कोरोना मुक्त बन्यो दोलखा

ईश्वर बिश्वकर्मा
चरीकोट, फागुन २६
पछिल्लो समयमा दोलखा जिल्ला कोरोना भाइरस मुक्त भएको छ । स्वास्थ्य कार्यालयले बिहीबार सार्वजनिक गरेको आद्यवधिक तथ्याङ्कमा जिल्लाका नौ वटै स्थानीय तहमा कोरोना संक्रमितको संख्या शून्य रहेको छ । यो सालको बैशाखदेखि तेस्रो लहरको कोरोना संक्रमण जिल्लामा फैलिन थालेकोमा सो समयदेखि फागुनको हालसम्म ६ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित सबै निको भइसकेका कार्यालयले जनाएको छ । कार्यालय प्रमुख अर्जुन पौडेलका अनुसार पहिलो र दोस्रो लहरको कोरोना संक्रमणलाई कष्टका साथ सामना गरको दोलखाले तेस्रो लहरमा ठूलो चुनौती र असर ब्योहोर्नु परेन । अहिले संक्रमण साम्य भएपछि कोरोना परीक्षण, नमूना स्वाब संकलन कार्य स्थगित गरिएको छ । तेस्रो लहरको कोरोना संक्रमणबाट संक्रमित भएकाहरु अहिले सबै निको भइसकेका छन्, भने नयाँ संक्रमित भेटिने क्रम रोकिएकोले जिल्ला संक्रमण मुक्त भएको पुष्टि हुने उहाँले बताउनुभयो । पहिलो र दोस्रो लहरमा जिल्लामा कोरोना संक्रमित अत्यधिक भएका थिए । संस्थागत आइसोलेसन र अस्पतालहरुमा संक्रमित उपचारका लागि भीड थियो । तर तेस्रो लहरमा कोरोना महामारी कमजोर रुपमा देखा परेका कारण उबेलाको जस्तो अवस्था भोग्नु नपरेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । पहिलो र दोस्रो लहरको संक्रमणको तुलनामा तेस्रो लहरको संक्रमण कमजोर भएको र सबैले कोरोना विरुद्धको खोप लगाएका कारणले संक्रमित कम भएको र संक्रमित भएकाहरु पनि गम्भिर बिरामी नभएको प्रमुख पौडेलले बताउनुभयो । जिल्लामा हालसम्म एक लाख ७ हजार ७ सय २२ जनाले कोरोना विरुद्धकोे पूर्णमात्रा खोप लगाएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

Shares

Be the first to comment on "कोरोना मुक्त बन्यो दोलखा"

Leave a comment

Your email address will not be published.


*