किन भएन खारे खोला प्रभावितको सेयरप्रति चासो ?

दिलबहादुर केसी
तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई खुल्ला गरेको आईपिओमा स्थानीयले चासै राखेनन् । पहिलो पटक तोको १५ दिने समय सकिएर थपिएको ७ दिनसम्म पनि १० प्रतिशतभन्दा केही बढी मात्र सेयर आवेदन परेको छ ।
मागभन्दा अत्यन्तै न्यून मात्रमा मात्र आवेदन परेपछि दोस्रो पटक समय थप गरिएको छ । अब स्थानीयले माघ १३ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसअघि पुस २९ गतेसम्म सयम रहेकोमा एक साताको लागि समय बढाइएको थियो । सेयर भनेपछि मरिहत्ते गर्ने दोलखालीहरु युनिभर्सलको सेयरमा भने कुनै पनि चासो नै नभएको बताउँछन् ।

२१ दिनमा कति प¥यो आवेदन
कम्पनीको बिक्री प्रबन्धक सिद्धाथ क्यापिटलको अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुबाट २१ दिनको अवधीमा दुई हजार ५९२ जना स्थानीयले दुई करोड ८५ लाख रुपैयाँ बराबरको दुई लाख ८५ कित्ता शेयरकोलागि आवेदन दिएका छन् । यो सर्वसाधारणमा निष्काशन भएको शेयरको १३.५७ प्रतिशत मात्र बिक्री हो । आयोजना प्रभावितका लागि पछिल्लो समय माग गरे जति नपर्ने गरेको छ । तर युनिभर्सलको सेयरमा भने लज्जास्पद नै भएको छ ।
जारी गरेको शेयरमध्ये अझै ८६.४३ प्रतिशत अर्थात १८ करोड १५ लाख ३५ हजार रुपैयाँ बराबरको १८ लाख १५ हजार ३५० कित्ता शेयर बिक्री हुन बाँकी छ । माघ १३ सम्मपनि सबै शेयर बिक्री नभएमा अविरित शेयर सर्वसाधारणलाइ निष्काशन हुने शेयरमा थप हुनेछ । कम्पनीले गत पुस १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गरेका हो ।
 अहिले कम्पनी पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक र विगु गाँपालिकाका स्थानीहरुले मात्र आवेदन गर्न पाउने छन् । यस आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख  कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।
आवेदन गर्नेहरुले पनि न्यूनतम् कित्ता मात्र आवेदन गरेको भेटिएको छ । आवेदन गर्नेहरुले पनि आयोजनाको बारेमा जानकारी पाएर भन्दा पनि सेयर हाल्दा राम्रो हुन्छ भन्ने सुनेर मात्र आवेदन गरेको बताए । स्थानीयहरुले हिमालयन बैंक गुरुम्फी शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन गर्न सक्नेछन् । तर कुनै पनि बैंकमा लाइनै बसेर आवेदन गर्नेहरु भने नभएको सम्बन्धित बैंकका कर्मचारीहरुले बताए ।

किन दिएनन् स्थानीयले चासो
दोलखामा सेयर भन्ने वित्तिकै अपर तामाकोसीले चेतना फैलाएको थियो । अपर तामाकोसीको सेयरमा स्थानीयको उत्साहजनक सहभागीता रह्यो । सत् प्रतिशतले सेयरमा आवेदन दिए । स्थानीय स्तरमा जनप्रतिनिधि, कर्मचारी, राजनीतिकर्मी सामाजिक कार्यकर्ता सबै लागे । तर धेरै आवेदन परेकाले न्यून सेयर प¥यो ।
तामाकोसीमो सेयरमा नपरेको पैसा फिर्ता लिन पनि अत्यन्तै झन्झटिलो भयो । विक्री प्रबन्धक सनराइज क्यापिटलको लापारबाहीका कारण सेयरमा नपरेको पैसा फिर्ता लिन पटक पटक बैंक धाउँदा धेरै सास्ती र खर्च गर्नु परेको छ । त्यसको असर पनि युनिभर्सलको सेयरमा परेको छ ।
सर्वसाधारणको सेयर तत्कालै दोस्रो बजारमा किनबेच गर्न पाइन्छ । तर स्थानीयको सेयर ३ वर्ष किनबेच गर्न बन्देज गरेको छ । यसले गर्दा पनि सेयरबारे केही चासो राख्नेहरुले यता ध्यान दिएनन् ।
अर्को विषय स्थानीय स्तरमा निजी क्षेत्रबाट बन्ने आयोजनाहरु लागत र समय लम्ब्याएर महङ्गो बनाउँछन् भन्ने स्थानीयहरुको बुझाइ छ । प्रबद्र्धकहरुले सर्वसाधारणको सेयर उठाउँने र त्यसैमा आफ्नो लगानीमा निर्माण चरणमै विभिन्न बहानामा उठाउँछन् भन्ने धारणा पनि व्याप्त छ ।
स्थानीयस्तरमा सेयर संकलनका लागि खासै चासो नै राखेको पनि देखिएन । स्थानीय जनप्रतिनिधिहरुलाई एक पटक चरिकोटको एक होटलमा बोलाएर सामान्य छलफल ग¥यो तर स्थानीयस्तरबाट सेयर उठाउन चासो देखाएन ।

वित्तीय अवस्था औसतभन्दा कमजोर
कम्पनीले निष्काशन गर्ने साधारण शेयरलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनएपि आईपिओ ग्रेड ४ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ । कम्पनीले जारी गरेको सूचनामै यसले लाभाशं दिन सक्ने समय २ वर्षपछि देखि मात्र १० प्रतिशत उल्लेख गरेको छ । वार्षिक १० देखि १५ प्रतिशत लाभांश त सामान्य गाउँकै सहकारीमा खरिद गरेको सेयरबाटै पाइन्छ भने किन यता लगानी गर्ने भन्ने पनि स्थानीयमा धारणा छ ।
युनिभर्सल पावर कम्पनीले जारी पूँजीको ४६ प्रतिशत ९९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको साधारण शेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र दोस्रो चरणमा संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई गरि ७५ लाख ६१ हजार २६० कित्ता आईपिओ निष्काशन गरिने कम्पनीले जनाएको छ ।
कस्तो छ आयोजना ?
दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ । आयोजना निर्माणाधिन अवस्थामा छ । अहिलेसम्म ७० प्रतिशत काम पूरा भएको आयोजना पूरा हुन अझैं एक वर्ष लाग्ने देखिन्छ । तर सिंगटी लामोसाँघु प्रसारण लाइन पूरा भएन भने उत्पादित विद्युत खेर जाने अवस्था छ ।
आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ ।

Shares

Be the first to comment on "किन भएन खारे खोला प्रभावितको सेयरप्रति चासो ?"

Leave a comment

Your email address will not be published.


*