कालिञ्चोक मावि नमुना विद्यालयमा छनौट

चरिकोट–ईश्वर बिश्वकर्मा
–दोलखाको भीमेश्वर नगरपालिकास्थित लामाचौरमा रहेको कालिञ्चोक माध्यमिक विद्यालय प्रदेश नम्बर ३ को दोलखाकै पहिलो नमुना विद्यालयमा छनौटमा परेको छ ।
शिक्षा विकास निर्देशनालय हेटौडाले अनुगमन र मूल्याङ्कन गरि नमुनाका लागि आवश्यक मापदण्ड पुरा भइ उच्च अंक ल्याउन सफल भएकाले उक्त विद्यालय नमुना छनौटमा परेको हो ।
निर्देशनालयको कर्मचारी टोलीले स्थलगत अवोलकन पश्चात् नमुना विद्यालयका लागि आवश्यक सुचकहरुको आधारमा उच्चतम अंक प्राप्त गरि विद्यालय नमुना परेको विद्यालयले जनाएको छ ।
विद्यालयको आफ्नै २० रोपनी जग्गा, प्राविधिक शिक्षा, शैक्षिक सामग्रीको पर्याप्त सुविधा, पर्याप्त विद्यार्थी संख्या, छात्रछात्रा मैत्री शौचालय, खानेपानीको धारा, प्राथमिक उपचारको व्यवस्था, इन्टरनेटको व्यवस्था भएकाले उच्च अंक प्राप्त गरि नमुना विद्यालय छनौटमा परेको शिक्षकहरुले बताए ।
२०२८ सालमा स्थापित विद्यालयमा चमेना गृह, होस्टेल, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायतका भौतिक संरचना रहेका छन् । ८२ जना दलित, ४ सय ४४ जना जनजाति गरि १ हजार ५ सय ३० जना विद्यार्थी उक्त विद्यालयमा अध्ययनरत रहेको प्रधानाध्यापक नवराज न्यौपानेले बताए ।
विद्यालयले आधारभूत तहसम्मका केही शिर्षकमा बाहेक विद्यार्थीहरुलाई नि ः शुल्क शिक्षाको व्यवस्था गरेको उनले बताए । साथै विद्यालयमा विद्युतिय हाजिरी प्रणालीको व्यवस्थाका गरिएको छ । विद्यालयको सबै कक्षा कोठामा मंसिरभित्रै सिसी क्यामरा जडान गरिने प्रधानाध्यापक न्यौपानेले बताए ।
नमुना विद्यालयको रुपमा छनौटमा परेपछि भौतिक साथै शैक्षिक गुणस्तरमा अझ विकास गर्ने जिम्मेवारी विद्यालयलाई बढेको उनले बताए । उनका अनुसार विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरि अन्य विद्यालयले अनुशरण गर्न योग्य हुनु पर्दछ ।
विद्यालयले शैक्षिक तथा भौतिक पूर्वाधार विकासका लागि चाँडै गुरुयोजना तयार गर्ने छ । गुरुयोजनाको आधारमा क्रमश ः ५ वर्षभित्र नमुना विद्यालयको रुपमा विकास गरिने विद्यालयले जनाएको छ । विद्यालयले नमुना विद्यालय कार्यान्वयनक लागि प्रक्रिया अघि बढाएको छ ।
निर्देशनालय प्रदेश नम्बर ३ भित्रका सामुदायिक माध्यमिक विद्यालयहरु मध्ये २० वटालाई नमुना विद्यालयको रुपमा विकास गर्ने कार्यक्रम अनुसार प्रस्ताव पेश गर्न आह्वान गरेको थियो ।
दिवा खाजा प्रभावकारी
विद्यालयमा खुवाइने दिवा खाजा प्रभावकारी भएको छ । विगत वर्षमा विद्यार्थी विद्यालय अनुपस्थित हुने र विद्यालय छाड्ने गरेको भएपनि दिवा खाजा खुवाउन थालेपश्चात् विद्यार्थी नियमितता बढाएको छ । विद्यालयका अनुसार दैनिक १५ रुपैँयाको दरले ५ कक्षासम्मका विद्यार्थीलाई दिनहुँ फरक फरक किसिमको खानेकुरा खुवाउने व्यवस्था रहेको छ ।
“ हुन त १५ रुपैँयाको खाजाले विद्यार्थीलाई पर्याप्त नभएपनि केही राहत भने विद्यार्थीलाई हुने गरेको छ ।” एक शिक्षकले भने ।
दिवा खाजाले अभिभावकलाई खाजा बनाइरहनुपर्ने अवस्था नरहने र विपन्न र धनी वर्गका विद्यार्थीले उस्तै किसीमका खानेकुरा खानपाउने अवस्थाले अभिभावक र विद्यार्थी खुसी रहेको शिक्षकहरुले बताए ।
विद्यालयले शिशु कक्षा देखि ३ कक्षासम्मका विद्यार्थीलाई कक्षाकोठामा नै खाजा खुवाइने र ४, ५ का विद्यार्थीलाई भने चमेना गृहमै खाजा खुवाउने गरेको छ । यसले सामुदायिक विद्यालयमा क्रमशः विद्यार्थीहरुको आकर्षण बढ्दै गएको छ । विद्यार्थीका अभिभावकले भने विद्यालय र विद्यार्थीको अवस्था बारेमा कम चासो दिने गरेको विद्यालयले जनाएको छ ।
विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्नका लागि सहयोग गर्न विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र सहयोगी संस्थाहरुलाई शिक्षकहरुले आग्रह गरेका छन् ।

Shares

Be the first to comment on "कालिञ्चोक मावि नमुना विद्यालयमा छनौट"

Leave a comment

Your email address will not be published.


*