कालिन्चोक एफएमको वार्षिकोत्सवको अवसरमा स्वास्थ्यकर्मी सम्मानित

कात्तिक २१, चरिकोट
दोलखाको पहिलो कालिन्चोक सामुदायीक एफएम १०६.४ मेगाहर्ज आजबाट १४ औ वर्षमा प्रवेश गरेको छ ।
एफएमले आफ्नो वार्षिकोत्सवको अवसरमा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । विश्वभर फैलिएको कोभिड १९ कोरोना विरुद्ध अग्रपंक्तिमा अहोरात्र खटिने चरिकोट अस्पतालका मेडिकल अधिकृत डाक्टर हिमशैल खड्का र ल्याब टेक्निशियन सन्जु थामीलाई सम्मान पत्रले सम्मान गरेको हो । उहाँहरुलाई भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले सम्मान पत्र प्रदान गर्नुभयो ।
त्यसैगरि एफएमले पानी तताउने डिस्पेन्सर एक थान र अक्सीजनको मात्रा चेकजाँच गर्ने पल्स अक्सीमिटर ३ थान अस्पताललाई सहयोग गरेको छ । कोरोना महामारीको समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको मनोबल बढाउन र उनिहरुको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको कालिन्चोक एफएमका स्टेशन म्यानेजर जीवन लामाले जानकारी दिनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले भीमेश्वर नगरपालिका मातहत सञ्चालन भइरहेको चरिकोट अस्पतालका लागी स्वास्थ्य सामग्री सहयोग र आफ्नो स्वास्थ्यको पर्वाह नगरी आमनागरिकको जीवन बचाउन अहोरात्र खटिने स्वास्थ्यकर्मीलाई सम्मान गरेको भन्दै कालिन्चोक एफएमलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कालिन्चोक सामुदायीक एफएम १०६.४ मेगाहर्जले २०६४ साल कात्तिक २१ गते लक्ष्मी पुजाको दिनबाट औपचारीक प्रसारण सुरु गरेको थियो ।
कालिन्चोक सामुदायीक एफएमले गत वर्ष भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै साँस्कृतिक साँझको आयोजना गरि १३ औँ वार्षिकोत्सव मनाएको थियो । रेडियोको प्रसारण अवधिभर सहयोग सहकार्य गर्ने साझेदार संस्था, विज्ञापनदाता, श्रोता शुभेच्छुक सबैलाई कालिन्चोक एफएम परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

Shares

Be the first to comment on "कालिन्चोक एफएमको वार्षिकोत्सवको अवसरमा स्वास्थ्यकर्मी सम्मानित"

Leave a comment

Your email address will not be published.


*