढी राजस्व संकलन"