खिम्ती खोलामा १८ सय मेगावाटको एउटै आयोजना

दीक्षण समाचार
जिरी, २७ मंसिर
दोलखा र रामेछाप सिमाना भएर बग्ने खिम्ती खोलामा एउटै आयोजना १ हजार ८ सय मेगावाटसम्म बन्न सक्ने देखिएको छ । दोलखाको जिरी नगरपालिका र रामेछापको गोकुलगंगा गाउँपालिकाको खिम्ती खोलामा बाँध बाधेर उक्त आयोजना बनाउन सकिने विद्युत विकास विभागको प्रारम्भिक संभाव्यता अध्ययनबाट देखिएको छ ।
विद्युत विकास विभाग आफैंले २ वर्षदेखि उक्त आयोजनाको प्रारम्भिक अध्ययन गरिरहेको छ । सुरुमा विभागले ५ सय मेगावाटसम्मको आयोजना बनाउन सकिन्छ कि भनेर अध्ययन थाले पनि पछिल्लो अध्ययनबाट १८ सय मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिने निष्कर्ष निकालेको छ । विभागका सिडिइ गोपी साहले उक्त आयोजनाको थप अध्ययन हुने जानकारी दिए ।

आयोजनाको अवस्था
विभागले पूर्व प्रारम्भिक संभाव्यता अध्ययन गरेको आयोजना लामो समयदेखि चर्चामा रहेको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाभन्दा सस्तो र बढी ऊर्जा उत्पादन हुन्छ । विभागको प्रारम्भिक अध्ययन अनुसार रामेछापको ठोसे बजारभन्दा डेढ किलोमिटर दक्षिण तर्फ २ सय मिटर बाँध बनाउनु पर्ने देखिन्छ ।
२ सय मिटर बाँध बनाउँदा समुन्द्र सतहदेखि पानीको सतह १९१५ मिटर हुन्छ । खिम्ती खोला हिममालबाट हिउँ पग्लेर आउँछ । आयोजनाको जलाधार क्षेत्रमा वार्षिक १५०० मिलिमिटरदेखि २ हजार मिलीलिटरसम्म औषत पानी पर्ने प्रारम्भिक अनुमान छ । पानीको जलाधार क्षेत्र २३८ वर्ग किलोमिटर रहेको छ । आयोजनाको डिजाइन डिस्चार्ज १५८ दशमलब ७९ क्यूमेक्स छ ।
आयोजना लागि २ वटा विकल्पमा विभागले अध्ययन गरेको छ । पहिलो विकल्प २४० मिटर हेड निकालेर विद्युत उत्पादन गर्दा वार्षिक २९८ दशमलब ६७ गिगाहर्ज ऊर्जा उत्पादन हुन्छ । यसबाट ३४० मेगावाटसम्म विद्युत उत्पादन गर्न सकिन्छ । यसका लागि करिब २ किलोमिटर हेडरेस सुरुङ निर्माण गरे पुग्छ ।
दोस्रो विकल्पमा १३२९ मिटर हेड निकालेर तामाकोसी नदी नजिकै विद्युत गृह बनाउँने । त्यसबाट १९६५ दशमलब ८४ गिगाहर्ज वार्षिक ऊर्जा उत्पादन हुन्छ । यसका लागि १९ किलोमिटर सुरुङ निर्माण गर्नु पर्छ । तर यसका लागि ५ सय मिटर मात्र प्रसारण लाइन बनाए पुग्छ ।
ऊर्जा मन्त्रालयले गत मंसिरमा जारी गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र तथा कार्ययोजना २०७२ मा ११ वटा जलाशययुक्त आयोजना १० वर्षमा निर्माण गर्ने उल्लेख गरेको छ । १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको सरकारले उक्त आयोजना पनि यही अवधीमा निर्माण गर्न समावेश गरेको छ ।
सरकारले १० वर्षमा निर्माण गर्ने गरी ५ हजार ३ सय ७३ मेगावाट आयोजना जलाशययुक्त आयोजना निर्माण गर्ने प्रस्ताव गरेकोे छ । दिर्घकालिन ऊर्जा संकट निवारणका लागि खिम्तीठोसे जलाशययुक्त आयोजना उपयुक्त हुने सांसद पशुपति चौलागाईले बताए । आयोजना निर्माणका लागि आवश्यक सडक र प्रशारण लाइन सहज सुविधा भएकाले यो आयोजना सबैभन्दा उपयुक्त हुने उनले बताए । “आयोजनास्थलसम्म भरपर्दो सडक छ, प्रशारण लाइन छ” उनले भने “स्थानीयलाई पनि धेरै विस्थापित गर्दैन, यसलाई सरकारले आउँदो बजेटमा व्यवस्था गरेर थप अध्ययन गर्नुपर्छ ।”

