क्यान्सर र विश्व क्यान्सर दिवसको सन्दर्भ

डा . जानुका न्यौपाने
विश्वभर हरेक वर्ष फेबु्रअरी ४ का दिन क्यान्सर दिवश मनाइन्छ । यो दिवश नेपाल सहित विश्वभर मनाईन्छ । तर, नेपालमा हाल लगभग ३२ हजार क्यान्सरका बिरामी छन् भन्ने तथ्यांक सार्वजनिक भएको छ । यस वर्षको दिवशको विश्वव्यापी मूख्य नारा ‘क्लोज द केयर ग्याप’ भन्ने रहेको थियो । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नारासहित यही शुक्रबार यो दिवश मनाइएको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२१ मा मात्र लगभग २ करोड मानिसमा क्यान्सर देखिएको छ भने क्यान्सरकै कारण १ करोडको मृत्यू भएको तथ्यांक सार्वजनिक गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्ष क्यान्सर बारेका गलत बुझाईलाई हटाइ सचेतना र शिक्षा बढाउन आग्रह गरेको छ । साथै विश्वभर यस रोगको रोकथाम र उपचारमा पहुँच बढाउन सम्बन्धित निकायहरुमा प्रोत्साहन गर्न पनि अनुरोध गरेको छ । क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौं’ भन्ने नाराका साथ यसवर्ष विश्व क्यान्सर दिवश मनाईँयो भने नेपालमा पनि क्यान्सर अस्पतालले विभिन्न सचेतनात्मक कार्यक्रम गरी यो दिवश मनाएका छन् । नेपालमा पछिल्ला वर्षहरुमा क्यान्सरको विषयमा सचेतना बढ्दै गएको अनुभूति भएको छ । पहिला क्यान्सर रोग लागेपनि पहिचान र उपचारको सुविधा निकै कम थियो । जसका कारण धेरैको रोग पहिचान नै नभइ मृत्यू हुने अवस्था थियो । तर अहिले क्यान्सर पहिचान र उपचारमा पहुँच बढ्दै गएको क्यान्सर विज्ञहरुको भनाई पाइन्छ । नेपाल सरकारले क्यान्सरको लागि औषधी उपचारमा सुविधा समेत दिएको छ । त्यसकारण पनि अति विकट, दुरदराजका मानिसहरु पनि उपचारका लागि केहिहदसम्म सचेत भएको पाईन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा ३२ हजार क्यान्सरका बिरामी छन् भन्ने तथ्य पाइएको छ । तर, दुरदराज, विकट गाउँतिर कति बिरामी रोग नै पहिचान नभएर बसेको अवस्था पनि विद्यमान छ । हरेक वर्ष लाखौं मानिसहरुको क्यान्सरका कारणले मृत्यू हुने संख्यालाई कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतुले फब्रुअरी ४ का दिन क्यान्सर दिवश मनाईन्छ । हामीमध्ये धेरैले विभिन्न प्रकारका क्यान्सरको कारणले आफन्त, साथीभाइ र छिमेकी गुमाएको, सुनेको, देखेको हुनु पर्छ । क्यानसर वास्तवमै हामी मानिसहरुको लागि एउटा दुर्भाग्य सावित भएको छ । खर्च, पीडा र यससंगको लडाईको संघर्षले गर्दा । जसले धेरै जीवनलाई मृत्यूसम्म घिसारिरहेको छ भने धेरै मानिसहरु क्यान्सरसंग जुधिरहेका, लडिरहेका छन् । हरेक वर्ष यस दिवशको दिन यी सबैलाई हौसला अनि मृत्यू भएकालाई श्रद्धाञ्जली दिने दिवस पनि हो । यस दिवशको दिन विभिन्न क्रियाकलापहरुका माध्यमबाट क्यान्सरका विभिन्न स्वरुप विरुद्धको जागरण कसरी फैलाउन सकिन्छ भनि नेपालमा मात्रै हैन विश्वस्तरमै छलफल गरिन्छ । तर, यो वर्षमा एकदिन मात्र नभई हरेक दिन निरन्तर चेतनामूलक