कालिनाग माविको भवन निर्माण शुभारम्भ

दीक्षण समाचार
चरिकोट, कार्तिक १५
दोलखाको कालिञ्चोक गाउँपालिका–३ सिंगटी स्थित कालिनाग माविको नयाँ भवन निर्माण सुभारम्भ गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कम्प्युटर, विज्ञान प्रयोगशाला र चमेना गृह सहितको सुविधा सम्पन्न भवन निर्माण थालिएको हो । कार्यक्रममा विद्यालयका शिक्षक, निर्माण कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले सांस्कृतिक तथा सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
अनुमानित ८५ करोड लागतमा निर्माण सम्पन्न हुने दुई वटा भवनमा कार्यालय, पठनपाठन तथा प्रयोगशाला प्रयोजनको लागि ४० वटा कोठा रहने प्रधानाध्यापक नेपालले बताउनुभयो । चीन सरकारको आर्थिक सहयोगमा सिनो हाइड्रो निर्माण कम्पनीले दुई वर्ष भित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कामलाई तीव्र बनाएको छ ।

गत वर्षको माघमा भवन शिलान्यास भएपनि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको कारण निर्माण कार्य प्रभावित भएको थियो । अहिले कोरोना भाइरस मत्थर भएसँगै भवन निर्माण कम्पनी सिनो हाइड्रोले काम शुभारम्भ गरेको प्रधानाध्यापक नेपालले बताउनुभयो । एउटा भवनको निर्माणको जग खनेर पिलर उठाउने काम भने यसअघि नै सम्पन्न भइसकेको छ । अहिले चमेना गृहको जग हाल्ने काम भइरहेको बताएको छ । अहिले करिब ७० जना मजदुरले काम गरिरहेको उहाँले बताउनुभयो ।
विद्यालयको लागि सात रोपनी जग्गा पर्याप्त नभएपछि सामुदायिक वनले २० रोपनी जग्गा उपलब्ध गराएको छ । सोही जग्गामा नयाँ भनव निर्माण भईरहेको र उक्त जग्गा विद्यालयको नाममा ल्याउने पक्रिया अन्तिम चरणमा रहेको प्रधानाध्यापक नेपालले सुनाउनुभयो ।

तत्कालिन जिल्ला शिक्षा कार्यालयले निर्माण गरिदिएको चार कोठे भवन, सिटीसी नेपालले बनाइदिएको भवन सहित २० वटा कोठा रहेको पुरानो भवनहरुको कक्षाकोठामा अहिले पठनपाठन कार्य भईरहेको छ । नयाँ भवन निर्माणलाई तीव्र पारिएकोले अबको दुई वर्षमा नयाँ भवनमै पठनपाठन गर्ने सपना पूरा हुने उहाँले बताउनुभयो । गुणस्तरीय शिक्षाको पूर्वाधारका रुपमा अत्याधुनिक भवनको आवश्यकता पर्छ । भवनको अभावमा कालिनाग माध्यमिक विद्यालय रहेको छ । यद्यपी शैक्षिक गुणस्तर कायम राख्न विद्यालय सफल रहेको छ ।

Shares

Be the first to comment on "कालिनाग माविको भवन निर्माण शुभारम्भ"

Leave a comment

Your email address will not be published.


*