काेराेना नियन्त्रणका लागि दोलखामा पूर्व तयारी गरिदैँ

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २७
नेपालमा केहि महिना मथ्थर जस्तो देखिएको कोरोना कहर पुनः देखिन थालेको छ । दिनहुँ कोरोना संक्रमित मानिसको संख्या थप भइरहेका छन् । जसले गर्दा कोरोना कहर फेरि पुर्वास्थाको झैं हुनसक्ने आंकलन भईरहँदा दोलखामा पनि यसको रोकथाम र नियन्त्रणको लागि पूर्व तयारी गरिने भएको छ । बिहीबार चरिकोटमा आयोजित कोभिड–१९ व्यवस्थापन सम्बन्धमा सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला समन्वय समिति दोलखाद्वारा आयोजित बैठकमा दोलखाका जिल्ला संकट व्यवस्थापन समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मानिसको मनस्थिति परिवर्तन भएपनि परिस्थिति भने पहिलाको झैँ रहेकोले कोरोना संक्रमणबाट बच्न अझै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरे । त्यस्तै सभासमारोह लगायत भिडभाड हुने किसिमका कार्यक्रम नगर्न र गरेपनि अत्यन्त सावधानी अपनाउनु पर्ने उनले बताए । उनले जिल्ला संकट व्यवस्थापन समितिको तर्फबाट कोरोना नियन्त्रणको लागि भएका कामहरुबारे जानकारी दिए । स्वास्थ्य कार्यालय दोलखाका खोप अधिकृत तुलसी प्रसाद सुवेदीले दोलखामा कोरोनाले पारेको प्रभाव र यसको अवस्था, कार्यालयले कोरोना रोकथाम र न्यूनिकरणमा गरेका प्रयास तथा काम, खोपको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले कोरोना नियन्त्रणमा भएगरेका कार्यको समिक्षा गर्दै थप सतर्कता हुन सबै पालिकाहरुलाई निर्देशन दिए । बैठकले ‘एन्टिजेन टेस्ट किट’लाई तयारी अवस्थामा राख्ने, कम्तिमा पनि प्रत्येक पालिकामा १–१ वटा क्वारेन्टिनको व्यवस्था गर्ने सम्बन्धमा स्थानीय संकट व्यवस्थापन केन्द्रको बैठक बसी निर्णय गर्ने र आवश्यक तयारी गर्न, कोभिड – १९ को सन्दर्भमा जनसमुदायमा जनचेतना र प्रचार प्रसारका लागि रेडियिो मार्फत सुचना सम्प्रेषण गर्ने तथा शिक्षक शिक्षिका परिचालन गर्ने र नयाँ वर्षको उपलक्ष्यमा हुन सक्ने भीडभाड र कोभिड संक्रमण फैलने जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा भीडभाड हुने गतिविधि नगर्न तथा स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न सबै जिल्लाबासीलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, जिरी नगरपालिका उपप्रमुख कृष्ण माया बुढाथोकी, तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयम बहादुर खड्का, कालिन्चोक गाउँपालिका अध्यक्ष विन कुमार थामी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "काेराेना नियन्त्रणका लागि दोलखामा पूर्व तयारी गरिदैँ"

Leave a comment

Your email address will not be published.


*