कालिञ्चोक माविको ५१ औँ वार्षिकोत्सव मनाइयो

दीक्षण समाचार
चरिकोट, पुस २
दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित कालिञ्चोक मावि (नमूना विद्यालय) को ५१ औँ वार्षीक उत्सव सम्पन्न भएको छ । उत्सव समारोहको उद्घाटन भीमेश्वर नगरपालिकाका प्रमुख भरत के.सीले गर्नुभयो । उहाँले सम्बोधन गनुहुँदै विद्यालयको शैक्षिक गुणस्तर कायम राख्नको लागि विद्यार्थी र शिक्षकसगैँ अभिभावकको पनि भूमिका महत्वपूर्ण हुनेले भएकोले सबैले आफ्नो भूमिका सशक्त बनाउनुपर्ने बताउनुभयो । नगरपालिकाले शिक्षा क्षेत्रमा विभिन्न कार्य गरी उल्लेख्य प्रगति हासिल गरेको उहाँले सुनाउनुभयो ।

प्रधानाध्यापक नवराज न्यौपानेले विद्यालयको आर्थिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुहुँदै गत आर्थिक वर्ष २०७७ ÷०७८ मा विभिन्न शीर्षक स्रोतबाट पाँच करोड २७ लाख ९३ हजार रुपैयाँ आम्दानी र तीन करोड ३९ लाख ५६ हजार सात सय रुपैयाँ खर्च भएको सुनाउनुभयो । २०२८ सालमा स्थापना भएको यो विद्यालयको स्वर्ण महोत्सव गत वर्ष कोरोनाको कारण भव्यताको साथ मनाउन पाइएन । तर यो वर्ष भने कोरोना महामारीको त्रास नभएकोले विद्यालयको ५१ औँ वार्षिक उत्सव उल्लासपूर्वक मनाइएको उहाँले सुनाउनुभयो ।
बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले विद्यालयलाई नमूना विद्यालय छनोट गरी शैक्षिक सुधारको काम भईरहेको बताउनुभयो । उहाँले विद्यालयको सुविधासम्पन्न नयाँ भवन र छात्रावास भवन निर्माण भईरहेको र यसको निर्माणपछि शैक्षिक उपलब्धिका लागि थप सहजता मिल्ने बताउनुभयो । आफूले २०६९ बैशाखदेखि प्रधानाध्यापकको जिम्मा पाई विद्यालयको शैक्षिक विकास र समृद्धिमा प्रतिबद्ध भएर जिम्मेवारी निर्वाह गरिरहेको उहाँले सुनाउनुभयो । हालसम्म विद्यालयको प्रगतीको लागि दुई वटा महत्वपूर्ण उपलब्धि हासिल गरेको सुनाउँदै उहाँले भन्नुभयो “प्र.अको जिम्मेवारी पाएपछि दुई महत्वपूर्ण उपलब्धि प्राप्त गरिएको छ । पहिलोमा प्राविधिक धार डिप्लोमा इन सिभिल ईन्जिनियरिङ तथा कम्प्युटर ईन्जिनियरिङ र दोस्रो उपलब्धीका रुपमा नमूना विद्यालय छनोट गराउन लिएको अठोट पूरा भएको छ । विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानका लागि मेरो र शिक्षकहरुद्धारा प्रभावकारी क्रियाशीलता रहनेछ ।”

विद्यालयमा प्राविधिक शिक्षा, शैक्षिक सामग्रीको पर्याप्त सुविधा, पर्याप्त विद्यार्थी संख्या, छात्रछात्रा मैत्री शौचालय, खानेपानी धारा, चमेना गृह, पुस्तकालय, विज्ञान तथा अन्य प्रयोग प्रयोगशाला लगायतका शैक्षिक पूर्वाधार रहेका छन् । त्यसैगरी दक्ष तथा अनुभवी शिक्षकद्धारा अध्यापन हुनेहुँदा विद्यालय शैक्षिक दृष्टिकोणले गुणस्तरीय र नमूना बन्दै गएको छ ।
विद्यालय परिसरमा चरिकोट क्याम्पस पनि सञ्चालनमा रहेको छ । तर सुविधा खोज्दै विद्यार्थीहरु अन्यत्र जाने गरेको पाइएकोले यो क्याम्पसलाई विद्यार्थीको रोजाईको क्याम्पस बनाउन शिक्षक तथा अभिभावक सचेत हुनुपर्ने क्याम्पस प्रमुख कृष्ण बहादुर गौतमले बताउनुभयो । उहाँले नेपालको शैक्षिक सुधार गरिनुपर्ने बताउनुभयो । उत्पादनमुखी र स्वरोजगारमूलक शिक्षा देशले दिन नसकेकोले युवा शक्ति रोजगारी खोज्दै विदेशिन बाध्य हुनुपरेकोले यसतर्फ सरकारको ध्यान बेलैमा जान आवश्यक रहेको बताउनुभयो ।

उत्सवको अवसरमा विद्यालयका जेहेन्दार छात्र सविन बुढाथोकी र रञ्जना केसीलाई टिका–रत्न छात्रवृत्ति प्रदान गरिएको छ । प्रधानाध्यापक नवराज न्यौपानेले स्वर्गीय पीता टीकाप्रसाद न्यौपाने र माता रत्नदेवी न्यौपानेको स्मृतिमा स्थापना गरेको छात्रवृत्ति कोषको तर्फबाट दुई जना जेहेन्दार विद्यार्थीलाई जनही दुई हजार पाँच सय रुपैयाँ प्रदान गरिएको हो । त्यसैगरी वार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद तथा अन्य प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्दा उत्सवलाई थप रोमाञ्चक बनाएको बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुवास श्रेष्ठको अध्यक्षतामा भएको उत्सव समारोहमा शिक्षा विकास तथा समन्वय समितिका प्रमुख शंकरबाबू श्रेष्ठ, भीमेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख अर्जुन कार्की, पशुपति कन्या मन्दिर विद्यालयका प्रधानाध्यापक एवं नेपाल शिक्षक संघका अध्यक्ष गोविन्दनारायण मानन्धर, कालिञ्चोक माविका सहायक प्रधानाध्यापक गणेश श्रेष्ठ, शिक्षक शम्भु गौतम, शिक्षकअभिभावक संघका अध्यक्ष विर्ख गुरुङ, विद्यार्थी बन्दना मुग्राती लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।

Shares

Be the first to comment on "कालिञ्चोक माविको ५१ औँ वार्षिकोत्सव मनाइयो"

Leave a comment

Your email address will not be published.


*