खाडीचौर–चरिकोट सडकको पहिलो प्याकेजको काम रोकियो

श्रृजनकुमार घिमिरे
चरिकोट, १० पुस
खाडीचौर–चरिकोट सडकमा विस्तारको कामको पहिलो प्याकेजको काम रोकिएको छ । निर्माण व्यवसायीले पहिलो प्याकेजको खाडीचौरदेखि सुरु गरेको सब बेस विच्छ्याउने काममा गुणस्तरहिन सामाग्री प्रयोग गरेको भन्दै काम रोकेको हो ।
सडक विस्तार आयोजनाका आयोजना प्रमुख समेत रहेका सडक डिजिन प्रमुख धर्मेन्द्रकुमार झाले गुणस्तरीय सामाग्री प्रयोग गर्नका लागि तत्काल काम रोकेको जानकारी दिए । “नाली र अरु संरचनाको काम जारी रहेको छ” उनले भने “गुणस्तरीय सामाग्रीय प्रयोग नभएको देखिएपछि काम रोक्न ठेकेदारलाई निर्देशन दिएका छौं ।” सडक ६ महिनादेखि अलपत्र अलपत्र सडक एक महिना अघिदेखि कामले गति लिन थालेको थियो ।
सडक बन्द हुँदा हुँदा यात्रा लामो हुनुका साथै काठमाडौं पुग्न रामेछाप पुग्नु पर्ने बाध्यता थियो । २ प्याकेजमा विस्तार भइरहेको ५५ किलोमिटर सडकको काम दसैं तिहार जस्ता चाडबाड सकिए लगत्तै तिब्र गतिमा भइरहेको छ । सडकका वर्षात्मा गएको पहिरो पञ्छाउने र विग्रेका संरचनामा पुनः निर्माणका कामसँगै सडकको ग्रेड मिलाउँदै बेस विच्छ्याउने काम सुरु भएको हो ।
पहिलो खण्डको जिम्मा पाएको निर्माण कम्पनीको काम २४ महिनामा पूरा हुने गरी २०७२ भदौमा सम्झौता भए तापनि समयमा काम नसकिएपछि एक वर्ष म्याद थप भएको थियो । त्यो म्याद पनि सकिएको ३ महिना वितेको छ । आयोजना प्रमुख झाले अब पहिलो प्याकेजको निर्माण व्यवसायीले म्याद नथपिएकाले हर्जना तिर्नु पर्ने बताए ।
पहिलो प्याकेजको खाडीचौरदेखि मुडेसम्म २५ किलोमिटरमा भारतीय कम्पनी सिमाञ्चल, नेपाली कम्पनीहरु गौरीपार्वती र सुनौला खिम्तीले संयुक्त रुपमा ठेक्का पाएका छन् । पहिलो प्याकेजको काम ३९ करोड २६ लाख ५२ हजारमा सम्झौता भएकोमा ६० प्रतिशत भुक्तानी भइसकेको छ ।
पहिलो प्याकेजमा नेपाली निर्माण कम्पनीको आधिकारिक प्रतिनिधि सुनौला खिम्तीका कार्यकारी निर्देशक धर्मराज भण्डारी भए तापनि उनले डेढ वर्षदेखि काम नगर्दा सडक अलपत्र परेको थियो । उनलाई प्रहरीले काम नगरेपछि गत जेठमा पक्राउ गरी समयमा काम पूरा गर्ने सर्तमा छाडेको थियो । पछिल्लो सयमा गौरीपार्वतीले कामको जिम्मा लिएर गरिरहेको छ ।
दोस्रो प्याकेजको कामको भने अहिले मुुडेदेखि हलहलेसम्मको क्षेत्रमा ग्रेड मिलाउने र सब वेसकै काम जारी छ । तर दोस्रो प्याकेजको काम पनि सन्तोषजनक छैन । अहिले दोस्रो प्याकेजको बेसका लागि क्रसर चलाउन विद्युत जोड्ने काम सकिएको छ । दोस्रो प्याकेजको मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटरको लागि भारतिय कम्पनी सकिल हैदर संगथको साझेदारीमा शंकरमाली, सुनौला खिम्ती नेपाली कम्पनीले ठेक्का जिम्मा पाएका हुन् । ७० करोड ७० लाख ३४ हजारमा ठेक्का सम्झौता गरेको छ ।
दुवै प्याकेजमा सुनौला खिम्ती कन्ट्रक्सनले जेभीमा काम गरेको थियो । पहिलो प्याकेजमा पूरै र दोस्रो प्याकेजमा १५ किलोमिटर काम उसैले गर्दै आएको थियो । कम्पनीको आर्थिक अवस्था बिग्रिएर टाट पल्टेपछि दुवै प्याकेजको काम गरेको बील वापतको भुक्तानी पनि आन्तरिक राजश्व कार्यालयले रोक्का राखेपछि काममा थप समस्या आएको थियो । अहिले अदालतको आदेशबाट सम्बन्धित कम्पनीको बाहेक अरुको खाता फुकुवा गर्ने आदेशपछि कामले गति पाएको हो ।
सडकका ग्राभेल विच्छ्याएर सडक खाल्डाखुल्डी रहित हुन थालेपछि यात्रा पनि छोटिन थालेको छ । “विगतमा चरिकोटदेखि काठमाडौंसम्मको यात्रा ८ घण्टा न्यूनतम लाग्ने गथ्र्यो” बस चालक केशब श्रेष्ठले भने “अहिले दुवै प्याकेजमा काम थालेकाले यात्रा एक घण्टा छिटो भएको छ, कामको गतिसँगै सडक राम्रो हुँदै जाँदा अझैं समय घट्छ ।” तर दुवै प्याकेजको काम सुस्त भएपछि आयोजनाले दुवै ठेकेदार र परामर्शदातालाई छलफलमा बोलाएको छ ।
स्वीस सरकारको सहयोगमा २०४३ सालमा खाडीचौरदेखि जिरीसम्मको ११० किलोमिटर सडक बनेको हो । एक लेनको सडक अहिले सवारीको चापसँगै साँघुरो भएपछि भारतीय एक्जिम बैंकको ऋण सहयोगमा विस्तार भइरहेको छ ।

Shares

Be the first to comment on "खाडीचौर–चरिकोट सडकको पहिलो प्याकेजको काम रोकियो"

Leave a comment

Your email address will not be published.


*