केन्द्र सरकारप्रति प्रदेश मन्त्री स्थापित असन्तुष्ट

दीक्षण समाचार
दोलखा, ११ कार्तिक
प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले संघीय सरकारको कार्यशैलीप्रति चर्को असन्तुष्टि व्यक्त गरे । उनले आफूले पनि नगर्ने र गर्ने चाहना भएकोहरुलाई काम गर्न नदिएको आरोप लगाए ।
उनले केन्द्र सरकारले गर्न नसकेका काठमाडौंका साँघु र नागढुङ्गा–कलंकी सडक तत्काल बनाइदिने दाबी गरे । स्थानीय समस्या नै पहिचान नगरी वषौंदेखि ठेक्का लगाएर संघीय सरकारले अलपत्र सडक प्रदेश सरकारलाई दिए तत्काल बनाएर देखाउने बताए ।
दोलखाको साविकको सिंचाइ विकास डिभिजन र जल उत्पन्न प्रकोप व्यवस्थापन डिभिजन कार्यालय खारेज भई बनेको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय दोलखाको उद्घाटन गर्दै उनले यस्तो दाबी गरेका हुन् । संघीय सरकारले क्षमता विकास नभएको जस्ता बहाना बनाएर प्रदेश सरकार र स्थानीय तहमा अधिकार हस्तान्तरण गर्न आनाकानी गरेको आरोप लगाए ।
उनले सँघिय सरकारको कार्यशैलीप्रति असन्तुष्टि प्रकट गर्दै मन्त्री स्थापितले केन्द्रवाट प्रदेशमा आउने अधिकार अमिवा जस्तो टुक्रिएर नआएको भन्दै फलामको टुक्रो भएको टिप्पणी गरे । फलाम टुक्रिएर सियो बनेकोले घोच्न र सिलाउन मिल्ने तर प्रेमको धागोले मात्रै बुन्न सकिने भन्दै उनले सँघीय सरकार र प्रदेश सरकार बीच विवाद रहेको सँकेत पनि गरे ।
काठमाडौं महानगरपालिकाको मेयर हुँदा आफूले १८ दिनमा माइती घरको घर भत्काएर हालको मण्डला नै बनाएको भन्दै अहिलेको संघीय सरकारलाई काम गर्ने भित्री आकाक्षा नै नभएको आरोप लगाए । “कामै गर्ने भए, बहाना बनाउँनै पर्दैन सहयोग सबैको हुन्छ” उनले भने “अहिलेका संघीय सरकार काम गर्ने भन्दा पनि यो भएन र त्यो भएन भन्दै बहाना मात्र बनाउँछन्, न आफू काम गर्छ न अर्कालाई गर्न दिन्छन् ।”
मन्त्री स्थापितले अब ३ नं. प्रदेशले अब देखिने गरी काम गर्ने दाबी गरे । जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय कृषि उत्पादन र जनतासँग प्रतक्ष्य सरोकार राख्ने कार्यालय भएको हुँदा जनसेवी र ठोस प्रगति हुने गरी काम गर्न उनले कार्यालय प्रमुख र कर्मचारीहरुलाई निर्देशन दिए । मन्त्री स्थापितले सकारात्मक काम गर्नका लागि कार्यशैलिमा समेत व्यापक परिवर्तन गर्नु पर्ने भन्दै तोकिएको समयमा कार्यालय नआउने कर्मचारीको हाजिरी रद्ध गर्न समेत निर्देशन दिए ।
सरकारी कार्यालयले गर्ने कार्यक्रममा खादा, कृत्रिम फुल, मिनरल वाटर जस्ता उत्पादनको प्रयोग गरेर फर्जि खर्च नगर्न भन्दै स्थानीय उत्पादनलाई प्राथमिकता दिन र अनावश्यक खर्च कटौटी गर्न पनि आग्रह गरे ।
कार्यक्रममा जलश्रोत तथा सिँचाई डिभिजन कार्यालय दोलखाका प्रमुख प्रकाश अधिकारीले नयाँ स्थापना भएको कार्यालयलाई बजेट, कर्मचारी र सवारी साधनको अभाव भएको बताए । जिल्लामा २१ वटा सिँचाई आयोजना निर्माणको अन्तिम चरणमा रहे पनि बजेट अभावले काम पुरा हुन नसकेको र थप ९ करोड बजेट उपलव्ध भए ती योजना चालु बर्षभित्र सम्पन्न गर्न सकिने बताए । उनले कार्यालयमा २० बर्ष पुरानो सवारी साधन भएका कारण फिल्ड अनुगमन र कार्यालयका अन्य काममा पनि समस्या रहेको बताए । कार्यक्रममा प्रदेश सभाकी साँसद हिमाली गोले, जिल्ला समन्वय समितिका प्रमुख, डवल पाण्डे, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक लगायतले मन्तव्य व्यक्त गरे ।
नेपाल पत्रकार महासँघ दोलखा शाखाले प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई महासँघको कार्यालयमा स्वागत तथा सम्मान गरेको छ । पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामाले मन्त्री स्थापितलाई शैलुङको तस्वीर उपहार प्रदान गर्दैै सम्मान गरे ।स्वागत कार्यक्रम मा बोल्दै मन्त्री स्थापितले पत्रकार महासँघ दोलखा शाखाको भवन निर्माणका लागि आवस्यक सहयोग गर्ने आश्वासन दिए ।

 

Shares

Be the first to comment on "केन्द्र सरकारप्रति प्रदेश मन्त्री स्थापित असन्तुष्ट"

Leave a comment

Your email address will not be published.


*