कार्यक्रम गरी समयमा परीक्षण गराउन उत्साह थप्नु जरुरी छ । क्यान्सर भनेको शरीरको कोष वा कोषिकाहरुको समूहको अस्वभाविक वृद्धि नै क्यान्सर रोग हो । जसलाई एक किसिमको गिर्खा वा ट्युमर भनिन्छ । ट्युमर पनि विभिन्न किसिमका हुन्छन् भनिन्छ । जस्तै ः घातक प्रवृत्तिको ट्युमर, यसको उग्र अस्वभाविक वृद्धिका कारण यस ट्युमरलाई क्यान्सर भनिएको हो । यो ट्युमर शरीरको अन्य भागमा पनि फैलिएर जानसक्छ । अर्को नम्र प्रवृत्तिको ट्युमर यसले कुनै पनि हानी गर्दैन र शरीरका अन्य भागमा पनि फैलिँदैन । क्यान्सरका पनि विभिन्न कारक तत्वहरु हुन्छन् जस्तै ः अत्याधिक मद्यपान र धु्र्रमपान, अस्वस्थ आहार, वंशांणुगत कारण, विकिरणको प्रभाव, जीवाणुका कारण, वातावरणीय प्रदुषण आदि लगायतका गलत व्यवहार र तत्वहरुले मानव शरीरमा क्यान्सर जस्तो समस्याले दुःख दिन्छ । क्यान्सर शुरु हुने कारण भए जस्तै क्यान्सरबाट बच्ने उपायहरु पनि छन् ः अहिले विश्वमा विभिन्न खालका क्यान्सर रोगहरु देखिएका छन् । जुनसुकै प्रकारका क्यान्सर रोग देखिए पनि यसबाट बच्न विभिन्न उपायहरु अवलम्वन गर्न सकिन्छ । जस्तै ः मद्यपान तथा ध्रुमपान नगर्ने, सकेसम्म शाकाहारी र सन्तुलित भोजन गर्ने, चर्को नुनको प्रयोग नगर्ने, धुवाँमा सेकाएको मासु कम खाने, चिल्लो पदार्थ, ढुसी परेको बासी खानेकुराहरुको प्रयोग कम गर्ने, नियमित व्यायाम गर्ने, सरसफाईमा विशेष ध्यान दिने, नियमित स्वास्थ्य परीक्षण गर्ने आदि कार्यमा सचेत रहेमा क्यान्सर नहुन पनि सक्छ । क्यान्सरबाट हुनै नदिने उपायसँगै शुरु भएपछि नियन्त्रणका उपायहरु पनि छन् भन्छन् क्यान्सर विशेषज्ञहरु । जस्तै ः सम्भावित लक्षणहरु देखापर्न साथ चिकित्सकसँग सम्पर्क राख्ने । वर्षेनी नियमित रुपमा शरीरको पूर्ण परीक्षण गर्ने, रोग पुष्टि भएमा चिकित्सकहरुको सल्लाह बमोजिमको उपचार गर्ने, उपचार विधि र त्यसको महत्वबारे आफू बुझ्ने र अरुलाई पनि जनचेतना फैलाउने र रोग नियन्त्रणमा सहयोग गर्ने । क्यान्सर कस्तो रोग हो त भन्ने बारेमा धेरैलाई थाहा पनि छ । क्यान्सर भन्नेवित्तिकै आत्तिने समय पनि थियो पहिले । नेपालमा क्यान्सर पहिचान गर्ननै कठीन थियो । तर, अहिले आत्तिहाल्नु हुँदैन । र, शुरुवातमा नै पहिचान हुनसकेमा क्यान्सर निको हुन्छ । महिलाको स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर र पाठेघरको क्यान्सर शुरुमा नै पहिचान गर्न सकियो भने निको हुन्छ । अन्य क्यान्सर पनि शुरुको अवस्थामा नै पत्ता लागेर उपचार गर्दा निको हुने सम्भावना ९५ प्रतिशतसम्म हुन्छ । यस्तै अन्तिम अवस्थामा क्यान्सर पत्ता लाग्यो भने ४–५ वर्षको हिसाबमा १२ देखि १३ प्रतिशतसम्म निको हुने सम्भावना हुन्छ भन्ने पनि प्रमाणित भइसकेको छ । विश्व स्वास्थ्य संगठनले क्यान्सरको लक्षण मुख्य ७ वटा छन भनेको छ । सर्व प्रथम आफूलाई क्यान्सर भएको आशंका लागेमा चिकित्सककोमा जान ढिलाई गर्नु हुँदैन, निको नहुने खोकी लागिरहने, स्वर धाद्रो हुने, स्तन