कोरोना रोकथाममा सक्रिय दोलखाका राजनितिक दल

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ९
दोलखाका राजनितिक दलका नेता तथा कार्यकर्ताहरु कोरोना रोकथाममा सक्रिय भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता कोरोना भाइरस फैलन नदिन सक्रिय भएका हुन् ।
नेकपा दोलखाले बैशाख १ मा बैठक बसी जिल्लाभरका नेता तथा कार्यकर्ताहरु परिचालन गर्ने निर्णय गरेको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि ६ सदस्यिय अनुगमन समिति गठन गरिएको नेकपा दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले बताए । त्यसैगरी ९ वटै स्थानीय तहमा समेत गाउँपालिका तथा नगरस्तरीय अनुगमन समन्वय समिति गठन गरिएको उनले बताए । उक्त समितिले विभिन्न स्थानमा बनेका क्वारेन्टाइन तथा आइसोलेशन, पुर्व तयारीको अवस्था, राहत वितरण तथा सहयोग लगायत कोरोना रोकथामका लागि पुर्व तयारीको अनुगमन गरि प्रर्याप्त नभए थप व्यवस्थित बनाउन सुझाव दिने कार्य भईरहेको नेकपा दोलखाले जनाएको छ । जिल्ला स्तरीय अनुगमन समन्वय समितिले जिल्लाको जिरी नगरपालिका, तामाकोशी, कालिञ्चोक, मेलुङ, विगु र गौरीशंकर गाउँपालिकामा कोरोना महामारी रोकथाममा भएको पुर्व तयारीको अनुगमन गरि पालिका तहका समितिलाई सबै वडामा अनुगमन गरि तयारी प्रभावकारी बनाउन सुझाव दिएको नेकपा दोलखाले जनाएको छ । नेपाली काङ्ग्रेस दोलखाले जिल्लाका सबै वडामा पुर्व तयारी, सचेतना लगायतको अभियानमा जुट्न जिल्ला तथा वडाका सबै पार्टी संयन्त्र परिचालन गर्ने जनाएको छ । आइतबार अपिल पत्र सार्वजनिक गर्दै स्थानीय तहमा कोरोना रोकथामका लागि भएका प्रयास र पुर्व तयारीबारे जानकारी लिइ व्यवस्थित बनाउन सबै जनप्रतिनिधिहरुलाई आग्रह गरेको छ । कोरोना प्रभावितलाई राहत वितरण गर्दा निष्पक्ष रुपमा पारदर्शी ढंगले लक्षित नागरिकले पाउने गरि मापदण्ड बनाउन नेपाली काँग्रेस दोलखाले अपिल
गरेको छ ।

Shares

Be the first to comment on "कोरोना रोकथाममा सक्रिय दोलखाका राजनितिक दल"

Leave a comment

Your email address will not be published.


*