कोभिड बिरामीको जीवन रक्षा गर्दै चरिकोट अस्पताल

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ २७
दोलखाको सदरमुकाम स्थित चरिकोट अस्पतालमा स्वाब संकलन, पिसिआर जाँच र कोभिड बिरामीको उपचार व्यवस्थान हुँदै आएको छ । कोरोना संक्रमण फैलिन थालेपछि अस्पताललाई ‘कोभिड डेडिकेटेड’ अस्पतालमा रुपान्तरण गरिएको थियो । यहाँका ९ वटै स्थानीय तहको साझा भरोसाको केन्द्र मानिने सो अस्पताल अहिले स्वाब संकलन, पिसीआर जाँच र कोभिड बिरामीको उपचार व्यवस्थापनमा समेत प्रभावकारी बनेको छ । लक्षण सहितका बिरामी आएमा अस्पतालमै स्वाब संकलन हुने गरेको छ । त्यसैगरी पालिकाहरुले संकलन गरेको स्वाब यहाँको पिसीआर प्रयोगशालामा ल्याउँछन् । संकलित नमूना स्वाबको पिसीआर जाँच गरी नजिता सार्वजनिक गरिन्छ । ३ जना सांसदहरुले सांसद विकास कोषमार्फत उपलब्ध गराएको १ करोड ५० लाख रकमबाट सञ्चालनमा ल्याइएको प्रयोगशालामा ७ जना प्राविधिक परिचालन हुने गरेका छन् । अस्पतालका अनुसार १ जना माइक्रो बाइयोलोजिस्ट, ३ जना ल्याब टेक्नोलोजिस्ट, २ जना ल्याब टेक्सिसियन र १ जना सहयोगीले प्रयोगशालामा अहोरात्र खटिएर काम गर्दछन् । त्यस्तै पालिकामा गरिएको एन्टिजेन र यही अस्पतालमा पिसीआर जाँचपछि पुष्टि भएका संक्रमितलाई अस्तालको उपचार चाहिएमा यहीँ व्यवस्थापन हुने गरेको छ । यसका लागि ४३ शैयाको अक्सिजन सहितको आइसोलेशन, ५ शैयाको एचडियू र औषधिको व्यवस्थान गरिएको छ । बिरामीको उपचारमा ३ एमजीडिपी डाक्टर, ५ मेडिकल अफिसर सहित १० जना डाक्टर सक्रिय हुन्छन् । जिल्लाका ७ वटा पालिकाहरुले ७ जना स्टाफ नर्स उपलब्ध गराएकापछि थप सहज भएको छ । नर्स उपलब्ध गराउने पालिकाहरुमा तामाकोशी, गौरीशंकर, मेलुङ, कालिन्चोक, शैलुङ, भीमेश्वर र विगु गाउँपालिका रहेका छन् । काेभिड मत्थर भएपछि ति सम्बन्धित पालिकामा फिर्ता हुने छन् ।  संक्रमितको उपचार व्यवस्थानमा अस्पतालको सम्पूर्ण शक्ति संयन्त्र परिचालित भएको छ । अस्पतालको आंकडा अनुसार हाल अस्पतालको आइशोलेशनमा ५ जना र एचडियूमा ५ जना गरी १० जना उपचाररत रहेका अस्तपालका सूचना अधिकारी शान्ती प्रसाद न्यौपानेले बताए । विभिन्न संघसंस्था तथा व्यत्तिले अस्पतालमा भर्ना भएका बिरामीका लागि औषधी अक्सिजनका साथै आर्थिक सहयोग गरेका छन् । स्वास्थकर्मीका लागि व्यक्तिगत सुरक्षा कवच समेत सहयोग उपलब्ध भएपछि अस्पताललाई सहज भएको छ । अस्पताललाई ११ वटा संघसंस्था र व्यक्तिको सहयोग विभिन्न समयमा प्राप्त भएको थियो । रबिन्द्र गौतममार्फत् गौरीशंकर बिजनेश ग्रुप जापानले ८० हजार रुपैयाँ, सोही ग्रुपले रमेश खतिवडामार्फत् ३३ हजार बराबरको औषधी, निता राउत फाउन्डेशनबाट ४१ हजार बराबरको औषधी, सोभित उप्रेतिमार्फत ४८ हजार बरारबको औषधी, बौद्ध स्तुपा विहार काठमाडौँमार्फत् ३ थान अक्सिजन कन्स्ट्रेटर, ४ बाकस औषधी, १० लिटर सेनेटाइजर, १ सय जोर पञ्जा, पिपीइ सेट २० वटा, फेशसिल्ड ४० वटा, चस्मा २४ वटा सहयोग प्राप्त भएको थियो । त्यस्तै राप्रपा दोलखाले १ थान अक्सिजन कन्स्ट्रेटर, फोकस नेपाल जिरीले ५० थान फाइबार सिरक, २० वटा सेनेटाइजर, मेरो एक हजार अक्सिजन किन्नलाई अभियानमार्फत १० वटा अक्सिजन सिलिन्डर, वान हार्ट वल्र्डवाइड नेपालले १० वटा अक्सिजन सिलिन्डर, लायन्स अफ क्लबले १ सय ५० वटा एन्टिजेन टेष्ट किट सहयोग गरेको सूचना अधिकारी न्यौपानेले बताए । यो अस्पताल प्रादेशिक अस्पतालमा सूचिकृत भएसगैँ थप सुविधा र सेवा विस्तारको मार्गमा लम्किएको छ। यसका लागि संघीय सरकारले १८ करोड अनुदान उपलब्ध गराएको छ । प्राप्त रकमबाट भवन तथा अन्य पूर्वाधारका लागि पक्रिया थालिएको छ । अस्पताल सञ्चालनका निम्ति प्रदेश सरकारले १ करोड ५० लाख उपलब्ध गराएको छ, भने अक्सिजन प्लान्ट स्थापनाका लागि ७५ लाख र ५ शैयाको एचडियुका लागि ८० लाख गरी कुल १ करोड ५५ लाख रुपैयाँ उपलब्ध भएको छ । कोभिडकै सन्दर्भमा जिरी अस्पताल, बैतेश्वर अस्पताल, मालु कोभिड अस्पताल र सिंगटी अस्पतालमा संक्रमित बिरामीलाई उपचार सेवा प्रदान हुने गरेको छ ।

Shares

Be the first to comment on "कोभिड बिरामीको जीवन रक्षा गर्दै चरिकोट अस्पताल"

Leave a comment

Your email address will not be published.


*