दोलखालीले खानी खोलामा पनि सेयर लगानी गर्न पाइने

दीक्षण समाचार
चरिकोट, २० पुस
ग्रीन लाइन हाइड्रो पावर कम्पनीले स्थानीयका लागि सेयर निष्कासन गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट दोलखामा निर्माणाधीन ४० मेगावाटको खानीखोला–१ जलविद्युत आयोजनाको स्थानीका लागि छुट्याइएको सेयर निष्कासन गर्न स्वीकृति पाएको हो ।
बोर्डको स्वीकृति अनुसार कम्पनीले आयोजना प्रभावित स्थानीय र दोलखालीका लागि सेयर निष्कासन गरेर बाँडफाँड गर्ने कम्पनीका कार्यकारी निर्देशक भुषण थापाले जानकारी दिए । बोर्डले मंगलबार शेयर जारी गर्न अनुमति दिएको हो ।
उनका अनुसार बोर्डको स्वीकृतिपछि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न पठाइएको छ । आवश्यक प्रक्रिया पूरा गरेर अबको एक महिनाभित्र सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । कम्पनीले निष्कासन गर्न लागेको सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो ।
स्थानीयको सेयर बाँडफाँडपछि सर्वसाधारणका लागि पनि १० प्रतिशत अर्थात १८ लाख कित्ता सेयर निष्कासन गरिनेछ । सेयर निष्कासन गरेर बाँडफाँड गर्न काठमाडौं क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले दोलखामा निर्माण गरिरहेको आयोजना अन्तिम चरणमा पुगेको छ । ९२ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाबाट चालु वर्ष्भित्र विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना दोलखाको उच्च हिमाली क्षेत्रमा पर्दछ ।
गौरीशंकर गाउँपालिका वडा नं. ७ मार्बूमा पर्ने आयोजनाको सेयर गौरीशंकर गाउँपालिका, विगू गाउँपालिका र कालिञ्चोक गाउँपालिकाबासीले लगानी गर्न पाउँछन् । गौरीशंकर गाउँपालिका भित्र निर्माणाधिन तल्लो खारे खोलाको यसनिभर्सल पावर कम्पनीले पनि स्थानीयका लागि सेयर संकलन गरिरहेको छ ।

