किवी खेतीबाट मनग्य आम्दानी

दीक्षण समाचार /चरिकोट, – दोलखाको भीमेश्वर नगरपालिका–८ बोचका चेतबहादुर बस्नेत उमेरले ६५ वर्ष पुग्नुभयो । तर जोस जाँगरले भने उहाँ २०–३० वर्षको तन्नेरी झैँ हुनुहुन्छ । देवी किवी फर्म दर्ता गरी फलफूलको राजा मानिएको किवी खेती व्यवसायिक रुपमा गरिरहनुभएका बस्नेतको चर्चा गाउँमा मात्र सीमित छैन, उहाँको जोस, जाँगर र मिहिनेतको चर्चा प्रशंसा जिल्लामा समेत हुन थालेको छ । उहाँले किवी खेतीमा मिहिनेत र परिश्रम मात्र गरिरहनुभएको छैन, सोचे अनुरूपको सन्तुष्टि पनि लिइरहनुभएको छ । उहाँलाई खुशी र स्वस्थ बनाउने उपयुक्त स्रोत बनेको छ किवी । जीवनलाई सुखी र समृद्ध बनाउन किवी खेतीमा होमिनुभएको बस्नेतले समाजबाट प्रशंसा अनि प्रोत्साहन पाएपछि झन् जाँगर देखाउनुभएको छ । छ वर्षअघि तालिममा सहभागी भएपछि किवी खेती थाल्नुभएका बस्नेतले गत वर्षदेखि किवी बिक्री गरी आम्दानी पनि थाल्नुभएको हो । उहाँले भन्नुभयो ूकिवीको बेर्ना रोपेको पाँच वर्षपछि उपयुक्त वातावरण भएमा किवी फल्न थाल्छ । मेरो बगैँचामा गत वर्षदेखि फल्न थालेको हो । त्यो वर्ष ३० हजार जतिको कमाई भयो । यो वर्ष फलेका किवी सबै बिक्री गर्दा ६५ हजार आम्दानी भयो । परिश्रम र मेहेनतको फल मिठो हुँदोरहेछ ।
उहाँको बगैँचामा १ सय ५० वटा किवी बोट छ । यो वर्ष एकै बोटमा १८ किलोसम्म किवी फलेको थियो । उत्पादित सबै किवी प्रतिकिलो दुई सय ५० रुपैयाँमा जिल्लामै बिक्री भएको उहाँ बताउनुहुन्छ । उहाँ बोटबाटै पाकेका किवी चोरी भएको गुनासो समेत गर्नुहुन्छ । ू२० हजार जतिको किवी त चोरेरै सकाए । बगैँचाको सुरक्षाको लागि घेराबार नगरेकोले चोरी बढेको हो । अब चोरीबाट जोगाउन आवश्यक उपाय अपनाउनुपर्ला । किवी खेती पूर्व आलु र मकै मात्रा लगाउने गरिएको थियो । अहिले गरिएको खेतीबाट निकै फाइदा भएको चेतबहादुर बताउनुहुन्छ । विभिन्न समयमा तालिम लिनुभएका उहाँलाई किवी खेती सम्बन्धी धेरथोर भएनि जानकारी छ । उहाँ भन्नुहुन्छ कुनैपनि कार्यको सुरुवात गर्नपूर्व त्यस सम्बन्धी आवश्यक ज्ञान र सीप लिन आवश्यक छ । यदि त्यसो नभए कार्यमा सोचे अनुरूपको फाइदा लिन सकिदैन । मिहिनेत खेर जान्छ । मैले पनि विभिन्न कृषि सम्बन्धी काम गर्ने कार्यालयले आयोजना गरेको तालिममा सहभागी भएपछि सिकेको सीपलाई व्यवहारमा उतार्न खेती थालेको हुँ । तालिमको उपलब्धि भएको ठान्छु म । उहाँ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (किवी जोन) मा आबद्ध भएपछि विभिन्न सहयोग उपलब्ध भएको छ । जसले गर्दा उहाँलाई किवी खेतीमा थप काम गर्न आँट मिलेको छ । उहाँ आर्थिक वर्ष २०७५÷०७६ मा किवी जोनमा सुचिकृत हुनुभएको थियो । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइमार्फत व्यावासायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (किवी जोन) कार्यक्रम सञ्चालन भएपछि किवी खेती गर्ने किसानको संख्या बढ्नुका साथै किवीको क्षेत्रफल पनि विस्तार भएको छ । यसले किसानको आम्दानीको स्रोत बढाएको छ । किवी जोनको कार्य क्षेत्र भीमेश्वर नगरपालिकाको वडा नं. १, ६, ७, ८ र ९, जिरी नगरपालिकाको वडा नं. २, ४, ६ र ७, शैलुङ गाउँपालिकाको वडा नं. ३, ४, ५, ६, ७ र ८, गौरीशंकर गाउँपालिकाको वडा नं. १, ३ र ४, विगु गाउँपालिकाको वडा नं. ३ र ४ र कालिञ्चोक गाउँपालिकाको वडा नं. ६ र ९ रहेको छ । 
 

Shares

Be the first to comment on "किवी खेतीबाट मनग्य आम्दानी"

Leave a comment

Your email address will not be published.


*