क्रिकेट विवादले निकास पाउँदै, विचाराधीन मुद्दा फिर्ता लिइने

काठमाडौं । लामो समयको विवादमा रहेको नेपाली क्रिकेट पछिल्लो समय ‘अण्डा पहिले की कुखुरा’ भन्ने प्रश्नमा अल्झिएको थियो । तर नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित पक्षले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा फिर्ता लिने प्रकृया अगाडि बढाएपछि नेपाल क्रिकेटले निकास पाउने संकेत गरेको छ ।

क्यानका उपाध्यक्ष दिवाकर घलेले आईसीसी  र अन्य सरोकारवालाहरुसँगको छलफलमा गरेको प्रतिवद्धताअनुसार अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा फिर्ता लिने प्रकृया अघि बढाइएको भन्दै क्रिकेटको सर्वोच्च निकायले गरेको निलम्बन चाँडै फुकुवा हुने विश्वास व्यक्त गरेका छन् ।

“कानुनी र व्यवहारिक प्रकृयाबारे छलफल गरी मुद्दा फिर्ता लिने सम्बन्धमा निर्णय गर्न हामीले कात्तिक १० गते क्यान निर्वाचित समितिको बोर्ड बैठक बोलाएका छौं,” नेपाली क्रिकेटलाई निलम्बनबाट मुक्त बनाउने प्रकृया अन्तिम चरणमा पुगेको भन्दै उपाध्यक्ष घलेले थपे, “विश्वास छ, हाम्रो यो प्रयासले नेपाली क्रिकेटको निलम्बन फुकुवा प्रकृया अझ सहज हुनेछ । यो अवस्थामा सरोकारवाला सबैलाई सहयोगी भूमिका निर्वाह गरिदिन अनुरोध गर्दछु ।”

क्यान विवाद समाधानका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बनाएको स्वतन्त्र समितिले क्यानलाई अदालतको मुद्दा फिर्ता लिन र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई तदर्थ समिति भंग गर्न भनेको थियो । यो मुद्दाले समग्र प्रकृयामा असर नगर्ने क्यानले बताउँदै आएको थियो भने राखेपले तदर्थ समितिको समय थप नगरिएका कारण त्यसको अर्थ नरहने भन्दै आएको थियो ।

उपाध्यक्ष घलेले क्यान विवाद समाधानका लागि आफुहरुले सधैँ रचनात्मक भुमिका खेल्दै आएको बताए ।

“हामी सधैँ जिम्मेवार र सहयोगी भूमिकामा प्रस्तुत भईरहेका छौं । सुरुआतबाट नै आईसीसीले गठन गरेको सल्लाहकार समूह र मनिटरिङ कमिटीमा सहभागी भएर मात्र हैन, परिमार्जित विधानलाई विशेष साधारण सभाबाट हुबहु पारित गरेर नेपाली क्रिकेटलाई निलम्बन मुक्त बनाउने प्रकृयामा सहयोग पुर्याइरहेका छौं,” घलेले भने, “हाम्रै जिम्मेवारीपूर्ण र रचनात्मक सहयोगका कारण पुरानो विधानलाई संशोधन गरी जिल्ला निर्वाचनसमेत सम्पन्न भइसकेको अवस्था छ । हाल परिमार्जित विधानअनुसार गठन भएको पाँच सदस्यीय मनिटरिङ कमिटीले जिल्ला निर्वाचनको अध्ययन गरिरहेको छ । मनिटरिङ समितिले प्रतिवेदन बुझाएपछि सम्पन्न हुने प्रदेश र केन्द्रको निर्वाचनसँगै आईसीसीले क्यानमाथिको निलम्बन फुकुवा गर्ने हाम्रो विश्वास छ ।”

Shares

Be the first to comment on "क्रिकेट विवादले निकास पाउँदै, विचाराधीन मुद्दा फिर्ता लिइने"

Leave a comment

Your email address will not be published.


*