वा शरीरमा गिर्खाहरु आउने, शरीरको कुनै ठाउँबाट रगत बग्ने, निको नहुने घाउ हुने, कालो कोठीहरु आउने, अपच हुने, दिशा सामान्य नहुने जस्ता लक्षण लामो समयसम्म देखिएमा क्यान्सरको शंका गर्न सकिन्छ । नेपालमा विशेषगरी फोक्सोको क्यानसर भएका विरामी धेरै छन् । पुरुषहरुमा सबैभन्दा बढी फोक्सो, पेट, प्रोस्टेट, हड्डी र रगतको क्यान्सर बढी हुने गरेको पाइन्छ भने महिलाहरुमा पाठेघर र स्तन क्यान्सर बढी हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले बताएको छ । त्यसैगरी क्यान्सरको उपचारात्मक स्वास्थ्य विज्ञानलाई ‘ओकोंलोजी’ भनिन्छ भने नेपालीमा क्यान्सरलाई अर्बुदरोग भनिन्छ । समयमै पहिचान हुनसकेमा धेरै हदसम्म क्यान्सरको रोकथाम गर्न सकिन्छ । क्यान्सरको उपचारका लागि औषधी र विकिरणहहरु प्रयोग गरी जहाँको क्यान्सर भएको हो त्यो ठाउँमा सेक्ने पनि गरिन्छ । यस्तो पद्धतिलाई ‘केमोथेरापी’ भनिन्छ र केमो गर्दा विरामीहरुको अधिकाँश कपाल झर्ने भएकाले आज संसारभरिका मान्छेहरुले आफ्नो कपाल काटेर क्यान्सर पीडितलाई पूर्नप्रयोगका लागि दान दिने र सामाजिक सञ्जालमा पनि कपाल विनाकोतस्वीर राखेर क्यान्सर विरुद्धको ऐक्यवद्धता जनाउने चलन पनि शुरुवात भएको छ । हामी नेपालीहरु समय समयमा स्वास्थोपचारका लागि निरोधात्मक शैलीको जाँच नगराउने गरेकाले पनि क्यान्सरको जोखिममा धेरै छौं । बिरामी भएर मात्र उपचारमा जाने बानीलाई त्याग गर्दै समय समयमा उपचार गर्न जरुरी छ । अर्कोतर्फ नेपालमा स्वास्थ्य उपचार भन्नेवित्तिकै झण्झटिलो र खर्चिलो छ र त्यसैगरी हेर्छौ हामी पनि । तर नेपालभर रहेका सरकारी असपतालमा या स्वास्थ्य केन्द्रमा भने सहज उपचार गराउन अनि जाँच गराउन सम्भव छ, अहिले, जुन त्यति खर्चिलो पनि छैन । थोरै दुःख सहित आफ्नो स्वास्थ्यका लागि सचेत हुनु पर्छ । थाहा छ ? विभिन्न अध्ययनका अनुसार संसारभरि क्यान्सरले गराउने मृत्यूको कूल २२ प्रतिशत सूर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना नखाएर÷खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित व्यायामको कमीका कारणले क्यान्सर हुने गरेको पाईन्छ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि,सी, अनि “ह्यूमन प्यापीलोमा” भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ । केही क्यान्सरहरु भने पुस्तैनी रुपमै आउने हुन्छ जुन कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् । त्यसकारण सूर्तिजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूलअनि तरकारी खाने बानी गरेर अनि घामबाट बचेर क्यान्सरको जोखिम न्यूनिकरण गर्न सकिन्छ भन्ने स्वास्थ्य तथा क्यान्सर विज्ञहरुको भनाईलाई आत्मसात गरौं । स्वास्थ्य नै धन हो भन्दै दीर्घ अनि स्वास्थ्यवद्र्धक जीवनको सबैमा शुभकामना ।

Shares

Be the first to comment on "क्यान्सर र विश्व क्यान्सर दिवसको सन्दर्भ"

Leave a comment

Your email address will not be published.


*