कालिञ्चोक व्यवस्थापनमा व्यवसायिहरुको बहस ,अतिक्रमण बढ्यो

दीक्षण समाचार
दोलखा, ७ माघ
कालिञ्चोक क्षेत्र व्यवस्थापनमा स्थानीय व्यवसायीहरु चिन्तित देखिएका छन् । कालिञ्चोक क्षेत्रमा पछिल्लो समय अतिक्रमणसँगै अव्यवस्थित हुन थालेपछि यहाँको व्यवस्थापनमा चासो बढेको छ ।
कालिञ्चोक क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकहरुको रोजाइमा पर्दै आएको छ । पर्यटकहरुको वृद्धिसँगै होटलहरुको संख्या पनि वृद्धि भएको छ । तर पर्यटक वृद्धिसँगै यहाँको सौन्दर्यलाई बचाइ राख्न र अतिक्रमण रोक्नु चुनौतिपूर्ण बन्दै गएको छ ।
कालिञ्चोक क्षेत्रमा अतिक्रमण बढ्दै गएपछि शनिबार जिल्ला संवाद समितिले कुरीमै स्थानीय व्यवसायीहरुसँग छलफल ग¥यो । छलफलमा सहभागी व्यवसायीहरुले कालिञ्चोकको अतिक्रमण रोक्न र यहाँको व्यवस्थापनमा राज्यले ध्यान दिनु पर्नेमा जोड दिए ।
संवाद समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले कालिञ्चोक क्षेत्रमा अतिक्रमण बढेकोले बेलैमा रोक्न राज्य नै लागि परेको बताए । पर्यटक नै हाम्रा पाहुन भएकाले उनीहरुलाई फेरिफेरि फर्केर आउने र सकारात्मक सन्देश प्रवाह गर्ने वातावरण बनाउन व्यवसायीहरुले राम्रो सेवा गर्नु पर्ने बताए ।
दोलखा उद्योगा वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले कालिञ्चोक क्षेत्रमा दोलखाकै राम्रो होटल बने तापनि यहाँको मूल्य होटलको स्तर अनुसार निर्धारण हुनु पर्ने बताए । पर्यटकहरु माथि व्यवसायीले गर्ने व्यवहार र मूल्यका बारेमा जनगुनासो बढेकाले बेलैमा व्यवसायीहरु पनि सचेत हुन आग्रह गरे ।
क्षेत्रीय होटल संघ दोलखाका अध्यक्ष रञ्जितकुमार पाठकले होटलहरु बढेको राम्रो भए तापनि बेलैमा कानुन अनुसार दर्ता र करको दायरामा जान आग्रह गरे । कालिञ्चोकमा फोहोर व्यवस्थापन र पूर्वाधारमा लागि होटल संघले पनि पहल गर्ने बताए ।

अतिक्रमण बढ्यो
पछिल्लो समय कालिञ्चोक क्षेत्रको कुरी, कालिञ्चोक मन्दिर, घ्याङडाँडा क्षेत्रमा अतिक्रमण बढेको छ । पर्यटक आगमनसँगै व्यवसाय वृद्धि हुन थालेपछि प्राकृतिक स्वरुपलाई नै विगार्ने गरी ठाउँ ठाउँमा संरचना बनेका छन् ।
सार्वजनिक जग्गालाई व्यक्तिले आफूखुशी घरेडी बनाएर संरचना निर्माण गरिरहेका छन् । ठाउँ ठाउँमा स्काभेटर लगाएर घरेडी बनाएका छन् । सार्वजनिक जग्गालाई व्यक्तिहरुले अंशबण्डा जस्तो लगाएका छन् । प्राकृतिक स्वरुप विगार्न थालेपछि सर्वत्र चासोको विषय बनेको छ ।
वन क्षेत्रलाई व्यक्तिले आफूखुशी प्रयोग गर्नु र घरेडीको रुपमा किनबेच गर्नु कानुन विपरित भएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख प्रविण विडारीले बताए । सार्वजनिक वन क्षेत्रको अतिक्रमण र वन फडानी र चोरी तस्करी पनि बढेको छ ।

प्राकृतिक सौन्दर्यलाई जोगाउनु पर्नेमा जोड
व्यवसायीहरुले कालिञ्चोक मन्दिर र त्यसको सौन्दर्य जोगाउनु पर्नेमा जोड दिएका छन् । होटल मेकका सञ्चालक चन्द्र तमाङले पर्यटक अघिल्लो वर्षभन्दा धेरै बढेको बताए । पर्यटक वृद्धिसँगै पवित्र भूमिका विकृति पनि बढेकाले बेलैमा सचेत हुनु पर्छ । उनले तत्कालै प्रहरी चौकीको कालिञ्चोकमा रहेको बताए ।
अर्का होटल सञ्चालक मकर तमाङले भने “कालिञ्चोकको सौन्दर्य हेर्न पर्यटक आउने हो, पर्यटकको स्वागतका लागि हामी बसेकाले उनीहरुको सन्तुष्टिमा ध्यान दिनु पर्छ ।” यहाँको सौन्दर्य जोगाइ राख्नका लागि राज्य र स्थानीयले बेलैमा सोचेर काम नगर्ने हो भने यसको पनि कुरुप हुने चिन्ता भएको उनले बताए ।
कालिञ्चोक क्षेत्रमा फोहोर बढ्दै गएको छ । त्यसको व्यवस्थापनका लागि कुनै पनि ठोस योजना छैन । पर्यटकहरुले बजारबाट बोकेर आउने खानेकुराका प्लाष्टिकजन्य पानी र जुसका बोतल, चाउचाउ, विस्कुटका पोकाहरुले बाटोमा फोहोर बढ्दै गएकोले त्यसको व्यवस्थापन बेलैमा गर्नु पर्नेमा उनले जोड दिए ।
अर्का होटल व्यवसायी युवराज पाख्रिनले होटल र केबुलकार निर्माणले परम्परागत चौरी गोठ मासिएको र परम्परागत बाटो समेत क्षेती भएकाले त्यसलाई जोगाउनु पर्ने बताए । “यहाँ आउने पर्यटक चौरी गाई, भेडा हेर्न पनि आउने हो” उनले भने “हामीले परम्परागत पशुपालन, रीतिरिवाज र संस्कृतिलाई पनि जोगाउनु पर्छ ।” पर्यटक बढेकाले पिकनिक स्थल, सार्वजनिक शौचालयको अत्यन्तै आवश्यक भएको बताए ।

Shares

Be the first to comment on "कालिञ्चोक व्यवस्थापनमा व्यवसायिहरुको बहस ,अतिक्रमण बढ्यो"

Leave a comment

Your email address will not be published.


*