कोरोनाबाट बाँच्ने तीन सूत्र

????????????????????????????????????

इश्वर बिश्वकर्मा
चरिकोट, असार २३
पहिले निषेधाज्ञा प्रहरी खटिएर कडिकडाई गरिएकोमा अहिले खुकुलो पारिएको छ । खेलकुद र मनोरञ्जन सिवाय सम्पुर्ण व्यवसाय, कार्यालय र यातायातका साधन संचालनमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ । मानिस आवातजावतमा कुनै प्रकारको रोकटोक गरिएको छैन् । यसको माने यो होइन की कोरोना संक्रमणले संसारबाट बिदा लियो वा विलय भयो, त्यसैले अब स्वास्थ्य मापदण्ड अपनाउनु पर्दैन। सावधान! कोरोनाको जोखिम अझैपनि बाँकी नै रहेको छ । कोरोनाको अन्त्य आफैं हुन्छ हुदैन, कहिले हुन्छ यो वैज्ञानिक तबरबाट खोजीअनुसन्धानको कुरो हो । तर अहिले यो महामारी विश्वव्यापी बन्दै फैलिएकोले यसको असरबाट जोगिन विश्व स्वास्थ्य संगठनका साथै स्वास्थ्य मन्त्रालय र स्वास्थ्यकर्मीले दिइएको सुझाउ र मापदण्डको व्यवहारिक रुपमा पुर्ण कार्यान्वयन सबैको तर्फबाट हुनुपर्छ । नेपालको सन्दर्भमा कोरोनाबाट जोगिन तीन उपाय अपनाउन स्वास्थ्यकर्मीहरुले सूझाएका छन् । नागरिकहरुले पनि सो उपाय अचुक उपायका रुपमा ग्रहण गरेको पाउन सकिन्छ । अहिले जनजीवन सामान्य बनाउन निषेधाज्ञा खुकुलो पारिएको छ । खोपको विकास भएपनि सबै नागरिकमा यसको पहुँच पुग्न सकेको छैन् । यस्तो अवस्थामा ती अचुक मानिएका उपाय व्यवहारिक रुपमा पालना गरेमा कोरोना संक्रमणले कसैलाई पनि छुन सक्तैन । मास्क प्रयोग गर्नु प्रमुख प्रभावकारी उपाय हो । यो विश्वव्यापी उपाय पनि हो । गुणस्तरीय मास्क नाकमुख पुरै ढाक्ने गरी लगाएमा कोरोना शरीरमा प्रवेश गर्न पाउदैन । जसले गर्दा कोरोना भन्ने विषाणु सर्ने कुरो नै भएन । कोरोना संक्रमण फैलिन थालेपछि मास्कको मागसगैं यसको उच्चतम प्रयोग हुन थालेको छ । अर्को महत्वपूर्ण विश्वव्यापी उपाय हो, साबुन पानीले मिचिमिची हात धुनु वा गुणस्तर स्यानीटाईजरको प्रयोग गर्नु । मानव शरीरमा अत्याधिक सक्रिय हुने अंग मध्ये प्रमुख अंग हो हात । हात शरीरका नाक मुख आँखा लगायतका अंगमा गइनै रहने भएकोले पनि यसको स्वच्छता अपरिहार्य हुन्छ । हातको स्वच्छता कायम भएमा अन्य सरुवा रोगका साथै कोरोना संक्रमण सर्न सक्तैन । हात स्वच्छता राख्न साबुन पानीले नियमित रुपमा हात धुनुपर्छ । यदी यसो सम्भव नभएमा गुणस्तर स्यानीटाइजरको प्रयोग गर्न सकिने स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले बताए । तर स्यानीटाइजरको जथाभावी प्रयोग गर्नु हानीकारक हुन सक्ने उनको भनाई रहेको छ । सामाजिक दुरी कायम गर्नु तेस्रो अचुक उपाय हो । कार्यालय प्रमुख पौडेलका अनुसार दुइ वा सो भन्दा बढी मानिसहरुबीच दुई वा तीन मिटर दुरी कायम गर्न सकेमा कोरोनाबाट सुरक्षित रहन सकिन्छ । सामाजिक दुरी भनेको भीडबाट टाढा रहनु भन्ने हुन्छ । उनले यी तीन उपाय अपनाउन सबैलाई अनुरोध गरेका छन् । उनले भने “कोरोना अहिले चिन्ताको विषय बनेको छ । यसले मानिसको जीवन कष्टकर बनाएको छ । यसबाट जोगिदैँ जीवनलाई पूरानै लयमा फर्काउनु पर्छ ।“ निषेधाज्ञा विशेष उपाय भएपनि यसको प्रभावमा जनजीवन निष्क्रिय र पीडादायी बनेकोले खुकुलो पारिएको बताउदै प्रमुख पौडेलले भने “व्याधिबाट जोगिएर जीवन सहज बनाउनुपर्छ ।“

Shares

Be the first to comment on "कोरोनाबाट बाँच्ने तीन सूत्र"

Leave a comment

Your email address will not be published.


*