कस्तो छ आयोजना

खानी खोला १ उच्च हिमाली भेगमा निर्माणाधिन आयोजना हो । जहाँ ६ महिना पनि काम गर्न सकिन्न । तर यस्तो ठाउँमा केही युवा मिलेर ४० मेगावाटको जलविद्युत आयोजना बनाउँदैछन् । आयोजनाको हालसम्म ९२ प्रतिशत काम पूरा भएको छ ।
सुरुङ भित्र तापक्रम पुग्ने भएकाले मेसिन जडान लगायतको काम जारी छ । आयोजनाको हेडवक्स(बाँध, इन्टेक, पानी थिग्रयाउने पोखरी) को काम गर्ने ठाउँमा मंसिरदेखि मध्ये फागुनसम्म हिउँ तुसारो र हिउँ जम्ने हुनाले काम गर्न सकिन्न ।
आयोजनाको काम ७ वर्ष अघि सुरु भएको हो । काम सुरु गर्न आयोजनाको प्रबद्र्धक कम्पनी ग्रिनलाइफ इनर्जी प्रालिले भार्लेदेखि पावर हाउस कोप्लाङसम्म ३० किलोमिटर सडक आफैंले निर्माण गरेको छ । त्यहाँबाट सामान ढुवानीका लागि हेडवक्ससम्म रोप वे निर्माण गरेको छ । सरकारले निर्माण गर्न लागेको लादुक र सुरी जोड्ने तामाकोसी नदीमा पुलको काम ढिला भएपछि आफैंले बेलिब्रिज हालेको छ ।
आयोजनाले तामाकोसी सहित, गुरुम्फि, घट्टेखोला लगायत ४ ठाउँमा बेलिब्रिज हालेको छ । जसले स्थानीयलाई समेत सहज भएको छ । तर सरकारले आयोजनाको काम सुरु हुनु अगावै ठेक्का लगाएको भोर्लेमा तामाकोसीमाथिको पुल र घट्टे खोलाको पुल कहिले पूरा हुने अझै टुङ्गो समेत छैन ।
आयोजना साविक मार्बू ९ को खानी खोला र हनबू खोलाको दोभानमा पर्छ । त्यहाँ भूमिगत रुपमा पावर हाउसको काम भइरहेको छ । खानी खोलालाई फर्काएर साँढे २ किलोमिटर हेडरेस सुरुङ निर्माण गरी पावर हाउससम्म ल्याइने छ ।
आयोजनाको ग्रस हेड ९ सय ९३ मिटर छ । आयोजनाको प्रबद्र्धक ग्रिन लाइफ इनर्जी प्रालिका निर्देशक भुषण थापाले अहिले पावर हाउस भित्र मेसिन जडान र प्रसारण लाइनको काम जारी रहेको जानकारी दिए । निर्देशक थापाका अनुसार पहिलो चरणमा खानी खोलाको पानी फर्काएर २५ मेगावाट विद्युत उत्पादन गरिने छ । दोस्रो चरणमा हनबू खोलाको पानी फर्काएर हेडवक्समा खसालेपछि थप १५ मेगावाट थप हुनेछ । तर आयोजनाको हेडवक्स, सुरुङ, पावर हाउस सबै ४० मेगावाटकै लागि तयार भएका छन् ।
‘भुकम्प नगएको र प्रसारण लाइन भएको भए २ वर्ष अघि नै आयोजना पूरा भइ सक्थ्यो’ उनले भने ‘तर भुकम्प र नाकाबन्दीका कारण डेढ वर्ष काम गर्नै सकिएन, प्रसारण लाइनकै कारण ढिला भएको आयोजना अब आयोजना २०७६ असारसम्म पूरा गर्ने लक्ष्य छ ।
आयोजनाले सडक निर्माणपछि लगत्तै आयोजनाको काम सुरु गरेको हो । हिउँदको चिसोमा हिउँ र तुसारोले काम गर्न सकिन्न । बर्खा लागेपछि बाढी र पहिरोले सडकै बगाउँने भएकाले काम गर्न सकिन्न । काम गर्ने मौसम भनेको असोज, कात्तिक, मंसिर मध्येसमम्म र फागुन मध्येदेखि जेठसम्म मात्र हुन्छ ।
आयोजनामा प्राइम बैंक, नविल, सिटिजन्स लगायत ९ वटा बैंकले ऋण लगानी गरेका छन् । कुल ४ अर्बको अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत संस्थापक लगानी रहेको छ । आयोजनामा विदेशमा गएर अध्ययन गरेर फर्केका युवा उद्यमीहरु संलग्न छ । आयोजनाबाट उत्पादित विद्युत ३९ किलोमिटर लामो प्रसारण लाइन बनाएर सिंगटी सवस्टेशनमा जोडिने छ । तर सिंगटी सब स्टेशन बन्न ढिला भएकाले आयोजनाको काम पनि ढिला भएको हो ।
विद्युत प्राधिकरणले सिंगटी सब स्टेशन र सिंगटी लामोसाँघु प्रसारण लाइनको काम समयमा नगरेपछि स्थानीय प्रबद्र्धकहरुले भारतीय ठेकेदार कम्पनीसँग समन्वय गरेर आफैं बनाउने तयारी गरेका छन् । ग्रिन लाइफले सडक लगायतका पूर्वाधार तयार गरेपछि त्यसभन्दा तल ३० मेगावाटको खानी खोला, ५ मेगावाटको घट्टे खोला, २५ मेगावाटको खारे खोला, ११ मेगावाटको तल्लो खारे खोला, ७ मेगावाटको सुरी खोला र ७ मेगावाटको माथिल्लो गुरुम्फी खोला आयोजना समेत निर्माणाधिन छन् ।

Shares

Be the first to comment on "दोलखालीले खानी खोलामा पनि सेयर लगानी गर्न पाइने"

Leave a comment

Your email address will not be published.


*