आयोजनाको स्थलगत अवस्था
आयोजना रामेछाप सदरमुकाम मन्थलीबाट ४० किलोमिटर र दोलखाको जिरीबाट १२ किलोमिटर टाढा छ । यसको आधारमा काठमाडौंबाट जिरी हुँदै जाँदा २० सय किलोमिटर र रामेछाप हुँदै जाँदा डेढ सय किलोमिटर मात्र टाढा छ ।
विद्युत विकास विभागले प्रारम्भिक अध्ययनका लागि परामर्शदाता समेत आव्हान गर्ने भएको छ । आयोजना अध्ययनको नेतृत्व गरेका विभागका सिडिइ गोपी साहले आयोजनाको चालु आर्थिक वर्ष भित्रै आयोजनाको प्रारम्भिक अध्ययन पूरा हुने र त्यसका आधारमा चाँडै विस्तृत अध्ययन प्रतिवेदनको तयारी सुरु हुने जानकारी दिए ।
आयोजनास्थल पुग्नका लागि १२ महिना यातायात चल्छ । जिरी र खिम्ती दुवैतर्फबाट गर्जाङसम्म कालोपत्रे समेत हुन सुरु भएकोे छ । नेपाल विद्युत प्राधिकरणले दोलखा र रामेछापमा उत्पादन भएका विद्युत प्रसारणका लागि फुलासीमा २२० केभी क्षमताको सब स्टेशन निर्माणाधिन छ । खिम्तीबाट ढल्केबर २२० केभी प्रसारण लाइन सुचारु छ भने खिम्ती काठमाडौं ४ सय केभी प्रसारण लाइन पनि निर्माण प्रक्रियामै छ ।
डुबान क्षेत्रको धेरै बस्ती उठाउनु नपर्ने र सडक, प्रसारण लाइन जस्ता पूर्वाधार पूरा भएकाले आयोजना आकर्षक हुने सांसद चौलागाईको भनाइ छ । विभागको अनुसार आयोजनाबाट गोकुलगंगा गाउँपालिका वडा नं. १ मा निर्माण भएको ३ मेगावाटको चाकेखोला र निर्माणाधिन ७ मेगावाटको खिम्ती २ को विद्युत गृह समेत डुबानमा पर्नेछन् ।
खिम्ती खोला जलविद्युत उत्पादनका लागि महत्वपूर्ण मानिन्छ । मुलुककै पहिलो सबैभन्दा ठूलो ६० मेगावाटको खिम्ती १ जलविद्युत केन्द्रले १६ वर्षदेखि विद्युत उत्पादन गरिरहेको छ । खिम्ती खोलामै हिमालयन ऊर्जा विकास केन्द्रले १९ मेगावाटका २ वटा आयोजना निर्माणाधिन अवस्थामा छन् । यि आयोजना अन्तिम चरणमा पुगेका छन् । त्यसैगरी ४८ मेगावाटको खिम्ती २ पनि निर्माण सुरु भएको छ । खिम्ती खोलाकै करिडोरमा चाके खोलाले डेढ वर्षदेखि ३ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ ।

 

Shares

Be the first to comment on "खिम्ती खोलामा १८ सय मेगावाटको एउटै आयोजना"

Leave a comment

Your email address will not be published.


*