कोरोनाले ब्यापारमा असरःग्राहक पर्खेर नै बित्छ दिन

ईश्वर बिश्वकर्मा चरिकोट, कार्तिक २–पवटीका मनोज नेपालीको चरिकोट बिच बजारमा टपटेन सटिङ सुटिङ एण्ड टेलरिङ सेन्टर रहेको छ । उनलाई दशैं नजिकिँदै गर्दा गत बर्षहरुमा भ्याइनभ्याइ हुन्थ्यो । सर्ट पाइन्ट लगायतका कपडा सिलाउनेदेखि बेच्न सम्म उनको समय व्ययतित हुन्थ्यो । उनलाई कुराकानी गर्नेसमेत फुर्सद हुँदैन थियो । असोजको दोस्रो साता लाग्ने बितिकै अति नै व्यस्त हुन्थे । चरिकोट बजारको विश्वासिलो पसल भएकोले ग्राहकको भिड नै लाग्थ्यो । दशैं नजिकिँदै गर्दा कामको चापसँगै राम्रो आम्दानी पनि हुने गरेको थियो । यो बर्ष गत बर्षहरुमा जस्तो उनको पसलमा न मानिसको भिड लागेको छ ,न त कामको चाप । कम काम भएपछि आम्दानी पनि सोचे अनुरूप हुने भएन । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले व्यापार घटेको छ । दशैंमा नयाँ नयाँ फेसनको कपडा खरिद गरी सिलाएर लाउने परम्परा रहेको छ । तर यो बर्ष कोरोनाको कारण मानिसले पुरानै कपडा लाएर दशैं मान्न बाध्य भएका छन् । गत बर्षको दशैं ताका लाखौं आम्दानी गर्न सफल भएका मनोज यो बर्ष सोचेजस्तो आम्दानी हुन सक्ने अवस्था नरहेको बताउँछन् । “ पहिलेको बर्षहरुको दशैंमा जस्तो यो बर्ष कपडा बिक्री भएको छैन् । सिलाउन अर्डर दिने पनि कमै छन् ।“ उनि भन्छन्, कोरोनाले हाम्रो व्यापार त चौपट होला जस्तो छ ।“ त्यस्तै जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित मुख्य व्यापारिक केन्द्र सिंगटी बजारमा लामिछाने सटिङ सुटिङ एण्ड टेलरिङ सेन्टर सञ्चालित छ । यो पसलमा पनि गत वर्षहरुको दशैंमा जस्तो यो बर्ष कपडा बिक्री कमै भएको छ । प्रोपाइटर कृष्ण लामिछाने भन्छन् “ गत बर्षहरुको तुलनामा यो बर्ष ४० प्रतिशत मात्र व्यापार भएको छ कुनै दिन त ग्राहक पर्खेरै दिन बित्छ। कोरोनाले सोचेजस्तो आम्दानी हुन सकेन“ शैलुङ गाउँपालिका वडा नं. ३ बाख्रोरमा रहेको श्री शैलुङ देउराली टेलर्स पनि नाम चलेको टेलर्स हो । तर यो बर्ष उक्त टेलर्समा पनि ग्राहक कम मात्र पुगेका छन् । प्रोपाइटर ज्ञान बहादुर शिल्पकार भन्छन् “ व्यवसाय पहिलेको झैं चलेन । कोरोनाले बर्वाद पार्ला जस्तो छ ।“ गत बर्षहरुमा उनीहरु जस्तै दशैं नजिकिँदै गर्दा जिल्लाको चरिकोट, जिरी, मैनापोखरी, सिंगटी, बाख्रोर, भैंसे बजारका कपडा व्यवसायी तथा टेलर्सवालाहरु निकै व्यस्त हुन्थे । उनीहरुलाई यो समयमा एक किसिमको कामको बोझ नै हुन्थ्यो । नयाँ नयाँ डिजाइन र फेसनको कपडा खरिद गर्ने तथा सिलाउन अर्डर दिने ग्राहकको घुइँचो नै लाग्थ्यो । तर यो बर्ष कोरोनाबाट बच्न सरकारले नै सपिङ नगर्न भनेको र भिडभाड कम गर्नु पर्ने भएकोले व्यापार घटेको छ ।नेपाल कपडा तथा सिलाई व्यवसायी संघ दोलखाका अध्यक्ष ईश्वर नेपालीले भने “कोरोना कहरका कारण दशैं नजिकिँदै गर्दा व्यापार कमै भएको छ । यो बर्ष ३० प्रतिशत पनि व्यापार व्यापार हुन सकेन ।“ मान्छेहरुलाई घरबाट बाहिर निस्कनै डरलाग्दो अवस्था छ, उनको अनुसार त्यसैले पनि बजारमा केही उत्साह नदेखिएको हो । दशैंमा पहिरनको व्यवसाय अत्याधिक हुन्छ । हरेक व्यक्तिले दशैंमा नयाँ लुगा अनिवार्य रुपले लगाउने भएकाले पनि यतिबेला पहिरनका पसलहरुमा राम्रै भिंडभाड हुनु पर्ने हो । यद्यपि, यो वर्ष कोरोना कहरका कारण मानिसहरुसंग हातमा पैसा नहुनु तथा दशैं मनाउने वातावरण समेत नहुँदा व्यवसाय चौपट भएको छ ।
दशैं बजारमा अहिले खाद्यान्न बाहेक अन्य बस्तुको बिक्रि वितरण ठप्प प्रायः भएको व्यवसायीहरुको गुनासो छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघमा ६ सय १९ कपडा व्यवसायी तथा टेलर्स सञ्चालक आबद्ध छन् । कोरोनाको कारण व्यवसाय नै बन्द गर्ने निर्णय कतिपयले गरेका छन् ।

Shares

Be the first to comment on "कोरोनाले ब्यापारमा असरःग्राहक पर्खेर नै बित्छ दिन"

Leave a comment

Your email address will not be published.


*