कालोपत्रेले सहज बन्दै जिलु चरिकोट सडक

दीक्षण समाचार/चरिकोट,– विगतमा गाउँको कच्ची सडक बर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्थ्यो । जिलु–भट्मासेको यात्रामा सास्ती थियो । सार्वजनिक सवारी साधनको यात्रा सहज थिएन नै निजीमा समेत आरामदायी यात्रा गर्न कठिनाइ हुन्थ्यो । सदरमुकाम क्षेत्रमा अवस्थित भएपनि कच्ची सडकले बत्ती मुनीको अँध्यारो भने झैँ भान हुने गाउँ थियो जिलु । तर जब २०७४ मा जनप्रतिनिधि आए तब गाउँमा विकासको लहर नै आयो । सोही लहरमा चरिकोट बजार जोड्ने जिलुको मुख्य सडक कालोपत्रे गर्ने कामले प्रमुख प्राथमिकता पायो । गत असारमा बहुवर्षीय योजना अन्तर्गत भीमेश्वर नगरपालिका र प्रदेश सरकारको ५० ÷५० प्रतिशत गरी एक करोड ८९ लाखको लागतमा भट्मासेसम्म १३ सय मिटर सडक कालोपत्रेको काम सम्पन्न भयो । जसले जिलुको माथिल्लो क्षेत्रका नागरिकको कालोपत्र सडक सपना भने पुरा भएको छ । सडक कालोपत्रेसँग स्थानीयले सहज यात्रा गर्न पाएका छन्। दुध र तरकारी भण्डारको रुपमा रहेको जिलुबाट उत्पादित सामग्रीले सहज बजार पाउने भएको छ । स्थानीय कान्छी विश्वकर्माले सडक कालोपत्रे भएपछिको यात्रा सहज भएको बताउनु भयो । गाउँमा सिंहदरबार आएपछिको तारिफयोग्य कामहरु मध्ये सडक कालोपत्रे प्रमुख काम भएको उहाँले बताउनुभयो । सडक कालोपत्रे गर्ने क्रममा अहिले बागमती प्रदेश सरकारको १२ करोड लागतमा चार किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । गत मंसिरबाट सुरु भएको कालोपत्रे आगामी जेठमा सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कम्पनीले काम गरिरहेको वडाध्यक्ष हरिवंश चौलागाईंले बताउनुभयो । २०६२÷२०६३ मा जिलुलाई चरिकोटसँग जोड्न ट्रयाक खनिएको थियो । ट्रयाक खनिएको करिब १५ बर्षपछि कालोपत्रे गर्ने काम सुरु भएको उहाँले बताउनुभयो । चार किलोमिटर सडकको कालोपत्रे गरि सकिएपछि पाँच किलोमिटर सडक कालोपत्रेका लागि बाँकी रहने वडाध्यक्ष चौलागाईंले बताउनुभयो ।

Shares

Be the first to comment on "कालोपत्रेले सहज बन्दै जिलु चरिकोट सडक"

Leave a comment

Your email address will not be published.


*